
ललितपुर । ललितपुरमा ‘इन्टेलिजेन्स ट्राफिक लाइट’ सञ्चालनमा आएको छ ।
बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले पुल्चोकस्थित ललितपुर महानगरपालिका अगाडिको सडक छेउमा रहेको ‘स्विच अन’ गरेर आज यो प्रविधिको शुभारम्भ गर्नुभएको हो ।
ललितपुर महानगरपालिकाको लागतमा सवारीसाधन व्यवस्थापनका लागि सडकमा इन्टेलिजेन्स ट्राफिक लाइट शुभारम्भ गरिएको हो । त्यस अवसरमा मन्त्री महर्जनले ललितपुरमा ट्राफिक व्यवस्थापनका लागि राम्रो प्रयासको सुरुआत भएकामा प्रशंसा गर्नुभयो । ‘महानगरका सबै प्रमुख सडक क्षेत्रमा ट्राफिक व्यवस्थापनका लागि यो प्रणाली प्रभावकारी हुनेछ, देशभर दर्ता भई सञ्चालनमा रहेकामध्ये ६० प्रतिशत सवारीसाधन बागमती प्रदेशमा छन्, यसलाई व्यवस्थापन गर्नु ज्यादै चुनौतीपूर्ण छ । विज्ञान र प्रविधिमा आधारित गरेर ‘स्मार्ट ट्राफिक’ व्यवस्थापनका लागि भएको यो काम महत्वपूर्ण छ’ उहाँले भन्नुभयो ।
ललितपुर प्रतिनिधि क्षेत्र नम्बर २ का सांसद प्रेमबहादुर महर्जनले नयाँ प्रविधियुक्त प्रणालीले ट्राफिक व्यवस्थापन प्रणालीले यातायात सञ्चालनमा सहजता र यात्रुलाई समय व्यवस्थापनमा प्रभावकारी हुने बताउनुभयो ।
ललितपुर क्षेत्र नम्बर २ ‘ख’ प्रदेशबाट निर्वाचित बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले जनतासँग जोडिएको महत्वपूर्ण समस्या समाधानका लागि ललितपुर महानगरले सराहनीय काम गरेको बताउनुभयो । ‘लोकतन्त्र र गणतन्त्रमा जनतालाई अनुभूति गर्नेगरी सेवा दिने काम महत्वपूर्ण हो, ट्राफिक व्यवस्थापन, वायु प्रदूषण र फोहोरमैला व्यवस्थापन उपत्यकाको प्रमुख समस्या हो, यसका लागि ललितपुर महानगरले गरेको प्रयास सराहनीय छ’ उहाँले भन्नुभयो ।
महानगर प्रमुख चिरिबाबु महर्जनले महानगरबाट अध्ययन गरेर ट्राफिक व्यवस्थापनका लागि लाइट जडान गरिएको र यो नेपालमै पहिलोपटक भएको बताउनुभयो । ‘हाम्रो उद्देश्य काठमाडौँतर्फको ट्राफिक समस्या पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो’ उहाँले भन्नुभयो– ‘यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि रहेको छ । सँगै राखिएको ‘भेहिकल डिटेक्टर’ले सवारीसाधनको नम्बर तथा विवरण ‘रिड’ गर्छ । प्रणालीले नै कुन दिशातर्फ कति समय चाहिने हो आफैँ निर्धारण गर्छ । हाल यसको ‘मनिटरिङ’ प्रणाली ट्राफिक कार्यालयमा राखिएको छ ।’
महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले धेरै विद्यामा ललितपुर महानगरपालिकाले नयाँ कामको शुरुवात गरेको छ भन्नुभयो । ‘एक सय छ औँ स्थापना दिवसको सन्दर्भमा हामीले यो प्रविधिको प्रयोग शुरु गरेका छौँ, हामीले गरिरहेका काममा बौद्धिक जगत्ले पनि सहयोग र समन्वय गरेर हौसला प्रदान गरिरहेको छ । उपत्यकाले झेलिरहेको ट्राफिक समस्या व्यवस्थापनका लागि ललितपुर महानगरले यो नयाँ र नौलो प्रयास गरेको छ’ उहाँको भनाइ छ ।
उपप्रमुख बज्राचार्यले नेपालमै पहिलोपटक सञ्चालनमा आएको यो प्रविधिलाई प्रभावकारी बनाउन सबै मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सवारीसाधन र सवारीचालक तथा पैदलयात्रीलाई ध्यान दिएर ‘म्युनिसिपल मास्टर प्लान’ अन्तर्गत यो परियोजना लागू गरिएको बताउनुभयो ।
ललितपुर महानगरपालिकाले दसैँअघि सुरु गरेर कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको छ । जडानको सबै प्रक्रिया सकिएपछि सोमबारदेखि नियमित सञ्चालनमा ल्याइएको हो । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएका छन् ।
लाइटसँगै राखिएको ‘भेहिकल डिटेक्टर मेसिन’ले सडकमा सवारीसाधनको सङ्ख्या तत्काल ‘रिड’ गरेर तत्कालै ‘ट्राफिक लाइटको चिप तथा सर्भर’लाई जानकारी गराउँछ । सोही आधारमा व्यवस्थापन प्रणालीले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौँतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३० देखि ५० सेकेन्ड मात्रै पर्खे पुग्ने अवस्था बनाइएको महानगरले जनाएको छ ।
यो ‘लाइट फिक्स, पुलिस म्यानुअल, सिङ्क्रोनाइजेसन, एटिसिएस’ लगायत आवश्यकता अनुसारको ‘मोड’मा प्रयोग गर्न सकिने प्राविधिक सुयसभक्त माथेमाले जानकारी दिनुभयो । उहाँका अनुसार यसमा पाँच वर्षसम्म तथ्याङ्क भण्डारण हुन्छ भने सवारीसाधनको र दुर्घटनाको विवरणसमेत रहन्छ ।
लाइट जडान गरेको नमूना पावर ग्रेड जेभीले सुरुमा एक सय १७ स्थानमा सम्भाव्यता अध्ययन गरे पनि अति आवश्यक पर्ने पाँच स्थानमा यो प्रविधि जडान गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै