
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा रहेका जङ्गली हात्तीले बस्ती पसेर जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने अभियानमा निकुञ्ज प्रशासन लागेको छ ।
बिशेषगरी ध्रुवे र गोविन्दे हात्तीले निकुञ्जको मुख्यालय कसराबाट पश्चिम क्षेत्रमा जनतालाई सास्ती दिन थालेपछि जनता जोगाउने र हात्ती धपाउने काम गर्न लागिएको हो । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार दुई हात्ती मेघौली र माडी क्षेत्रमा बस्तीमा पस्न थालेपछि स्थानीयस्तरमा रहेको सेना र निकुञ्जको टोलीलाई सहयोग गर्न थप एक टोली पठाइएको छ । विगत तीन–चार दिनदेखि टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “निकुञ्जको कार्यालयबाट हात्ती धपाउन थप एक टोली पठाइएको छ । यसले हात्ती बस्तीमा पुगेको सूचनाका आधारमा त्यहाँ पुगेर हात्तीलाई जङ्गल धपाउने, जनता जोगाउने र क्षति कम गर्ने काम गर्दछ ।” हिजोआज धु्रवे र गोविन्दे मेघौली क्षेत्रमा रहेको सूचनाका आधारमा त्यस क्षेत्रमा टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।
उहाँले थप्नुभयो “निकुञ्जबाट गएको टोली गाडीसहित रहेकाले जहाँ हात्ती छ, त्यहाँ पुग्न सक्छ । टोलीले स्थानीयस्तरमा रहेका निकुञ्जका कर्मचारी र नेपाली सेनाका कर्मचारीको सहयोगमा हात्तीलाई धपाउँछ ।” पश्चिम क्षेत्रमा रहेका दुई हात्तीका कारण निकुञ्ज हुँदै माडी प्रवेश गर्ने सडकमा जोखिम बढेको छ । कहिलेकाहीँ हात्ती सडक आसपासमा भएको सूचनाका आधारमा सवारी आवागमन नै रोकिने गरेको तिवारीले जानकारी दिनुभयो । अन्य समयमा समेत निकुञ्ज पार गर्न मोटरसाइकललाई समूहमा पठाउने गरिएको छ ।
निकुञ्जमा रहेका चार जङ्गली हात्तीमध्ये पूर्वी क्षेत्रमा मकुना र रोनाल्डो रहेका छन् । ती हात्तीले अहिले खासै समस्या नदिए पनि पश्चिम क्षेत्रमा रहेका हात्तीले बस्तीमा पसेर जनतालाई त्रसित बनाएका छन् । लामो दूरी हिँडेर आतङ्क मच्चाउने धु्रवे हात्ती हो । तिवारीले भन्नुभयो, “हामीले निकुञ्ज आसपास बस्ने जनतालाई सजग रहन भनेका छौँ । मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न जाँदासमेत सजग भएर जान अनुरोध गरेका छौँ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध