
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ ।
भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो ।
भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताउनुभयो ।
धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पु¥याउँदै आएका थिए । ‘पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडी चलेका छैनन्’ स्थानीय न्यौपानेले भन्नुभयो– ‘जनताले साह्रै दुःख पाए, सरकारले पुल मर्मत गर्ने या अर्को पुल बनाउने बारेमा कुनै चासो दिएन ।’
भूटान, भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, आसाम लगायतका स्थानबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल प्रयोग गर्न सोही सडक प्रयोग गर्दै आएका थिए । अब उनीहरुले विर्तामोड र चारआलीको अर्को लामो सडक प्रयोग गर्नुपरिरहेको छ । ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थी यातायात अवरुद्ध हुँदा सकसमा परेका छन् । भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किने गरेका छन् । आफ्ना छोराछोरीलाई लिन ज्यामिरगढीका अभिभावक पुलसम्मै मोटरसाइकल र सिटी सफारी लिएर पुग्न बाध्य छन् ।
यसैबीच भद्रपुर र मेचीनगर नगरपालिकाका नगर प्रमुखद्वय गणेश पोखरेल र गोपाल बुढाथोकीले आइतबार भ्वाङ परेको पुलको निरीक्षण गर्नुभएको छ । विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुवै नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ ।
‘एउटा नगरपालिकाले अर्कोलाई देखाएर समस्याबाट फुत्किने जुक्ति मात्र लगाएर हुँदैन’ भद्रपुर–९ निवासी राहुल राजवंशी भन्नुुहुन्छ– ‘करोडौँको बजेट बनाउने नगरपालिकाले भत्किएको पुलसमेत टाल्न नसक्दा यो अवस्था आयो ।’
नगरपालिकाहरुले पूर्वाधार शुल्क भनेर सवारी साधनबाट कर उठाउने गरेको जनाउँदै राजवंशीले पुल मर्मत गर्ने दायित्वबाट दुवै नगरपालिका पन्छिन नहुने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री