
बागलुङ । निसीखोला गाउँपालिकाले स्थानीय जातका आलु र भाङको प्रवर्द्धन र बजारीकरणमा जोड दिन थालेको छ । चालु आर्थिक वर्षदेखि आलु र भाङको प्रवर्द्धन गरेर किसानलाई तत्कालै आम्दानीसँग जोड्ने योजनासहित गाउँपालिकाले बजारीकरण गर्न थालेको हो ।
निसीखोला गाउँपालिकाका अधिकांश ठाउँमा आलु फल्छ । स्थानीय जातको आलु स्वादिलो हुने भएकाले काठमाडौँ, पोखरा, बुटवल र भैरहवामा यहाँको आलु पुग्ने गरेको स्थानीय बताउँछन् । परम्परागत रूपमा गाउँपालिकाको उपल्लो क्षेत्रमा बर्खे र तल्लो क्षेत्रमा हिउँदे आलुको खेती हुँदै आएको छ ।
ताराखोला र ढोरपाटनमा फल्ने आलु चर्चामा बढी छ घने निसीको भाङ चर्चित रहेको निसीखोला गाउँपालिकाको कृषि शाखाले जनाएको छ । पूर्वमा ताराखोला र पश्चिमका सहरमा ढोरपाटनको आलुको बढी चर्चा हुने गरेको छ ।
निसीखोलाका किसानले पनि हरेक वर्ष सयौँ किलो आलु बजार पुग्नेगरी उत्पादन गरे पनि प्रचारप्रचार र प्रवर्द्धनको अभावले अन्य गाउँको जस्तो चर्चा नपाएकाले यहाँ उत्पादित आलु र भाङको बजारीकरणमा जोड दिइएको कृषि शाखाका प्रमुख भक्तिप्रसाद रेग्मीले बताउनुभयो ।
रासायनिक मलको प्रयोग नहुने र स्थानीय जातको बीउ लगाउने भएकाले निसीको आलुले बजार पाउनेमा गाउँपालिका विश्वस्त रहेको उहाँको भनाइ छ । चालु आवदेखि आलु र भाङको प्रवर्द्धन गर्दै किसानलाई प्रत्यक्ष रूपमा आम्दानीसँग जोड्ने पालिकाले योजना बनाएको शाखाका प्रमुख रेग्मीले बताउनुभयो ।
‘यहाँ प्रशस्त भाङ उत्पादन हुन्छ, एक पटक स्वाद पाएकाले खोजेर लैजानुहुन्छ’ रेग्मीले भन्नुभयो– ‘यहाँको भाङ र आलु निसी बाहिरका मानिसलाई पनि चखाउने र बिक्री गर्ने योजना बनाएका छौँ ।’ पालिकाले किसानलाई ज्ञान, सीप, प्रविधि र बजारीकरणमा सहयोग गर्दै कृषि उपजबाट आम्दानीसँग जोड्ने योजना अघि सारेको उहाँले जानकारी दिनुभयो ।
बागलुङमा बढी उत्पादन हुने भाङको केही हिस्सा निसीका किसानले ओगटेका छन् । आर्थिक आम्दानी पनि हुने र स्वाद पनि हुने भएकाले यहाँका किसानले पाखोबारी बाँझो नराख्न भाङ खेती गर्दै आएका रेग्मीले बताउनुभयो । बारीमा लगाएको आलुले जेठ, असारमा फसल लिइन्छ । आलु उकेरेपछि खाली बारीमा सिमी र भाङ लगाइने भन्दै पुनः अर्को पटक आलु लगाउने समयसम्म फसल लिन सकिने उहाँको भनाइ छ ।
जिल्लाको ताराखोला, निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटन नगरपालिकाका अधिकांश बारीमा भाङ उत्पादन हुने गरेको छ । सरकारले प्रतिबन्ध लगाएको लागुऔषधजन्य उत्पादन हुने गाँजा प्रजातिको रूखमा भाङ फल्छ ।
बागलुङका उच्च पहाडी भू–भागमा भाङको उत्पादन बढी हुने भए पनि यसको व्यावसायिक बजार नहुँदा किसान मर्कामा पर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै