+

रामेछापमा धमाधम जुनार बिक्री

रामेछाप ।  मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ 


रामेछाप नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनी, वडा नम्बर ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु र वडा नम्बर १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो । 

गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ ।
 
मार्फत मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैँचाबाट मात्र यस वर्ष रु २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले राससलाई बताउनुभयो । परियोजनाका अनुसार गत वर्ष जुनार बगैँचाबाट  १९ करोड रुपैयाँको मात्र जुनार बिक्री भएको थियो । 

पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान  हिमाल तामाङले बताउनुभयो । अघिल्लो वर्ष  दुई लाख ५० हजार रुपैयाको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने ३ लाख ५० हजार रुपैयाँ बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताउनुभयो । 

 ओख्रीनीकै दिलमाया तामाङ पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताउनुहुन्छ । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताउनुभयो । 

ओख्रेनीका मात्र होइन, सुकाजोरका रामकुमार कार्की, ज्ञानुका कार्कीको बगैँचामा जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । सुकाजोरकी ज्ञानुका कार्कीले भन्नुभयो– ‘ हामी महिला यसअघि घरको (घास, दाउरा र भान्साको) मात्र काम गथ्र्यौँ त्यसबेला खासै केहीबाट आम्दानी हुँदैनथ्यो, तर अहिले व्यावसायिक जुनारको खेती गर्न थालेपछि मेहनतअनुसारको फल पाइएको छ ।’
 
जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओखेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायतका किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् ।

रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन करिब ५० प्रतिशतले वृद्धि भएको बताउनुभयो । 

मन्थली नगरपालिकाको वडा नम्बर ४ सालु १३ र १४ फुलासीमा पनि गत वर्षको तुलनमा जुनार र सुन्तलाकोे उत्पादन बढेको वडा नम्बर १४ कृषक तुलबहादुर तामाङले बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछापले जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका कूल १३ वटा वडामा जुनार जोनका रूपमा काम गरिरहेकाले उत्पादनमा वृद्धि भएको परियोजनाका प्रमुख थिरलाल गैरेले दावी गर्नुभयो । । परियोजनाले विभिन्न किसिमका अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यन्त्रीकरणजस्ता सामग्रीसमेत जुनार किसानलाई बितरण गर्ने गरेको छ । 

रामेछापको मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष कुल पाँच सय २० हेक्टरलमा सुन्तला जातका फलफूल उत्पादन भएका मध्ये जुनार ४२२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा खेती गरिँदा कुल चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला जातका फलफूल उत्पादन भई १९ करोड, र ९३ लाख ९५ हजार ररुपैया कम बराबरको बिक्री भएको परियोजनाकी नायब प्राविधिक सहायक भवानी बस्नेतले बताउनुभयो । 

उहाँका अनुसार यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला, २२ हेक्टरमा कागतीखेती भई चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा २२ करोड ७५ हजार रुपैयाँ बराबरको बिक्री हुने अपेक्षा गरिएको छ ।  हाल पहेँलपुर रहेको जुनार बगैँचाबाटनै दानाको आकारअनुसार ६० देखि ७५ रुपैयाँसम्म प्रतिकेजी बिक्री गर्ने गरेका छन् । 

पाकेर पहेँलपुर भएको जुनार बगैँचा हेर्न र सेल्फी खिच्न हिजोआज दैनिक रूपमा नागरिकको घुइँचो लाग्ने गरेको ओख्रेनीका जुनार व्यापारी हिमाल तामाङले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै