
तनहुँ । देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । त्यो वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष ३ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ ।
स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट ३ करोड रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउनुभयो । लुङ्ग्रिङमा एकै घरबाट २० लाख रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री हुने उहाँले जनकारी दिनुभयो ।
विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताउनुभयो । यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो– ‘यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।’
त्यही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए ३ करोड रुपैयाँ भन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । उहाँले भन्नुभयो– ‘ करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला ।’
यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि त्यो सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन् ।
लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् ।
नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महङ्गो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । उहाँले भन्नुभयो– ‘यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन् ।’
गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र त्यो ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै