
झापा । शिलान्यास गरिएको पाँच महिनामै बुद्धशान्ति गाउँपालिकामा झोलुङ्गे पुलनिर्माण भएको छ ।
सङ्घीय सरकारको पाँच करोड ९८ लाख सात सय ६१ रुपैयाँ लागतमा पुल बनेको हो । बुद्धशान्ति वडा नम्बर ६ र ७ लाई जोड्ने चार सय ७६ मिटर लामो उक्त ‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ टिमाई नदीमा बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागको सम्पेन्सन ब्रिज डिभिजनका साइट इन्जिनियर जयप्रसाद गुप्ताका अनुसार विसं २०८१ जेठ २४ गते उक्त पुलको निर्माण सम्झौता भएको थियो । सम्झौतामा निर्माण अवधि २०८३ जेठ २३ गतेसम्म तोकिएको थियो ।
सम्झौता भएको एक महिनापछि २०८१ असार २४ मा सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उक्त झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको थियो । निर्माणको ठेक्का लिएको कम्पनीले शिलान्यास भएको पाँच महिना र सम्झौता भएको छ महिनामै झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेको हो । ‘निर्माण व्यवसायी पक्षले निर्माण कार्य सम्पन्न गरिसकेको छ’ उहाँले भन्नुभयो – ‘सरकारी तहबाट अन्तिम परीक्षण हुन बाँकी छ । चाँडै अनुगमन गरेर पुलको हस्तान्तरण प्रक्रिया अघि बढ्नेछ ।’
दुई वर्षमा बनिसक्ने भनिएको झोलुङ्गे पुल छ महिनामै निर्माण भएको देखेर आफू चकित भएको बुद्धशान्ति –६ का शिवराज पौडेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘हिजोअस्तिजस्तो लाग्छ पुलको शिलान्यास भएको, ठेकेदारले यति छिटो काम सम्पन्न गर्लान् भनेर कल्पना समेत गरिएको थिएन ।’
मङ्सिरको अन्तिम सातादेखि पुलबाट सर्वसाधारणले आवतजावत गर्न थालिसकेका छन् । प्रदेशकै लामो पुल भएकाले घुम्न, हेर्न र फोटो भिडियो खिच्न युवायुवती आउन थालेकाले आन्तरिक पर्यटनमा समेत टेवा पुगेको छ । पुल बन्नुअघि बुद्धशान्तिको वडा नमब्र ६ बाट ७ मा जान स्थानीयवासीले सकस भोग्दै आएका थिए । पुल बनेपछि बुद्धशान्तिका वडावासीलाई आउजाउका लागि मात्र नभएर इलामको रोङ गाउँपालिका वडा नमब्र ५ र ६ का बासिन्दालाई आफ््नो कृषिउपज झापाको बजारमा पुर्याउन सुविधा पुगेको वडाध्यक्ष पौडेलले बताउनुभयो ।
भौतिक पूर्वाधारका अधिकांश निर्माण कार्यमा ढिलासुस्तीको गुनासो आउने पाइन्छ । तर, सम्झौतामा दिइएको अवधिको तुलनामा एक चौथाइ अवधिमै पुलको निर्माण सम्पन्न भएकोमा स्थानीयवासी खुसी रहेको पौडेल बताउनुहुन्छ ।
‘कोलबुङ–रमिते गौडा झोलुङ्गे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डि–टाइप’को झोलुङ्गे पुल रहेको इन्जिनियर गुप्ताले बताउनुभयो । सिराहामा निर्माण भएको एक हजार पाँच सय मिटर लामो झोलुङ्गे पुलसमेत सोही निर्माण व्यवसायीले तोकिएको समयअगावै बनाएको उहाँले जानकारी दिनुभयो ।
‘निर्माण छिटो हुने कि ढिलो हुने भन्ने कुरा निर्माण व्यवसायीको कामको गति र इमान्दारीमा निर्भर हुन्छ’ उहाँले भन्नुभयो – ‘अटेरी प्रवृत्तिका कारण कतिपय काम ढिलो हुन्छन् । ठेकेदारले चाहे भने १८ महिना लाग्ने काम चार महिनामै पनि पूरा गर्न सक्छन् ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति