
काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसभामुख दमननाथ ढुङगानाको शोकमा पार्टीको झण्डा दुई दिन आधा झुकाउने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको आकस्मिक बैठकले पूर्वसभामुख दमननाथ ढुङगानाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार भएको निधनले कांग्रेस मर्माहत र स्तब्ध भएको निर्णयमा उल्लेख गरिएको छ । नेपालमा लोकतान्त्रिक व्यवस्था र गणतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएका ढुङ्गाना विसं २०४८ को आमनिर्वाचनमा कांग्रेसका तर्फबाट काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भई २०५१ सम्म प्रतिनिधिसभाको सभामुख हुनुहुन्थ्यो ।
यसैगरी उहाँ विसं २०५१ मा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर २ र २०७४ मा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार हुनुहुन्थ्यो । नेपाली कांग्रेसका विभिन्न पदमा रहेर उहाँले पार्टीको सङ्गठन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।
माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रूपमा समेत उहाँले सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । मानव अधिकार, न्याय क्षेत्र र लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि ढुङ्गानाले पु-याउनुभएको योगदान सदैव स्मरणीय रहने बैठकपछि कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ । उहाँको निधनबाट सिङ्गो देशले वरिष्ठ कानुनविद्, मानव अधिकारकर्मी, एक अथक योद्धा, निष्ठावान एवं अनुभवी राजनीतिज्ञ गुमाएको छ ।
पूर्वसभामुख ढुङ्गानाको निधनप्रति केन्द्रीय कार्यसमिति बैठकले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ । दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।
स्वर्गीय ढुङ्गानाप्रति सम्मान प्रकट गर्दै कांग्रेसले आज र भोलि दुई दिनसम्म पार्टीको केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने भएको छ । मङ्सिर ४ गते मङ्गलबारका दिन केन्द्रीय कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३औँ दिनमा केन्द्रमा शोकसभाको आयोजना गर्ने निर्णय पनि गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति