+

खाजा र दक्षिणा जोगाएर जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग

काठमाडौँ । अमेरिकाको ओहायो राज्यको कोलम्बसमा बस्दै आउनुभएकी सोनिया अधिकारीले खाजा र दक्षिणाको रकम जोगाएर जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग गर्दै आउनुभएको छ । 

सोनियाले खाजा खर्च र दक्षिणाको रकम जोगाएर झापाको बेलडाँगी र मोरङको पथरीमा रहेको भूटानी शरणार्थी शिविरमा बस्ने जेष्ठ नागरिक र विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको हो । बुबाआमाले दिएको खाजा खर्च, दशैँ तिहारमा पाएको दक्षिणा र जन्मदिनमा पाएको उपहार रकम जम्मा गरेर दुवै शिविरमा बस्ने बृद्धबृद्धा र असक्तलाई चार सय थान कम्बल र विद्यार्थीलाई एक हजार सात सय थान शैक्षिक सामग्री र केही थान कपडा एकल महिलालाई वितरण गरेको अधिकारीले बताउनुभयो । 

‘मलाई यहाँ आएर सहयोग गर्न मन थियो । त्यो पनि आफैंले जम्मा गरेको रकमले, त्यो सपना पूरा भएको छ’ अधिकारीले बताउनुभयो– ‘मैले केही वर्षदेखि नै खाजा खर्च, दशैँ, तिहार, जन्मदिन र अरु अवसरमा आफूले पाएको रकम जम्मा गरेर राखेकी थिए । त्यो रकम मलाई अन्यत्रभन्दा शरणार्थी शिविरमा सहयोग गर्न मन लागेर नेपाल आएकी हुँ । सहयोग गर्न पाउँदा खुसी लागेको छ ।’ 

उहाँ अमेरिकाबाट एकसाताको मात्र बिदा लिएर नेपाल आउनुभएको हो । कक्षा १२ अध्ययनरत अधिकारीको इच्छा १८औँ जन्मदिनको अवसरमा वितरण गर्ने थियो । त्यही इच्छा पूरा गर्न यसपटक नेपाल आएर  १४ लाख रुपैयाँ बराबरको कम्बल र शैक्षिक सामग्री वितरण गरेको उहाँले बताउनुभयो । नर्सरी कक्षादेखि ३ कक्षासम्मका बालबालिकालाई दुई वटा पेन्सिल, दुई वटा इरेजर, दुई वटा सार्पनर, दुईवटा एक सय पृष्ठका कपी र कलर पेन्सिलको एक प्याकेट र स्केलको एउटा प्याक बनाएर वितरण गरेको पत्रकार एवं समाजसेवी चुडामणी भट्टराईले बताउनुभयो ।  

त्यसैगरी कक्षा ४ देखि १० सम्मका लागि दुईवटा एक सय पृष्ठका कपी, ज्यामिति बक्स, दुईवटा कलमको प्याकेज तथा ११ र १२ कक्षाका विद्यार्थीलाई ठूलो साइजका दुईवटा नोटबुक, दुईवटा डटपेन र एउटा एडुकेट क्यालकुलेटरको प्याकेट बनाएर हस्तान्तरण गरेको भट्टराईले जानकारी दिनुभयो । 

सोनिया अधिकारी पनि झापाको टिमाई शरणार्थी शिविरमै जन्मनुभएको हो । डिल्ली अधिकारी र गोमा अघिकारीकी छोरी सोनिया चार वर्षको हुँदा आमाबुबासँगै अमेरिका पुग्नुभएको थियो । सोनियाका पिता डिल्ली अधिकारी समाजसेवाको क्षेत्रमा नेपाली समुदायकै अग्रणी व्यक्तित्व हुनुहुन्छ । 

शरणार्थीलाई पुनर्वास कार्यक्रमअन्तर्गत अमेरिका पुगेपछि व्यवसायमा लाग्नु भएका अधिकारीको नेतृत्वमा रहेको इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिका नामक गैरनाफामुलक संस्था खोले संसारभरका नेपाली जातिलाई सांस्कृतिक एकताको अभियान चलाइरहेको पत्रकार एवं समाजसेवी भट्टराईले बताउनुभयो । 

मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स नामका दुई रियालिटी शोमार्फत संसारभरका नेपाली जातिलाई नेपालसँग जोड्ने अभियान चलाइरहनु भएका अधिकारीले शरणार्थी शिविरमा बस्ने बृद्धबृद्धा र असक्तहरुलाई मासिक पाँच हजार रुपैयाँ वितरण गरिरहनुभएको छ । 

दमक नगरपालिका र पथरी नगरपालिकाका एम्बुलेन्स र शरणार्थी शिविरका विद्यालयमा पढाउने ३० जना शिक्षकको तलब पनि फाउण्डेशनले पनि बेहोर्दै आएको बताउनुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै