
काठमाडौँ । जापानका प्रधानमन्त्रीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘खुलेर छलफल’ गर्ने बताउनुभएको छ ।
‘म आगामी राष्ट्रपति ट्रम्पसँग खुलेर छलफल गर्नेछु र गठबन्धनलाई नयाँ उचाईमा पुर्याउनेछु’ शिगेरु इशिबाले संसदमा एक महत्वपूर्ण नीतिगत सम्बोधनमा भन्नुभयो ।
उहाँले भन्नुभयो– ‘स्वाभाविक रूपमा अमेरिकाको आफ्नै राष्ट्रिय हित छ र जापानको आफ्नै राष्ट्रिय हित छ । खुलेर विचार आदानप्रदान गर्ने र दुवै देशको राष्ट्रिय हितलाई समन्वयात्मक ढङ्गले अगाडि बढाउने हो भने यसले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकलाई साकार पार्न मद्दत गर्नेछ भन्ने मलाई लाग्छ।’
बेइजिङले ताइवानलगायत एसिया–प्रशान्त क्षेत्रका क्षेत्रीय विवादमा आक्रामक व्यवहार देखाएको छ । चीनले वार्षिक खर्बौं डलरको व्यापार हुने दक्षिण चीन सागरमा आफ्नो दाबी गर्दै आएको छ । टोकियो र बेइजिङबीचको सम्बन्धमा पनि ‘इस्ट चाइना सी’मा विवादित जापान–नियन्त्रित टापुहरूका विषयमा विवाद छ ।
आणविक शक्ति सम्पन्न उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र गतिविधि विस्तार गरेपछि पनि टोकियो चिन्तित छ । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भेटवार्ता गर्नुभएको थियो ।इशिबाले एक राष्ट्रमाथिको आक्रमण सबैमाथिको आक्रमण भएको भन्दै एशियाली सैन्य गठबन्धनको निर्माणको लागि आह्वान गर्नुभएको छ । ‘जापान–अमेरिका सुरक्षा गठबन्धन जापानको कूटनीति र सुरक्षाको जग हो’ इशिबाले भन्नुभयो– ‘संयुक्त राज्य अमेरिकाले जापानमा अमेरिकी सेनाद्वारा नियन्त्रित सुविधा र क्षेत्रको अस्तित्वबाट ठूलो रणनीतिक लाभ प्राप्त गर्दछ।’
ट्रम्पको पहिलो कार्यकालमा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेले अमेरिकी राष्ट्रपतिसँग न्यानो व्यक्तिगत सम्बन्ध स्थापित गर्नुभएको थियो । यसै महिनाको सुरुमा भएको चुनावमा ट्रम्पको जितपछि इशिबा र अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पबीच जापानी ‘निकै मैत्रीपूर्ण’ टेलिफोन संवाद भएको थियो । प्रमुख सहयोगी जापान र संयुक्त राज्य अमेरिका एक अर्काका शीर्ष विदेशी लगानीकर्ता हुन् । करिब ५४ हजार अमेरिकी सैनिक जापानको ओकिनावामा तैनाथ छन् ।
जापानले आफ्नो कडा शान्तिवादी अडान त्याग्दै आएको छ र ‘प्रत्याक्रमण’ क्षमता हासिल गर्न अघि बढिरहेको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन र इशिबाका पूर्ववर्ती फुमियो किशिदाले गत अप्रिलमा रक्षा क्षेत्रमा ‘नयाँ युग’ को शुरुवात भएको घोषणा गरेका थिए । जापानले आफ्नो सैन्य खर्चलाई कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतको नेटो मापदण्डमा दोब्बर बनाउने प्रक्रियामा छ । तर ट्रम्पको ‘अमेरिका फस्र्ट’ दृष्टिकोणको अर्थ यो हुन सक्छ कि उहाँको दोस्रो कार्यकालमा उहाँले सैन्य सहयोगका लागि थप कम नगद प्रदान गर्नुहुनेछ र जापानलाई अझ बढी योगदान गर्न दबाब दिनुहुनेछ ।
ट्रम्पले सोमबार मेक्सिको र क्यानडाबाट आयात हुने सामानमा २५ प्रतिशत र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउने घोषणा गरेपछि अमेरिकाका केही ठूला व्यापारिक साझेदारमा त्रास छाएको थियो । टोयोटा र होन्डा लगायत धेरै जापानी निर्यातकको मेक्सिको र क्यानाडामा प्लान्ट छन्। यो साता दुवै कम्पनीको शेयर मूल्यमा भारी गिरावट आएको छ ।
जापानी सरकारी अधिकारीहरूले ट्रम्पको कर धम्कीबारे टिप्पणी गर्न अस्वीकार गरेका छन् र यसबारे इशिबाले सम्बोधनमा केही उल्लेख गर्नुभएन । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति