+

चीनसँग ऋण सम्झौता भएन, पोखरा विमानस्थलको कुरै उठेन : प्रधानमन्त्री

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  आफ्नो भ्रमणमा चीनसँग कुनै ऋण सम्झौता नभएको प्रष्ट्याउनुभएको छ । चीनको चार दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किनुभएका प्रधानमन्त्री ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग यसबारे प्रष्ट्याउनुभएको हो ।

बीआरआई फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गर्नुभयो । यो ऋण हो कि अनुदान ? भन्ने पत्रकारहरुको प्रश्नमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘अस्ति मैले आमसभादेखि नै कुनै ऋण लिन हामी जाँदै छैनौं । ऋणसम्बन्धी कुनै कुरा पनि चलेन । मैले यहाँ बोलेकै थिएँ । कुनै कुरा पनि चलेन । छलफल पनि भएन । हामीले यसपटक बीआरआई अन्तर्गत विभिन्न परियोजनाहरूको कुरा गर्‍यौं । हरेक परियोजना अन्तर्गत पछि हामी छुट्टै छलफल र सहमतिहरू गर्छौं, त्यसको कार्यान्वयन गर्ने भन्ने सम्बन्धमा । अहिले हामीले जे प्राप्त गरेका छौं, त्यो ऋण होइन भन्ने कुरा धेरैपटक भनिएको छ । अब धेरै दोहोर्‍याउन नपरोस् भन्ने मेरो आग्रह छ । ऋण होइन । ऋण सम्बन्धी कुरा पनि चलेको छैन । फैरि ऋणको कुरा कहाँबाट आउँछ ? सधैं ऋण, ऋण, ऋण यो रट किन साह्रै बजिरहेको छ ?  होइन भनेर हामीले पटकपटक भनेका छौं । सञ्चार माध्यमहरूले पनि हाम्रा भनाइलाई ‘क्यारी’ गरेका छन् । ऋणसँग यसले सरोकार राख्दैन । अरु कुराहरू हरेक कार्यान्वयनमा छुट्टाछुट्टै सम्झौताहरू हुन्छन् ।’

विमानस्थलको विशिष्ट कक्षमा रहनुभएका प्रधानमन्त्री ओलीलाई पत्रकारहरुले फेरि सोधे– ‘तपाईंको भ्रमणको दोस्रो दिन ९ बुँदे सहमति भयो । त्यसपछि १० बुँदे सहमति भयो । अब बीआरआईमा चीनले लगानी गर्ने ढोका खुलेको हो ? आगामी दिनमा सहुलियतमा ऋण लिने अथवा अनुदानमा भन्ने विषय अलि कन्फ्युजिङ भयो भनेर आइरहेको छ ?’
जवाफमा उहाँले भन्नुभयो– के कन्फ्युजन भयो रे , ऋण, सहुलियत ऋण र अनुदान ? अघि मैले जवाफ दिइसकें त । स्पष्ट भइसकेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको भेटवार्तामा कस्तो कुराकानी भयो ? पत्रकारहरुले प्रश्न थपे । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो – ‘बहुत राम्रो, एकदमै राम्रो कुराकानी भयो । नेपाल(चीन मित्रताको कुरा भए । मित्रता प्रगाढ बनाउने कुरा भयो । हाम्रो मित्रता अरु कसैका विरुद्धमा होइन, हाम्रै पक्षमा मात्र हो भन्ने पनि भयो । यस मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म धेरै लाभ नेपाललाई पुर्‍याउने भन्ने कुरा पनि भयो ।’

चीन भ्रमणअघि तपाईंको कार्यकालबारे कुरा चलिरहेको थियो । यो भ्रमणपछि तपाईंको कार्यकाल अलि बढी लम्बियो प्रधानमन्त्रीको रूपमा ? पत्रकारहरुदले अर्को प्रसङ्ग कोट्याए । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो– यही प्रश्नको जवाफ कतिपटक दिने रु मैले अब करिब करिब १८ महिनार १७ महिना होला ‘ १८ महिनाजति रहेछ क्यारे, अब मेरो पालो । त्यसपछि शेरबहादुर देउवाजीलाई मैले हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रीमेन्ट छ । चुनावपछि हामी हरेकले बहुमत ल्याउने कोशिश गरौंला । बहुमत आयो भने ‘, आउँछ भन्ने हामीलाई विश्वास छ, हरेकलाई विश्वास छ । अब के गर्ने रु विश्वास अनुसार बहुमत आयो भने बहुमतको सरकार बन्ला । आएन भने अरु तरिकाहरू होलान् ।’

दक्षिणतिरबाट तपाईंलाई उत्तरतिर ढल्कियो भन्ने आरोप लगाइरहेका छन्  बीआरआई सम्झौतापछि त्यसरी नै कुरा भइरहेको छ दक्षिणतिरबाट । के भन्न चाहनुहुन्छ ? उहाँलाई सोधियो । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो– ‘मैले त्यति थाहा पाएको छैन यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’

पत्रकारहरुले फेरि जिज्ञासा राखे– दक्षिणतिर भ्रमण कहिले हुन्छ ? यसको जवाफ दिँदै प्रधानमन्त्रीले भन्नुभयो– अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा अहिले यहाँ फर्किएकै दिन कसरी टुङ्गो हुन्छ ।’

दक्षिणको पहिला भ्रमण गरेर उत्तर जाने परम्परा थियो । तपाईं यसपालि उत्तर जानुभयो । तपाईंले जोखिम मोल्नुभयो भन्ने छ नि ? पत्रकारहरुले अर्को प्रश्न तेस्र्याए । जवाफमा प्रधानमन्त्रीले भन्नुभयो– ‘आधारहीन र अर्थहीन कुराहरू हुन् यी ।’

नेपालमा कतिपय परियोजना चिनियाँ ठेकेदारले लिएका छन् । तर ती समयमा पूरा भइरहेका छैनन् । जस्तो-नारायणगढ– बुटवल सडकखण्ड । यो कुरा तपाईंले भ्रमणको क्रममा चिनियाँ पक्षसँग उठाउनुभयो ?  पत्रकारहरुले अर्को प्रश्न निकाले । जवाफमा उहाँले भन्नुभयो–अहिले पुनः निर्माणकार्य प्रारम्भ भइसकेको छ अथवा केही दिनमा हुन्छ । यो प्रारम्भ गर्ने भन्ने सहमति भइसकेको छ र २०८३ साल मंसिरभित्र यो पूरा हुन्छ । निर्माण कार्य सम्पन्न हुन्छ ।

प्रधानमन्त्रीलाई पत्रकारहरुले पोखरा विमानस्थल बारे केही कुरा भयो ? भनेर समेत सोधे । प्रधानमन्त्रीले तत्कालै जवाफ फर्काउनुभयो –कुरै उठेन ।’ बीआरआई कोअपरेसन अन्तर्गत कस्ता कस्ता परियोजना पर्छन् ? ’ फेरि प्रश्न गरे ।  जवाफमा प्रधानमन्त्रीले भन्नुभयो– अघि सुन्नुभयो होला ।  तिनै परियोजना हुन् । प्रथम प्रश्नकर्ता पनि महिला हुनुभयो र अन्तिम पनि । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट