+

बीआरआईको नाममा नयाँ ऋण नलिने कांग्रेसको निर्णय

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले बीआरआईको नाममा नयाँ ऋण नलिने निर्णय गरेको छ । 

कांग्रेसले  चिनियाँ सरकारले अनुदानमा गरेका प्रतिवद्धता पूरा नभएसम्म बीआरआईको नाममा नयाँ ऋण लिन नहुने निर्णय गरेको हो । कांग्रेसले  ‘नेपालको विद्यमान आर्थिक अवस्था र सुधारका उपाय’बारे आज अर्थविद र परराष्ट्र मामिलाका जानकारसँग छलफल गरेपछि बीआरआईका नाममा नयाँ ऋण लिन नहुने निश्कर्ष निकालेको हो । 

पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले छलफलपछि संचारुकर्मीहरुसँग कुरा गर्दै यसअघिका चिनियाँ प्रतिवद्धता पूरा गर्नुपर्ने बताउनुभ्यो  ।  ‘बीआरआईका विषयमा कांग्रेसले दोधारे भएको होइन, अहिले ऋण लिन सकिँदैन भनेको मात्रै हो’  उहाँले भन्नुभयो – ‘अबचाहिँ कस्तो सहयोग गर्ने भन्ने कुरा आउँदाखेरि हामी के चाहन्छौं भने कनेक्टिभिटीको कुरा आउँदा शुरुमा सडकमा अनुदान सहयोग लिनुपर्‍यो, अनुदानमै धेरै प्रतिबद्धता चिनियाँ सरकारले गरेको कैयौं कार्यान्वयन भएको छैन । त्यसलाई कार्यान्वयन गर्नुपर्‍यो ।’

पूर्वमन्त्री  महतले चीनले विभिन्न पटक दिने भनेको ‘अनुदान अहिलेसम्म कार्यान्वयन  नभएको टिप्पणी गर्नुभयो । ‘अनुदानमै कार्यान्वयन नै कार्यान्वयन भएको छैन, अहिले ऋणको कुरा गरेर के अर्थ छ ?’ उहाँले भन्नुभयो – ‘अहिले फेरि ऋणको भार पनि बढिरहेको छ । त्यसकारण चिनियाँ सरकारसँग मात्रै होइन कि जुनसुकै सरकारसँग पनि अहिले हामी ऋण लिने कुरामा जानुहुन्न ।’

पूर्वमन्त्री महतले चिनियाँ सरकारसँग बीआरआईअन्तर्गतकै अनुदान कार्यान्वयन गर्ने तर, तत्काल ऋण लिन नहुने  दोहोरर्याउनुभयो । ‘बीआरआई फ्रेमवर्कको जुन कुरा भइराखेको छ, त्यसमा अरु रणनीतिक सुरक्षाका कोण, अरुखाले विषयवस्तु एउटा प्लटमा जान खोजेको हो कि या के हो ? भन्नेचाहिँ हिसाबको कुरा हुनुपर्छ भन्ने हाम्रो कुरा हो’ उहाँले भन्नुभयो – ‘खास गरेर अहिले अनुदान नै कार्यान्वयन गर्नुपर्छ, बीआरआई अन्तर्गतकै अनुदान कार्यान्वयन गर्नुपर्छ, ऋणचाहिँ लिन हुँदैन भन्ने हो ।’

सत्ता साझेदार दल नेकपा एमालेसँग बीआरआईको विषयलाई लिएर विमति  भइरहेको अवस्थामा कांग्रेसले नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा अर्थविद र परराष्ट्र मामिलाका जानकारहरुसँग छलफल कार्यक्रम आयोजना गरेको हो ।

छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेताहरु प्रकाश शरण महत, उदय शम्शेर राणा, चीनकाजी श्रेष्ठ लगायतका नेताहरु सहभागी हुनुहुन्थ्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट