+

एकसिङ्गे गैँडा र बाघ हेर्दै ‘घुमौँ सौराहा’

चितवन । सौराहामा पर्यटक बढाउन यहाँ व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन् । पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् । 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गंगा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ’ उहाँले सौराहामा आउने चिनियाँ र भारतिय पर्यटकको सङ्ख्यासमेत उल्लेख्य रहेको भन्दै यी दुई देशमा समेत अभियान चलाइने बताउनुभयो । 

‘यो समयमा पनि ६० देखि ६५ प्रतिशत पर्यटक छन्, अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत बढी पर्यटक घुम्न यहाँ आएका छन्’ उहाँले भन्नुभयो । चीन र भारतसँगै तेस्रो मुलुकबाट पनि सौराहा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । सन् २०२३ मा ३ लाख पर्यटक सौराहा भित्रिएकामा सन् २०२४ मा ३ लाख ५० हजार पर्यटक भित्र्याउने योजना रहेको अध्यक्ष गिरीले बताउनुभयो । उहाँले जिप सफारी, हात्ती सफारी लगायतका कार्यक्रम भएपनि राष्ट्रिय निकुञ्जमा एउटा मात्रै जिप सफारीको रुट हुँदा पर्यटकलाई नयाँ गन्तव्य देखाउन नसकिएको बताउनुभयो । 

सरकारले निकुञ्जमा अन्य रुट पनि खुला गरिदिए पर्यटकको लागि राम्रो हुने गिरीको भनाइ छ । नेपालको सडक पूर्वाधार राम्रो नहुँदा पर्यटकको सङ्ख्या बढ्न नसकेको र हवाई यातायात पनि महँगो भएको अध्यक्ष गिरीको गुनसो थियो । उहाँले पर्यटकमा वृद्धि भएसँगै सौराहाको पर्यटन पुरानै लयमा फर्कने आशा पलाएको बताउनुभयो । 

क्षेत्रीय होटल संघका पूर्वअध्यक्ष दीपक भट्टराईले सौराहामा चिनियाँ र भारतीय पर्यटक बढेपछि उत्साह थपिएको बताउनुभयो । ‘यसरी नै पर्यटकको सङ्ख्या बढ्दै जाने हो भने व्यवसायबाट पलायन हुनुपर्दैन’ उहाँले भन्नुभयो– ‘थप लगानी र सम्भावनाका ढोका खुल्दै जान्छन् । देशभित्रका सडक समयमै निर्माण नहुँदा पर्यटकको बसाइ लम्ब्याउन सकिएको छैन ।’ सौराहामा पर्यटन आगमनमा वृद्धि भए पनि व्यवसायीले नयाँ गन्तव्य र वाह्य पर्यटकको बसाइ थप गर्न सक्नुपर्ने उहाँले बताउनुभयो । पर्यटकको बसाई लम्ब्याउनको लागि राष्ट्रिय निकुञ्जले एक पटक काटेको टिकट एक दिनको लागि मात्रै अनुमति दिने विषयमा परिमार्जन गरी पाँचदेखि सात दिनसम्मको लागि बनाउनुपर्ने बताउनुभयो ।  

सौराहाका रेष्टुराँमा विभिन्न खानाको स्वाद लिन आउने पर्यटकको चाप पनि उत्तिकै रहेको रेवानका सौराहाका अध्यक्ष धु्रव गिरीले बताउनुभयो । उहाँले सौराहामा सबै व्यवसायी मिलेर घुमौ सौराहा अभियान चलाउने तयारी गरिएको जानकारी दिनुभयो । ‘प्रणय दिवसको अवसर पारेर रेवानले सौराहामा फुड फेष्टिबलको आयोजना गर्दैछ’ उहाँले भन्नुभयो– ‘हामी धरै पर्यटक ल्याउने गरी तयारी गरिरहेका छौँ ।’ उहाँले नेपाल र भारतको सीमावर्ती क्षेत्रमा बढी प्रचारप्रसार गरेर पर्यटकलाई सौरहा आउन निम्ता दिइने बताउनुभयो ।  

सौराहाका होटल व्यवसायी माधव दुवाडीले अहिले २०१९ लाई बिर्सने गरी सौराहामा पर्यटकको आगमन भइरहेको बताउनुभयो । उहाँले पर्यटक आगमन वृद्धि भएसँगै सौराहाका होटल व्यवसाय फस्टाएको बताउनुभयो । उहाँले सौराहामा कार्यक्रम र सभा सम्मेलन गर्ने गतिविधि वृद्धि भइरहेको बताउनुभयो । 

सौराहामा मात्र साना–ठूला गरी १ सय ४१ होटल छन्  । दैनिक ६ हजार ४ सय २६ पर्यटक बस्न मिल्ने क्षमता सौराहामा छ । यहाँ नयाँ होटल पनि खुल्ने क्रम जारी छ । यहाँ करिब २ सय रेष्टुराँ छन् । रेवानमा मात्रै ६५ रेष्टुराँ  छन् ।  चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभित्र दुर्लभ एकसिङ्गे गैँडा, बाघ लगायत वन्यजन्तु हेर्न पर्यटक आउँछन् । जङ्गल सफारी गर्ने, नदीमा डुङ्गा सयर गर्ने र निकुञ्जमा पदयात्रा गर्ने पर्यटकको मुख्य उद्देश्य रहने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै