+

राज्यले बुझेन महिला स्वास्थ्य स्वयंसेविकाहरुको दुःख

दाङ ।  घोराही उपमहानगरपालिका–६ निवासी माया चौधरी २०४६ सालदेखि महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा काम गरिरहनुभएको छ । लामो समयदेखि स्वयंसेविकाको काम गरे पनि राज्यले दुःख बुझ्न नसकेको उहाँको गुनासो छ । 


‘स्वयंसेविकाका रूपमा काम गर्दा राज्यले हाम्रो मूल्याङ्कन गर्न सकेन’  उहाँले भन्नुभयो । आफ्नै खर्र्चमा गाउँ–गाउँ पुग्ने गरेको उहाँ बताउनुहुन्छ । 

घोराही–१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गर्नुभयो । ‘हामीले दुःखमात्र गरेका छौँ श्रमको उचित मूल्य पाउन सकेका छैनौँ’ उहाँले भन्नुभयो । सुविधाका नाममा बैठक भत्ता चार सय ५०, वार्षिक पोशाक भत्ता  १० हजार,  खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक ४ सय रुपैयाँ  र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उहाँले बताउनुभयो ।

घोराही–१९ निवासी निर्मला पुनले भौगोलिक रूपमा विकट सैघामा काम गर्दा धेरै समस्या भोग्नुपरेको बताउनुभयो । ‘घण्टौँ हिँडेर घरघरमा पुग्नुपर्छ तर राज्यको तर्फबाट कुनै सहयोग पाउन सकेका छैनौ’, उहाँले भन्नुभयो– ‘वर्षौँदेखि गरेको कामका आधारमा सरकारले सेवा सुविधा दिन आवश्यक छ ।’ 

घोराही–३ निवासी जुनकुमारी रोकामगरले सञ्चारको सहज पहँुच नहँुदा काम गर्न समस्या भएको बताउनुभयो । घोराही उपमहानगरपालिका–९ निवासी शान्ता केसी २०४५ सालदेखि महिला स्वास्थ्य स्वयंसेविका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले ३६ वर्षदेखि निःशुल्क काम गर्दै आएको बताउनुभयो । यत्तिका वर्षसम्म काम गर्दा पनि राज्यले सहयोग नगरेको उहाँले बताउनुभयो । 

गाउँगाउँमा स्वास्थ्यका सूचक सङ्कलन तथा स्वास्थ्य सचेतनाको काममा सरकारले खटाउने गरे पनि सेवा सुविधा दिन कन्जुस्याइँ गरेको उहाँको गुनासो छ । उहाँ भन्नुहुन्छ– ‘हाम्रो श्रमको मूल्याङ्कन राज्यले गरेन ।’

केही दिन अघि यहाँ महिला स्वास्थ्य स्वयंसेविकाहरुका लागि आयोजित एक अभिमूखीकरण कार्यक्रममा उनीहरुले यस्तो गुनासो गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट