+

भरतपुरका ५ वडा बालमैत्री

 चितवन । भरतपुर महानगरपालिका पाँच वडालाई वालमैत्री वडा घोषणा गरिएको छ । महानगर प्रमुख रेनु दाहालले आज वडा नम्बर ६ लाई बालमैत्री वडा घोषणा गरेसँगै यो सङ्ख्या पाँच पुगेको हो । 


भरतपुर महानगरपालिकाका वडा नम्बर १४, २१, २३ र १३ लाई यस अघिनै बालमैत्री वडा घोषणा गरिएको थियो । विसं २०७६ असार २५ गते भरतपुर महानगरपालिका वडा नम्बर १४ लाई पहिलोपटक बालमैत्री वडा घोषणा गरिएको थियो । आर्थिक वर्ष २०८३/८४ सम्ममा महानगरपालिकालाई बालमैत्री घोषणा गर्ने उद्देश्यका साथ बालमैत्री वडा घोषणा गरिएको हो ।

नगरप्रमुख दाहालले महानगरपालिकामा बालमैत्री शासन लागू गर्न र बालश्रम मुक्त वनाउने योजनाका साथ काम भइरहेको बताउनुभयो । सामुहिक एकता र बलले मात्र कामहरु सफल हुने उल्लेख गर्दै उहाँले घोषणा भईसकपछि यसको कार्यान्वयनमा वडा र टोलबासीको सहयोग अपरिहार्य रहेको बताउनुभयो । बालबालिकाको अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले सक्दो प्रयास गरेको उहाँको भनाइ थियो । 

बालमैत्री वडा घोषणापछि देखिने चुनौति समाधान गर्न अभिभावकहरुको महत्वपूर्ण भूमिका रहने महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले बताउनुभयो । बाल अधिकार संरक्षणका लागि स्थानीय बाल अधिकार समिति सधै तयार रहेको उहाँको भनाइ छ । 

महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा निर्देशक शान्ताकुमारी पौडेलले बालमैत्री वडा घोषणाका लागि बालमैत्री स्थानीय शासनअन्तर्गत ५१ वटा सूचकाङ्क पूरा गर्नुपर्ने जानकारी दिनुभयो । स्थानीय बाल अधिकार समितिले यस वर्ष थप दुईवटा वडालई बालमैत्री घोषणा गर्ने तयारी गरिरहेको पनि उहाँको भनाइ छ। 

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि शर्मा, वडा नम्बर १४ का अध्यक्ष राजेन्द्र शाखी, वडा नम्बर ६ का अध्यक्ष कृष्णलाल श्रेष्ठ, वडा नम्बर ६ का पूर्वअध्यक्ष हरिविलाश कोइराला, नेपाली कांग्रेसका वडा सभापति प्रकाश अधिकारी लगायतले धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट