
ओखलढुङ्गा । नेपाली कांग्रेस र नेकपा एमालेको सत्तासमीमरणको प्रभाव निर्वाचनमा समेत देखिएको छ ।
सत्ता सहयात्राकै कारण एमाले जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुखमा समेत कांग्रेसलाई छाडेको छ । ओखलढुङ्गा जिससमा यसअघि एमालेकै नेतृत्व थियो ।
तत्कालीन जिल्ला समन्वय प्रमुख डिल्लीराम खनालको डेढ वर्षअघि निधन भएपछि पद रिक्त हुन पुगेको हो । रिक्त रहेको जिजस प्रमुखपदमा हुन लागेको उपनिर्वाचनमा एमालेले कांग्रेसलाई सहयोग गर्दै उम्मेद्वार नउठाउने निर्णय गरेको छ ।
कांग्रेसले जिल्ला समन्वय समिति प्रमुखमा टेकराज भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । केहीबेरमा उम्मेदवारी दर्ताको तयारी छ । उपनिर्वाचनअन्तर्गत मनोनयन दर्ताको अघिल्लो दिन नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको सत्तागठबन्धन दल नेपाली कांग्रेस र एमालेको जिल्लास्तरीय बैठकमा कांग्रेसलाई समन्वय प्रमुखमा सघाउने र आफ्नो उम्मेद्वार नउठाउने विषयमा एमाले नेताहरु सहमत भएका हुन् ।
जिल्लाका आठ स्थानीय तहका १६ प्रमुख उपप्रमुखमध्ये कांग्रेसकोतर्फबाट पाँच पालिका प्रमुख र चार उपप्रमुख गरी नौ जनाले जितेका छन् । एमालेले एक पालिका अध्यक्ष, चार उपप्रमुखसहित पाँच, माओवादीले एक अध्यक्ष र जसपाले एक अध्यक्ष जितेका छन् । जिससका मतदाता नै पालिका प्रमुख उपप्रमुख मात्रै हुने भएकाले कांग्रेसको एकल बहुमत छ ।
एमालेले उम्मेदवार नउठाएपछि कांग्रेस उम्मेदवार टेकराज भट्टराई सर्वसम्मत अबको साढे दुई वर्ष जिसस प्रमुख बन्नुहुने भएको छ । आठ स्थानीय तह रहेको ओखलढुङ्गामा नगरपालिका र गाउँपालिकाको प्रमुख, उपप्रमुखमा कांग्रेसकै बहुमत रहेको र जिससको नेतृत्वमा हालसम्म कांग्रेसकै उम्मेदवार निर्वाचित भएको जिल्लाको परिस्थिति तथा केन्द्रको सत्तागठबन्धनको नीतिअनुसार जिसस प्रमुखको उपनिर्वाचनमा एमालेले आफ्नो उम्मेद्वार नउठाएको एमाले जिल्ला कमिटी उपाध्यक्ष कमलप्रसाद न्यौपानेले बताउनुभयो ।
जिल्लामा उपनिर्वाचन हुने मोलुङ–५ को वडाध्यक्षमा भने स्वच्छ प्रतिस्पर्धा हुने उपाध्यक्ष न्यौपानेको भनाइ छ । ‘जिसस प्रमुखको दाबेदार पार्टीभित्र थुप्रै हुनुहुन्छ, तर मतदाता सङ्ख्याको अङ्कगणित र केन्द्रीय सत्तासाझेदार दल भएका हिसाबले भिड्नुभन्दा मिल्नु नै उपयुक्त ठानेर जिससमा उम्मेदार अघि सारिएन’ उपाध्यक्ष न्यौपानेले भन्नुभयो– ‘मोलुङ–५ को वडाध्यक्षमा हामी कांग्रेससँगै भिड्दैछौँ ।’ मोलुङ–५ मा कांग्रेसको विरासत तोड्ने गरी एमालेले सर्वसम्मत वडाबाटै उम्मेदवार तय गरेको उहाँको दाबी छ ।
मोलुङ–५ एमालेका केन्द्रीय सदस्य तथा दुई पटक सङ्घीय सांसद बनेका नेता यज्ञराज सुनुवारको वडा भएकाले पनि एमालेलाई जित्नैपर्ने दबाब छ । यद्यपि यसअघिका २०७४ र २०७९ का निर्वाचनमा यो वडा कांग्रेसले जितेको थियो । मोलुङ–५ का वडाअध्यक्ष गोपीकृष्ण कार्कीको निधन भएपछि रिक्त पदमा एमालेका गङ्गाबहादुर तामाङ र कांग्रेसका घनश्याम दाहाल मुख्य प्रतिस्पर्धी बनेका छन् ।
यो वडामा राप्रपा र रास्वपाले पनि उम्मेदवार उठाउने तयारी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री