
सुनसरी। मनका शाही प्रत्येक बिहान ८ बजे घरबाट धरानको माछाभौडी गल्ली आइपुग्नुहुन्छ । गल्लीमै बेलुकी ६ बजेसम्म सिद्रा बिक्री गर्नु उहाँको दैनिकी हो । सिद्रा बिक्री गर्दा राम्रै आम्दानी हुने उहाँ बताउनुहुन्छ ।
“सिद्रा गर्मीको तुलनामा जाडोमा धेरै बिक्री हुने गरेकाले जाडो सुरु भएसँगै अहिले धरानमा सिद्राको व्यापार फस्टाएको छ”, उहाँले भन्नुभयो । शाहीले सिद्रा व्यापार गर्न थाल्नुभएको २० वर्ष भयो । सिद्रा व्यापारबाटै जीविकोपार्जन गर्दै आएको उहाँले बताउनुभयो । सिद्राप्रति किलो रु छ सयदेखि रु एक हजार दुई सयसम्ममा बिक्री गर्नुहुन्छ । उहाँले भन्नुभयो, “मेहनतअनुसार कमाइ पनि राम्रै छ, सन्तुष्ट छु । महिनामा सबै खर्च कटाएर रु ४० हजारसम्म बचत हुन्छ ।”
धरानको भानुचोकबाट पूर्वतर्फ माछाभौडी गल्लीमा लस्करै सिद्रा व्यापारी छन् । सिद्राको पारखीहरु टाढाटाढा बाट यहाँ सिद्रा किन्न आउँछन् । शाहीले झै विगत ३३ वर्षदेखि सिद्राको व्यापार गर्दै आउनुभएका धरान उपमहानगरपालिका–३ का प्रेम श्रेष्ठ पनि जाडो यामसँगै बर्सेनि सिद्रा व्यापार फस्टाउने बताउनुहुन्छ । उहाँका अनुसार कात्तिकको पहिलो सातादेखि फागुनसम्म सिद्राको बढी व्यापार हुन्छ ।
उहाँले हाल १२ भन्दा बढी प्रकारका सिद्रा बिक्री गर्दै आउनुभएको छ । पटासी, चेला, वामना, जुँगे, सुन्दरी, टेग्ना, बरेल, चलवा, झिंगे, बुलवा प्रजातिका सिद्रा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो । धेरैजसो तरकारी र अचार बनाएर खाने सिद्रा बिक्री हुने उहाँले बताउनुभयो । यही व्यापारबाट उहाँले घरखर्च र छोरा छोरीको स्कुल ‘फि’ बुझाउने गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा प्रशस्त खोलानाला भए पर्याप्त सिद्रा उत्पादन नहुने भएकाले भारतबाट ल्याएर बेच्नुपर्छ । मैले वर्षमा २० क्वीन्टल बढी सिद्रा बिक्री गर्ने गर्छु ।” धेरै जसो पहाडी जिल्लाहरुमा सिद्रा खपत हुने गरेको उहाँको भनाइ छ ।
सिद्रा मौसमअनुसार नेपालमा साउनदेखि असोज महिनासम्म उत्पादन हुने गर्छ । सो अवधिमा उहाँले नेपालमै खरिद गरेर बिक्री गर्ने गरेको बताउनुभयो । नेपालमा सिद्रा उत्पादन हुने याम सकिएपछि भारतबाट ल्याएर बिक्री गर्ने गरेको उहाँको भनाइ छ । सिद्रा धरानका होटलहरुमा अचारका लागि खपत हुने गर्छ । आफन्तलाई कोसेलीका रुपमा पनि ग्राहकहरुले सिद्रा खरिद गरेर लैजाने उहाँले बताउनुभयो ।
जाडो याममा सिद्राको झोल बनाएर खाने चलन रहेको व्यापारीहरु बताउँछन् । धरानमा शाही र श्रेष्ठ जस्ता सिद्राकोे व्यापार गर्ने व्यापारीको सङ्ख्या एक दर्जनभन्दा बढी छन् । पछिल्लो समय सिद्रा व्यापार गर्ने अधिकांश महिला छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति