
झापा । कनकाई नगरपालिकास्थित जामुनखाडी सामुदायिक वनले निर्माण गरेको आधुनिक र प्राकृतिक वातावरणमैत्री प्राणी उद्धार केन्द्रमा पशुपन्छीको स्थानान्तरण गरिएको छ ।
प्रदेश सरकार र सामुदायिक वनको रु दुई करोड बढीको लगानीमा बनेको आधुनिक उद्धार केन्द्रमा वनभित्र रहेका पशुपन्छीहरुलाई स्थानान्तरण गरिएको वन उपभोक्ता समितिका अध्यक्ष खेम सिटौलाले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा पहिलोपटक स्थापना भएको केन्द्रमा हाल दुई दर्जन बढी विभिन्न प्रजातिका पशुपन्छी राखिएको अध्यक्ष सिटौलाको भनाइ छ । यसमध्ये १० बिघा वनमा रहेको क्षेत्रफलमा प्राकृतिक वातावरण मैत्री मृगस्थली निर्माण गरेको उहाँले बताउनुभयो । जहाँ दुई दर्जन बढी चित्तल छाडिएको छ ।
उहाँले सामुदायिक वनले पर्या–पर्यटन सुरु गरेदेखि पाल्न सुरु गरेका र इलाम, ताप्लेजुङ, पाँचथर र जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेका पशुपन्छीलाई उद्धार केन्द्रमा राख्ने गरेको बताउनुभयो ।
“नयाँ बनेको भौतिक संरचनामा राखिएका पशुपन्छीलाई थुनिएको थाहा पनि हुँदैन”, सिटौलाले भन्नुभयो, “अहिले खुला र फराकिलो ठाउँ छ, पहिले साँघुरो थियो ।” उहाँले हाल निर्माण गरिएको उद्धार केन्द्र सिमसार पोखरीको उत्तरतर्फ खुला वातावरणमा पशुपन्छीलाई कुद्न र उफ्रन मिल्ने भएको जानकारी दिनुभयो ।
जामुनबाडी सामुदायिक वन २०६५ सालदेखि नै खुला चिडियाखानाका रुपमा प्रसिद्ध छ । वनको खुला चिडियाखानामा हाल चित्तल, रतुवा र अन्य जातका मृग, चितुवा, नीलगाई, अजिङ्गर, भालु, हिमाली गिद्ध, चरिबाघ, कछुवालगायत दुई दर्जनभन्दा बढी प्रजातिका वन्यजन्तु पालिएको अध्यक्ष सिटौलाको भनाइ छ ।
उहाँले सामुदायिक वनको आम्दानीबाट नै उद्धार केन्द्रलाई व्यवस्थित बनाउँदै लगेको बताउनुभयो । वनले आन्तरिक तथा बाह्य पर्यटकलाई वन क्षेत्रभित्रको पार्कलगायतका पशुपन्छीको अवलोकन गर्नका लागि रु एक सय प्रवेश शुल्क लिने गरेको छ । सामुदायिक वनको आम्दानीले त्यस क्षेत्रको व्यवस्थापनसँगै अन्य कार्य गर्नुपरेका कारण आर्थिक समस्या रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारले उद्धार केन्द्र स्थापनामा दुई वर्षअघि सहयोग गरे पनि हालसम्म यसको व्यवस्थापन र सञ्चालनमा कहीँकतैबाट सहयोग नपाएको उहाँको गुनासो छ ।
उहाँले जिल्लाभित्र, बाहिरबाट घाइते, बिरामी अवस्थामा भेटिएका, सङ्कटमा परेका लोपोन्मुख, संरक्षित वन्यजन्तुलाई उद्धार गरेर डिभिजन वन कार्यालय, प्रहरी र स्थानीयवासीले नै यहाँ उपचार र संरक्षणका लागि ल्याइदिने गरेको जानकारी दिनुभयो । जामुनखाडीको विशेषता भनेको नै वन्यजन्तु उद्धार तथा संरक्षण केन्द्र र चिडिया घर भएको उहाँको कथन छ ।.वर्षौंदेखि वनभोजस्थलका रुपमा चिनिएको जामुनखाडी क्षेत्रका गङ्गा र जमुना नामका दुई वटा ठूला जलाशयलाई संरक्षण गरेर सामुदायिक वनले पर्यटकीयस्थल निर्माण गरेको हो ।
यहाँ पालिएका जनावर, पोखरीमा नौका विहार, झोलुङ्गे पुल, बालउद्यान केन्द्र र मिनी रेलले पर्यटक आकर्षित गर्दै आएका छन् । उहाँले यहाँ पालिएका र उद्धार गरिएका पशुपन्छीलाई हालसम्म आफ्नै लगानीमा पशुचिकित्सकलाई ल्याएर उपचार गरिरहेको बताउनुभयो । चिडियाखाना र सिमसार क्षेत्रको घुमघाममा आउने आन्तरिक तथा बाह्य पर्यटक कोभिडपछिको समयमा बढ्दै गएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध