
महोत्तरी । मधेशको मिथिलाञ्चल क्षेत्र आज उत्सवमय बनेको छ । मङ्सिर शुक्लपञ्चमीका दिन मर्यादा पुरुषोत्तम श्रीराम र मिथिलापुत्री जानकीको विवाह भएको दिनको सम्झनामा आज मिथिला उत्सवमय बनेको हो ।
जनकपुरधाममा वैदिक विधिको मैथिल परम्पराअनुसार आज साँझ जनकपुरधामस्थित रङ्भूमि मैदानमा आयोजना हुने स्वयम्बर समारोह र त्यसपछि जानकी मन्दिरको विवाहमण्डपमा सम्पन्न हुने विवाह कार्यक्रम हेर्न यहाँका गाउँ÷नगर बस्तीबाट श्रद्धालु भक्तजन जनकपुर पुग्दैछन् ।
जनकपुरधामका दक्षिण र पश्चिममा पर्ने महोत्तरीका भङ्गाहा, लोहारपट्टी र पिपरालगायत क्षेत्रका स्थानीय जनकपुरतर्फ गइरहेका छन् । विवाहपञ्चमी उत्सवमा सहभागी हुन हिडेका सबैले एक स्वरमा ‘सीयावर रामचन्द्रकी जय १’ भन्दै जयजयकार गर्दैछन् ।
‘कई दिनस नियाइरक फुर्सत मिलैने छीं, आई त रामजानकीके विवाह देखब कहिक (कति दिन पहिलेदेखि फुर्सदको चाँजो मिलाएकी हुँ, रामजानकी विवाह हेर्न भनेर– भङ्गाहा–३ बाट उत्सव हेर्न १५ जनाको समूहमा जनकपुर आउनुभएकी रामराजी यादवले भन्नुभयो– ‘हमरासभके मेला देखवाक याह एकटा अवसर अई (हामी गृहिणी) का लागि मेलाजात्रा हेर्ने यही अवसर हो ।’
आज बिहानैदेखि सार्वजनिक सवारीसाधनले पनि विवाह महोत्सवमा सहभागी हुनेलाई ओसारिरहेका छन् । महोत्तरीको भिठ्ठामोर, मटिहानी, सम्सी, मनरा, गौशाला, बलवा, भ्रमरपुरा, लोहारपट्टी, सीतापुर र बर्दिबास लगायत क्षेत्रबाट जनकपुर जाने बसमा यात्रु कोचिएर यात्रा गरिरहेका छन् । यात्रुको चापलाई मध्यनजर गरी ग्रामीण क्षेत्रमा सार्वजनिक सवारीसाधन थप गरिए पनि अपुग भएको बलवा बजारका शिवनारायण झाले बताउनुभयो ।
विवाहपञ्चमी उत्सवमा सहभागी हुन मधेशका अधिकांश जिल्लाका साथै छिमेकी मुलुक भारतका मधुवनी, सीतामढी, शिवहर, पूर्वी तथा पश्चिमी चम्पारन, दरभङ्गा, समस्तीपुर, मुजफ्फरपुर लगायत जिल्लाका श्रद्धालु सीमा नाकाबाट प्रवेश गरिरहेका उहाँले जानकारी दिनुभयो ।
पछिल्लो एक दशकको तुलनामा भारतीय दर्शनार्थीको घुइँचो यस वर्ष बढेको भिठ्ठामोर भन्सार कार्यालय नजिक घर भएका रुपेश शर्माले बताउनुभयो । यस वर्ष प्रदेश सरकार, मिथिला क्षेत्रका स्थानीय तह र सम्बद्ध मठमन्दिरले तयारी थालेपछि महोत्सवको आकर्षण बढेको उहाँको भनाइ छ ।
जनकपुरधामबाट महोत्सव सुरु हुन केहीपूर्व मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको टोली अयोध्या गएर जन्ती आउने निमन्त्रणा दिनेदेखि तिलकोत्सव सम्पन्न भएपछि प्रचारप्रसार बढेको जलेश्वर–५ का पूर्वउपप्राध्यापक ध्रुव रायले बताउनुभयो ।
‘यो वर्ष अयोध्याबाट श्रीराम ट्रष्टका महासचिव चम्पत राय, अयोध्या नगर निगमका प्रमुख गिरिशपति त्रिपाठी र विश्व हिन्दू परिषद्का केन्द्रीयमन्त्री राजेन्द्र सिंह पङ्कजसहितका उच्चपदस्थ व्यक्तित्व जन्तीमा सहभागी हुनुभएको छ’ रायले भन्नुभयो– ‘उहाँहरू नेपाल प्रवेश गरेदेखि स्वागत तथा सम्मानका समारोह भएका छन्, यसले पनि महोत्सवलाई विशेष बनाएको हो ।’
विवाह महोत्सवका लागि महोत्तरीको भङ्गाहा र भारतको जयनगरबाट जनकपुरका लागि चल्ने रेलमा अतिरिक्त सेवा थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन
- चौध महिनापछि धुमधामसँग देउवालाई प्रधानमन्त्री पद हस्तान्तरण गर्छु
- गभर्नरमा योग्यताका आधारमा क्षमतावान व्यक्ति नियुक्त हुन्छ : प्रधानमन्त्री
- पूर्वमन्त्री बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा : तीन अर्ब २१ करोड बिगो माग दाबी
- राष्ट्रपति पौडेलद्वारा बौद्ध स्तूपामा पूजा, आराधना
- लुम्बिनीमा शोभायात्रा, प्रधानमन्त्रीद्वारा औपचारिक कार्यक्रम उद्घाटन
- आज किराँत समुदायले उँभौली पर्व मनाउँदै