
कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश अनेक सम्भावनाको क्षेत्र भएको बताउनुभएको छ ।
उद्योग वाणिज्य सङ्घ सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित ४१ औँ साधारणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मूल्यवान् कृषि, पर्यटन, जल, जङ्गल र जडीबुटी तथा भाषा, संस्कृति र पुरातत्वका हिसाबले कर्णाली प्रदेश प्रशस्त सम्भावनाको स्रोत भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मुगु रारालाई सिरानमा राखेर कर्णाली करिडोर र डोल्पाको शे–फोक्सुण्डोलाई सिरानमा राखेर भेरी करिडोरमार्फत धेरैभन्दा धेरै मान्छे त्यहाँ लिन सकिन्छ ।”
मुख्यमन्त्री कँडेलका अनुसार हुम्लाको खार्पुनाथ नदीमा मात्र बेलिब्रिज जोड्न सके तीन/चार महिनामा सुर्खेतदेखि हिल्सासम्म एउटै गाडीबाट पुग्न सकिने अवस्था छ । हराउने खालको नभई देखिने तीन क्षेत्र : कृषि, पर्यटन र लघु घरेलु उद्योगहरूमा परम्परागत सीपलाई पुस्तान्तरण गरेर रोजगार सिर्जना गर्नेदेखि आर्थिक क्रियाकलाप बढोत्तरी गर्ने सोचअनुसार प्रदेश सरकारले आगामी वर्षदेखि योजनाबद्ध ढङ्गले अगाडि बढ्ने र चालु आर्थिक वर्षमा पनि आवश्यक बजेट विनियोजन गरी आर्थिक विकास गर्न सकिने उहाँको भनाइ थियो ।
मगन्तेका रूपमा नभई आवश्यकता आधारमा सूची बनाएर चार लेनको कोहलपुर–सुर्खेत, दुई लेनको सुर्खेत–हिल्सा, सुर्खेत–डोल्पा, गमगढी–सिमकोट, भेरी पम्पिङ, जाजरकोट रुकुमपश्चिममा भूकम्पको पुनः निर्माण र सुर्खेत विमानस्थल विस्तार गरी यहाँदेखि हिमाली जिल्लामा हवाई सेवा दिनुपर्ने कुराको पैरवी सङ्घीय सरकारसँग भइरहेको जिकिर गर्दै उहाँले प्रदेश सरकारले आफ्नो क्षेत्रबाट गर्ने प्रयत्न गरेको जनाउनुभयो ।
कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, खनिज, जलस्रोत, पूर्वाधारको विकास र निर्माणका बारेमा तयार गरिएको उद्योग वाणिज्य सङ्घको प्रतिवेदनमा समाविष्ट विषयहरू प्रदेश सरकारका लागि सन्दर्भ सामग्री हुने भन्दै मुख्यमन्त्री कँडेलले आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने आश्वासन दिनुभयो । प्रदेश सरकार मन्त्री, सचिव, कर्मचारी र निर्माण व्यवसायीलाई सँगै राखेर पुरस्कार लिनेगरी आफ्नो जिम्मेवारी पूरा गर्नूस् काम गर्न अतिरिक्त शुल्क कसैले तिर्न पर्दैन भनेर स्पष्टसँग भनेको उहाँले बताउनुभयो ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले सरकार सफल हुनुमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सरकार, निजी क्षेत्र र सहकारीको साझा प्रयासबाट मुलुकको विकास र समृद्धि हुन सक्ने उहाँको भनाइ थियो । उक्त साधारणसभामा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सुरेश अधिकारी, उद्योगी, व्यवसायी तथा नागरिक अगुवाहरुको सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति