+

रवि लामिछानेको बयान सकियो, मुद्दा दर्ताको तयारी

काठमाडौँ । सहकारी संस्थाहरूको बचत रकम अपचलन आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । उहाँलाई पाँच फरक जिल्लाका पाँच वटा सहकारी अपचलनबारे बयान लिइएको हो । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेविरूद्धको मुद्दा अबको १० दिनभित्र अदालत बुझाउनुपर्ने भएको छ।


कास्की, रूपन्देही, काठमाडौं, चितवन र पर्सा गरी पाँच वटा जिल्लामा छुट्टाछुट्टै सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।


पाँचै वटा जिल्लाका सरकारी वकिल कार्यालयमा बयान लिइसकेको छ। हाल लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, लिला पछाई र नेचर हर्ब्स इन्टरनेशनल प्रालिका सञ्चालक रामबहादुर खनाल कास्की प्रहरीको हिरासतमा छन्।

लामिछानेलाई ५५ दिनअघि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरी पोखरा लगिएको थियो । 

यो प्रकरणमा प्रहरीले सहकारी रकम बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गरिरहेको हो।

पोखराको सूर्यदर्शन बचत सहकारीको दोस्रो चरणको अनुसन्धानका लागि सुरूमा प्रहरीले छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेको थियो।

सहकारी ठगीसम्बन्धी ऐनमा अभियुक्तलाई २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ। संगठित अपराधमा ६० दिन र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी ऐनमा अभियुक्तलाई ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइने कानुनी प्रावधान छ।

सम्पत्ति शुद्धीकरणको समेत अनुसन्धान गरिरहेको हुँदा प्रहरीले उहाँहरूलाई अधिकतम ९० दिन राखेर अनुसन्धान गर्न पाउँछ। उक्त समयभित्र अभियुक्तमाथि अनुसन्धान पूरा गरेर अदालतमा अभियोजन दर्ता गरिसक्नुपर्ने हुन्छ । 

जोशी पक्राउ परेको ८० दिन भएको छ। त्यसअनुसार सरकारी वकिल कार्यालय कास्कीले अबको १० दिनमा मुद्दा कास्की जिल्ला अदालत समक्ष पेस गर्नुपर्ने बाध्यता छ।

सरकारी वकिल कार्यालय कास्कीकी जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पनि अबको १० दिनभित्र मुद्दा पेस गर्ने बताउनुभयो । मुद्दाको अभियोजन गर्नका लागि पनि प्रहरीले समयमै आफूहरूलाई प्रतिवेदन बुझाउने उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो–‘अब १० दिन बाँकी छ। प्रहरीले समयसीमाभित्रै हामीलाई प्रतिवेदन बुझाउँछ। कानुनले दिएको हदम्यादभित्र हामीले जसरी पनि मुद्दा अदालतमा पेस गर्छौं ।’

यस्तै रवि लामिछानेसहित प्रतिवादीहरूविरूद्ध अदालतबाट आइतबार लिएको म्याद पनि बुधबार सकिएको छ। त्यसैले उनीहरूलाई बिहीबार पुनः अदालतमा उपस्थित गराइने पनि काफ्लेले बताउनुभयो । 


पोखराबाट रविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर हुनेछ ।

सरकारी वकिल हुँदै मुद्दा दायर भएपछि अदालतमा हुने थुनछेक बयान र बहसपछि उहाँलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटी लिएर छाड्ने वा साधारणमा तारेखमा छाड्नेमध्ये एउटा आदेश आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट