
बागलुङ । निसीखोला गाउँपालिका–३ को बोहोरा गाउँमा गर्भवती र सुसारेलाई लक्षित गरी प्रतीक्षा घर सञ्चालनमा आएको छ ।
बोहोरागाउँ स्वास्थ्यचौकी भवनसँगै सञ्चालनमा ल्याइएको प्रतीक्षा घरमा टाढाबाट आउने गर्भवती र सुसारे लाभान्वित भइरहेका छन् ।
गर्भवती सुत्केरी हुनुपूर्व अनिवार्य रूपमा कम्तीमा आठ पटक गर्भ परीक्षण गराउनुपर्ने र स्वास्थ्य संस्थामा गएर सुत्केरी हुनुपर्ने प्रावधान भएकाले टाढाबाट आउने सेवाग्राहीको सहजताका लागि प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्वास्थ्यचौकीकी अनमी ताराकुमारी चन्दले बताउनुभयो । ‘टाढाबाट आउनेहरू यसअघि आफन्त वा होटलमा बस्ने गर्दथे । प्रतीक्षा घर सञ्चालनमा आएपछि गर्भ परीक्षण गराउन, सुत्केरी हुन आउनेहरूलाई खाने, बस्ने समस्या छैन’ उहाँले भन्नुभयो ।
उक्त प्रसूति प्रतीक्षा घरमा एकपटक चार जनासम्म बस्न मिल्ने श्ययासहित अन्य सामग्रीको व्यवस्थापन गरिएको अनमी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार यो घरमा खाना पकाउने सामग्री, ग्यासको चुल्हो, स्वच्छ खानेपानीका साथै बाहिर विभिन्न सन्देशमूलक सामग्री लेखिएका छन् ।
गत वर्ष एक सय सात जनाले सेवा लिएका बताउँदै चालु आवको पाँच महिनामा ५२ जनाले सेवा लिइसकेका चन्दले जानकारी दिनुभयो । ‘सुत्केरी हुने एक÷दुई दिनअघि यहाँ आएर बस्दा जोखिम कम हुने भएकाले गर्भवतीलाई सोहीअनुसार सुझाव दिँदै आएका छौँ’ उहाँले भन्नुभयो ।
सदरमुकामबाट एक सय २० किमी पश्चिममा पर्ने दुर्गम गाउँ भएकाले गर्भवती र सुरारेको सहजताका साथै स्वास्थ्य संस्थामा सुत्केरी हुन प्रोत्साहन गर्ने उद्देश्यले प्रतीक्षा घर सञ्चालनमा ल्याइएको स्थानीय सिनियर अनमी तिला मल्लले बताउनुभयो । प्रसूति व्यथाले च्यापेपछि मात्रै स्वास्थ्य संस्था धाउनुपर्ने समस्या अन्त्य गर्न, प्रसूतिको अवस्थामा आउने जोखिम कम गर्न, आमा र शिशुलाई स्वस्थ राख्न यो भवन उपयोगी बन्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
केही समस्या देखिएमा तत्काल सुविधा सम्पन्न अस्पताल पठाउन पाइने भएकाले गर्भवती र सुसारेलाई एक÷दुई दिनअगावै प्रतक्षिा घरमा आएर बस्न आग्रह गर्दै आइएको स्वास्थ्यचौकीका प्रमुख टोपबहादुर चन्दले बताउनुभयो । ‘नियमित गर्भ परीक्षण गर्नेहरूमा पनि प्रसूतिको समयमा जोखिम आउनसक्ने भएकाले एक÷दुई दिनअघि यहाँ आएर बस्न स्वास्थ्यकर्मीमार्फत सुझाव दिन थालेका छौँ’ उहाँले भन्नुभयो ।
सिनियर अनमी मल्लले यहाँ आउने अधिकांश महिलाको स्वास्थ्य अवस्था जोखिम हुने बताउँदै ती महिलाको स्वास्थ्य जोखिम कम गराउन र समयमा उपचार उपलब्ध गराउन प्रतीक्षा घर प्रभावकारी माध्यम बन्दै गएको उल्लेख गर्नुभयो ।
‘जतिसुकै स्वस्थ भए पनि प्रसूति अवस्थालाई सामान्य मान्न हुँदैन । गर्भवती र सुत्केरी अवस्थामा जुनसुकै बेला पनि जोखिम आउन सक्छ । यसतर्फ सबै सचेत भई स्वास्थ्य प्रोटोकलअनुसार नियमित गर्भ परीक्षण गर्नु र समयमा स्वास्थ्य संस्थामा पुगेर सुत्केरी हुनु प्रभावकारी उपाय हो’ उहाँले भन्नुभयो ।
यो स्वास्थ्यचौकीमा आइपुग्न वडाभित्रबाट तीनदेखि चार घण्टासम्म पैदल हिँड्नुपर्ने अवस्था छ । ‘गत वर्ष समयमा स्वास्थ्य संस्थामा आउन नसकेकी एक जनाले प्रसूतिका क्रममा ज्यान गुमाउनुुभयो । उहाँको समस्या देखेपछि स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले नियमित गर्भ जाँच गर्न र प्रसूति गराउन अनिवार्य रूपमा एक÷दुई दिनअघि स्वास्थ्य संस्थामा रहेको प्रतीक्षा घरमा आएर बस्न सुझाव दिँदै आएका छन्’ स्वास्थ्यचौकीका प्रमुख चन्दले भन्नुभयो ।
निसीखोला गाउँपालिकाको ३ लाख रुपैयाँ आर्थिक सहयोग तथा फेयरमेड फाउण्डेशन र विवाइसी बागलुङले सञ्चालन गरेको ग्रामीण स्वास्थ्य सुधार परियोजनाको २ लाख ५० हजार रुपैयाँ लगानीमा प्रतीक्षा घर निर्माण गरी सञ्चालनमा ल्याइएको हो । चारवर्ष अघि निर्मित यो घरमा सुरुमा कोही नआए पनि पछिल्लो समय अधिकांश गर्भवती आउन थालेका स्वास्थ्यचौकीका प्रमुख चन्दले बताउनुभयो ।
पछिल्लो समय बडिगाड गाउँपालिका–२ को खरवाङ, हटिया स्वास्थ्यचौकी भवनमा एउटा कोठा छुट्टाएर प्रतीक्षा घर बनाइएको छ ।
अधिकांश स्वास्थ्य संस्थामा यो प्रयास शुरु भएको बताउँदै आगामी दिनमा प्रत्येक स्वास्थ्यचौकीमा प्रतिक्षा घर अनिवार्य गर्ने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालयकी जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै