
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८/८२ को पहिलो पाँच महिनामा रु १३ अर्ब चार करोड बराबरको विद्युत् भारत निर्यात गरेको छ । प्राधिकरणले चालु आवको साउन, भदौ, असोज, कात्तिक र मङ्सिरमा देशभित्र खपत गरी अतिरिक्त भएकोे एक अर्ब ७६ करोड युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ ।
चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट सात रुपैयाँ ३९ पैसा छ ।
प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने गरेको छ । त्यसैले प्राधिकरणले विद्युत् बिक्री गरी भारु आठ अर्ब १५ करोड आम्दानी गरेको छ ।
साउनमा सबैभन्दा बढी रु चार अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो भने मङ्सिरमा सबैभन्दा कम रु २८ करोड १४ लाखको मात्र निर्यात भएको छ । भदौमा रु तीन अर्ब ६८ करोड, असोजमा रु तीन अर्ब सात करोड र कात्तिकमा रु एक अर्ब ८७ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको थियो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले असोजमा आएको बाढीपहिराका कारण मुख्य रूपमा चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् केन्द्रमा क्षति पुगी विद्युत् उत्पादन बन्द हुँदा निर्यात प्रभावित भएको जानकारी दिनुभयो । माथिल्लो तामाकोशी बन्द भएका कारण त्यसपछिका महिनाहरूमा विद्युत् निर्यात घटेको र सुक्खायाम सुरु भएसँगै जलविद्युत् आयोजनाको उत्पादन घटेकाले पोहोरभन्दा यस वर्ष चाँडै आयात गर्नुपरेको कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो ।
अहिले विद्युत् निर्यात बन्द भएको छ भने आयात सुरु गरिएको छ । नदी तथा खेलानालामा पानीको बहाव बढ्न सुरु भएपछि उत्पादन बढ्ने हुँदा त्यसपछि विद्युत् निर्यात पुनः सुरु हुनेछ । यस वर्षदेखि ४० मेगावाट विद्युत् भारत हुँदै बङ्गलादेश निर्यात पनि सुरु भइसकेको छ ।
चालु आवमा करिब रु ३० अर्बको विद्युत् निर्यातको लक्ष्य राखिएको छ । बाढीपहिरोका कारण जलविद्युत् आयोजना र प्रसारण लाइनमा क्षति पुग्दा निर्यात लक्ष्य प्रभावित हुने देखिएको छ । बाढीपहिरोले माथिल्लो तामाकोशीसहित अन्य साना जलविद्युत् आयोजना र काबेली करिडोर प्रसारण लाइनमा क्षति पुर्याएको थियो । माईखोलामा आएको बाढीले काबेली करिडोरमा क्षति पुर्याउँदा उक्त लाइनमा जोडिएका विभिन्न आयोजनाका करिब दुई सय मेगावाट विद्युत् उत्पादन बन्द भएको थियो । यसका कारण कारण असोज र कात्तिकको विद्युत् निर्यात प्रभावित भएको थियो ।
माथिल्लो तामाकोशी यही पुस १० गतेभित्र सञ्चालनमा ल्याउने गरी मर्मतसम्भार धमाधम भइरहेको छ भने काबेली करिडोर प्रसारण लाइनको पुनर्निर्माण सम्पन्न गरी सञ्चालनमा आइसकेको छ । हिउँद सुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत् आयोजनाहरूको विद्युत् उत्पादन कम हुनेछ । उत्पादनले आन्तरिक मागलाई मात्र धान्ने भएकाले अब विद्युत् निर्यात क्रमशः घट्दै जाने छ । प्राधिकरणले हालसम्म प्रतिस्पर्धी बजार र मध्यकालीन विद्युत् बिक्री सम्झौताबमोजिम भारतीय बजारमा विभिन्न २८ आयोजनाबाट उत्पादित नौ सय ४१ मेगावाट विद्युत् बिक्री गर्न स्वीकृति पाएको छ ।
गत आवमा भारतबाट रु १६ अर्ब ९३ करोडको विद्युत् आयात गरिएको थियो । सो अवधिमा रु १७ अर्ब ६ करोडको विद्युत् निर्यात गरिएको थियो । गत आवमा आयातभन्दा रु १३ करोड बढीको विद्युत् निर्यात गरी खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति