
काठमाडौँ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग युद्धविराम भएको अवस्थामा युक्रेनमा विदेशी सैनिकहरू राख्ने सम्भावनाबारे छलफल गरेको तर वार्साले हाल त्यस्ता कुनै कार्यको योजना नबनाएको बताउनुभएको छ ।
म्याक्रोनले आफ्नो पक्षबाट करिब तीन वर्षदेखि जारी रूसको युक्रेन युद्धबाट बाहिर निस्कने बाटो खोज्न आह्वान गर्नुभयो । उहाँले किएभको सार्वभौमिकता र पछिल्लो सुरक्षामा जोखिममा रहेको भन्दै यसले किएभ र युरोपीय सङ्घ (इयु) को हितलाई ध्यानमा राख्ने बताउनुभयो ।
म्याक्रोनको वार्सा भ्रमण केही दिनअघि उहाँले पेरिसमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र अमेरिकी राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पसँग भेट गरेपछि भएको हो । ट्रम्पले सङ्कटलाई समाधान गर्नु नै आफ्नो अर्को महिनामा सत्तामा आउँदा शीर्ष प्राथमिकता हुने बताउनुभएको छ ।
ट्रम्पले किएभलाई युद्धविरामका लागि दबाव दिन सक्ने डरका बीच वासिङ्टन किएभलाई बलियो बनाउन खोजिरहेको छ । वासिङ्टनले बिहीबार युक्रेनलाई ५० करोड डलरको नयाँ सैन्य सहायता पैकेज घोषणा गरेको छ ।
शान्ति सैनिकहरूको अटकलबारे बोल्दै टस्कले म्याक्रोनसँग यो विषयमा छलफल गरेको बताउनुभयो । ‘पोल्यान्डको कारबाहीमा कुनै पनि निर्णय वार्सामा र वार्सामा मात्र हुनेछ । अहिलेको लागि हामीले त्यस्तो कुनै कार्यको योजना गरिरहेका छैनौँ’ उहाँले भन्नुभयो ।
वार्सामा म्याक्रोनले सार्वजनिक रूपमा विदेशी शान्ति सैनिकहरूको सम्भावनाको उल्लेख गर्नुभएन तर फेब्रुअरीमा उहाँले युक्रेनमा पश्चिमी सेनाको विचार प्रस्तुत गर्नुभएको थियो ।
‘साँचो भन्नुपर्दा हामी इमानुएलको (म्याक्रोन) स्थिति बारेमा सोच्न र काम गर्न सक्छौँ’ सोमबार त्यो प्रस्तावबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले भन्नुभयो– उहाँले युक्रेन नाटोमा नभएको बेला हाम्रो सुरक्षाको ग्यारेन्टीका लागि युक्रेनको भूभागमा केही राज्यका सेना उपस्थित रहनुपर्ने प्रस्ताव राख्नुभयो ।’
युद्धविरामपछि शान्ति सैनिक सम्भव
‘युक्रेनमा शान्तिका लागि हामीलाई शान्ति सैनिक मिशनहरू चाहिन्छ’ इयुका विदेश नीति प्रमुख काजा कालासले बिहीबार बर्लिनमा विदेश मन्त्रीहरूको बैठकअघि भन्नुभयो– ‘त्यसका लागि रूसले गोली चलाउन बन्द गर्नुपर्छ, जुन उनीहरू गरिरहेका छैनन् । त्यो भन्दा पहिले हामीसँग कुरा गर्न केही छैन र निस्सन्देह उनीहरूले कुन प्रक्रियामा आफ्नो सेना प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने निर्णय गर्नु प्रत्येक युरोपेली देशको दायित्व हो ।’
जर्मनीका रक्षामन्त्री बोरिस पिस्टोरियसले पनि विदेशी शान्ति सैनिकहरूको विचारलाई सम्बोधन गर्नुभएको छ । ‘हामी तयारी गर्दैछौँ, हामी परिदृश्यहरू विचार गर्दैछौँ तर हामी त्यो पूर्ण गोपनीयतामा गर्दैछौँ’ उहाँले सार्वजनिक रेडियोलाई बिहीबार भन्नुभयो ।
ट्रम्पको अमेरिकी नीतिको आलोचना
म्याक्रोनले शनिबार पेरिसमा जेलेन्स्की र ट्रम्पसँग भेट गर्नुभयो । यो ट्रम्पको विजयपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
ट्रम्पले अमेरिकाद्वारा आपूर्ति गरिएका हतियार रूसको गहिराइसम्म प्रयोग गर्नु ‘मूर्खतापूर्ण निर्णय’ भएको आरोप लगाउनुभयो । युक्रेनको त्यो आक्रमणले मस्को क्रुद्ध बनेको छ ।
‘म रूसमा सयौँ माइल टाढासम्म मिसाइलहरू पठाउने कुरामा घोर असहमत छु । किन हामी त्यस्तो गर्दैछौँ ?’ ट्रम्पले बिहीबार प्रकाशित र पेरिस भेटभन्दा अघि लिइएको टाइम पत्रिकाको अन्तर्वार्तामा भन्नुभयो ।
जेलेन्स्कीले मङगलबार युद्ध अन्त्य गर्ने ट्रम्पको ‘दृढ सङ्कल्प’ का लागि आभारी रहेको बताउनुभयो ।
किएभका लागि वासिङ्टनले भर्खरै घोषणा गरेको सैन्य सहायताले ९८ करोड ८० लाख डलरको सुरक्षा सहायता प्याकेज र ७२ करोड ५० लाख डलरको छुट्टै प्याकेज पछ्याएको छ ।
वार्सामा म्याक्रोन र टस्कले युद्ध अन्त्य गर्ने कुनै पनि छलफलमा युक्रेनलाई समावेश गर्ने महत्त्वलाई जोड दिनुभएको छ ।
कसैले पनि युक्रेनीहरूका लागि उनीहरूको नाममा छुट दिने सम्बन्धमा बोल्न सक्दैनन्... त्यसो गर्नु युक्रेनीहरूमा निर्भर छ तर युरोपेलीहरूबिना युरोपमा सुरक्षाको कुरा गर्न सकिँदैन’ म्याक्रोनले पत्रकारहरूलाई भन्नुभयो ।
उहाँले ‘युक्रेनको हित, यसको सार्वभौमिकता र युरोपेलीहरूको हित र उनीहरूको सुरक्षालाई ध्यानमा राख्ने सम्भावित मार्ग खोज्न’ महत्त्वपूर्ण रहेको कुरामा जोड दिनुभयो ।
नाटो सदस्य पोल्यान्ड छिमेकी युक्रेनको दृढ समर्थक हो र किएभलाई पश्चिमी सैन्य सहायताको महत्त्वपूर्ण लजिस्टिक केन्द्र हो ।
अर्को महिना इयुको घुमाउरो अध्यक्षता लिन तयार वार्साले युक्रेनसँग विभिन्न विदेशी अधिकारीहरूसँग छलफल गरिरहेको छ ।
यस साताको शुरुमा टस्कले युक्रेन शान्ति वार्ता ‘यस वर्षको शरदमा’ शुरु हुनसक्ने बताउनुभएको थियो ।
‘हाम्रो (इयु) अध्यक्षता विशेष गरी राजनीतिक परिदृश्य कस्तो देखिन्छ र सम्भवतः (शान्ति) वार्ताको क्रममा अवस्था कस्तो देखिन्छ भनेर सह–जिम्मेवार हुनेछ’ उहाँले भन्नुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै