
पर्वत। जिल्लाको कुश्मा नगरपालिकास्थित ज्ञादी क्षेत्रमा व्यावसायिक रूपमा गरिएको केराखेतीबाट वार्षिक रु एक करोड ५० लाखसम्म आम्दानी भइरहेको छ ।
यहाँका कृषकले धानखेती मासेर सात वर्षदेखि व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् । पीपलटारी र कटुवाचौपारीका ६५ कृषकले एक हजार रोपनी क्षेत्रफलमा व्यावसायिक केरा उत्पादन गर्दै आएका हुन् ।
विसं २०५२ मा चितवनको राप्ती किनारबाट बिरुवा ल्याएर लगाइएको केराका बोट अहिले कृषकको प्रमुख आम्दानीको स्रोत बन्दै गएको हो । सोही बीउलाई आर्थिक वर्ष २०७६÷७७ देखि ‘केरा ब्लक’मा विस्तार गरी व्यावसायिक उत्पादन थालिएको ज्ञादी केरा ब्लकका संयोजक बाबुराम शर्माले जानकारी दिनुभयो । रोग प्रतिरोधात्मक क्षमता बढी रहेको फुस्रे जातको केरा लगाएर कृषकले गाउँमा वार्षिक रु एक करोड ५० लाखसम्म भित्र्याउने गरेका उहाँले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत केरा ब्लकका रूपमा यस क्षेत्रलाई विस्तार गरेपछि यहाँका कृषक केराखेतीतर्फ आकर्षित भएका संयोजक शर्माले उल्लेख गर्नुभयो । जिल्लास्थित परियोजना कार्यान्वयन इकाईमार्फत कृषकहरूलाई केराका बिरुवा, यान्त्रिकरण, विषादी, प्राविधिक सहयोगका साथै केरा रोप्न अनुदानलगायतमा रु ८१ लाख सहयोग गरिएको उहाँले जानकारी दिनुभयो ।
अनुदानमा बिरुवा पाएपछि कृषकहरू धान, कोदो छाडेर केराखेतीमा आकर्षित भएका केरा ब्लकका संयोजक शर्माले बताउनुभयो । उहाँका अनुसार यहाँ उत्पादित केरा सदरमुकाम कुश्मा, बागलुङ, साइकलचोक, फलेबास, मालढुङ्गा, पातीचौरलगायत बजारमा खपत हुने गरेको छ ।
गाउँमा पक्की सडक विस्तार भएकाले बिक्रीका लागि बजार लैजानुपर्ने अवस्था नरहेको कृषक दीपक सुवेदीले बताउनुभयो । केरा व्यापारी गाडी लिएर केराको बगैँचासम्म आउने र सिधै लोड गरेर लैजाने भएकाले बजारीकरणको समस्या नरहेको उहाँले उल्लेख गर्नुभयो ।
युवापुस्ताको विदेश पलायनसँगै बाँझिदै गरेको जमिनमा केराखेती गरेपछि नियमित आम्दानी हुनुका साथै जमिन उर्वर बनेको कृषक शोभनाथ लामिछानेले बताउनुभयो । उहाँका अनुसार एउटै बोटमा चार सय कोसासम्म केरा फल्ने गरेका छन् । हरेक कृषकले न्यूनतम रु ५० हजारदेखि रु तीन लाखसम्म आम्दानी गर्दै आएको उहाँले जानकारी दिनुभयो ।
कम जनशक्ति, न्यून लागत र एकपटक लगाएपछि वर्षौंसम्म फाइदा लिन सकिने भएकाले गाउँका अधिकांश कृषक केराखेतीमा लागेका कृषक लामिछानेले बताउनुभयो । प्रत्येक कृषकले न्यूनतम पाँचदेखि १० रोपनीसम्म क्षेत्रमा खेती गरिरहेका छन् ।
केरा बिक्री गरेर मात्रै धेरै आम्दानी नसकिएको भन्दै कृषकले वैकल्पिक योजना बनाएका छन् । केराको रेसाबाट धागो, पात र बुङ्गोबाट टपरी बनाएर स्थानीय महिलालाई पनि स्वरोजगार बनाउने तयारी भइरहेको कुश्मा–१० पीपलटारीका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिनुभयो ।
कृषकलाई गत वर्ष केराको अचार उत्पादनसम्बन्धी तालिम पनि दिइसकिएको भन्दै कतिपयले अचार बनाएर बिक्री गर्न थालेका उहाँले बताउनुभयो ।
कृषकहरू केराखेतीबाट पूर्ण रूपमा आत्मनिर्भर भइनसकेका बताउँदै वडाध्यक्ष सुवेदीले केराको फलका साथै थाम, पात र बुङ्गो प्रशोधन गर्न आवश्यक तालिम र यन्त्र उपकरणको माग सङ्घीय सरकारसँग गरिएको जानकारी दिनुभयो । केराखेती विस्तार गरिएपछि गाउँमा जग्गा बाँझो हुनेक्रम हट्दै गएको बताउँदै कृषकहरूलाई प्रोत्साहन नगरपालिकाले विभिन्न योजनाहरू बनाइरहेको उहाँले उल्लेख गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति