
पाल्पा । रामपुरका गोविन्दप्रसाद दुवाडीले एक मौसममा प्याजका बिरुवा बेचर एक लाख ५० हजार रुपैयाँ भन्दा बढी आम्दानी गर्नुहुन्छ । २८ वर्षदेखि व्यावसायिक रूपमा प्याजका बिरुवा उत्पादन गर्दै आउनुभएका उहाँ गाउँमा असल बिरुवा उत्पादक किसानका रूपमा चिनिनुहुन्छ ।
रामपुर नगरपालिका–३ गण्डकीढिकस्थित कालीगण्डकी करिडोरको सडक छेउमा दुवाडीको घर छ । करिब एक रोपनी जग्गा प्याजका बिरुवा उत्पादन गर्न छुट्याएको उहाँले बताउनुभयो । लामो समयदेखि निरन्तर रूपमा नर्सरी तयार गरी प्याजका बिरुवा उत्पादन तथा बिक्री गर्दै आएको उहाँको भनाइ छ । उहाँका अनुसार बिरुवा बिक्री गरेर एक सिजनमा एक लाख ५० हजार रुपैयाँ बढी आम्दानी हुन्छ ।
‘बिरुवा उत्पादन गर्न धेरै समय नलाग्ने, कम लगानीमा मनग्ये आम्दानी लिन सकिन्छ’ दुवाडीले भन्नुभयो– ‘स्थानीय तथा बाहिरबाट आउने व्यापारीले यहाँबाट बिरुवा खरिद गरी लैजानुहुन्छ ।’ प्याज खरिद गर्न आउने ग्राहकले बन्दा, काउली, ब्रोकाउली, गोलभेँडालगायत बिरुवा खोज्ने भएकाले यी बिरुवा पनि उत्पादन थालेको उहाँले जानकारी दिनुभयो ।
दुवाडीका अनुसार प्याज एकरुपैयाँ को तीनवटा, काउली पाँच रुपैयाँको एउटा, हाइब्रिड बन्दा पाँच रुपैयाँको एउटा, स्थानीय बन्दा ५ रुपैयाँको दुईवटा, ब्रोकाउली १० रुपैयाँ को एउटाको दरले बिक्री भइरहेको छ । ‘प्याजका बिरुवा उत्पादनलाई प्रमुख व्यवसाय बनाएको छु । यहाँ आउने ग्राहकको सजिलोका लागि अन्य तरकारीका बिरुवा पनि उमार्ने गरेको हुँ’ उहाँले भन्नुभयो– ‘एकै ठाउँमा आफूलाई चाहिएको सबै जातका बिरुवा पाइने भएपछि ग्राहकलाई पनि सहज भएको छ ।’
आफूले रोप्न बिरुवा खरिद गर्दा रोजेर लैजान नदिएपछि अर्को वर्षदेखि आफैँले उत्पादन थालेको दुवाडीले बताउनुभयो । आधाकिलो प्याजको बिउबाट व्यवसाय सुरु गरेको भन्दै बिरुवा उत्पादन राम्रो हँुदै गएपछि क्षेत्रफल पनि बढाउँदै लगेको उहाँले उल्लेख गर्नुभयो ।
यहाँ उत्पादित बिरुवा काठमाडौँ, पोखरा, नारायणगढ, तानसेन, बुटवल, स्याङ्जा, तनहुँ, नवलपरासीलगायत विभिन्न स्थानमा खपत हुने गरेको छ । यसवर्ष एक लाख ५० हजार रुपैयाँ बढीको आम्दानी हुने अनुमान गरिएको उहाँकी श्रीमती मतिकला दुवाडीले बताउनुभयो । बिरुवा उखेल्ने र बिक्री गर्ने काममा श्रीमान्श्रीमती दिनभर खटेर काम गर्नुहुन्छ ।
यात्रुले गाडी रोकेर बिरुवा खरिद गर्नाले उहाँहरूलाई उखेलेर बेच्न भ्याइनभ्याइ हुने मतिकलाले बताउनुभयो । ‘यात्रुले हरियाली बिरुवा देखेपछि गाडी रोकेर लैजाने गर्नुहुन्छ । हामीले तयारी बनाएर राखिदिने गरेका छौँ’ उहाँले खुशी हुँदै भन्नुभयो ।
रामपुर–६ स्थित प्याक्लुक बस्ने राधिका बस्यालले पनि करिब एक रोपनी जग्गामा नर्सरी तयार पारेर बिरुवा उत्पादन गर्नुहुन्छ । प्याज, काउली, बन्दा, ब्रोकाउली, गोलभेँडा उत्पादन सँगसँगै हुने भएकाले एक सिजनमा एक लाख रुपैयाँ बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो । तरकारी खेतीको तुलनामा छोटो समयमा बढी आम्दानी हुने भएकाले बिरुवा उत्पादनमा जोड दिएको उहाँको अनुभव छ ।
पछिल्लो समय घरायसी प्रयोजनका लागि घर–घरमा काउली, बन्दा, ब्रोकाउली, प्याज, गोलभेँडा लगायत बिरुवा लगाउने चलन बढेकाले बजारीकरणको समस्या नभएको बस्यालले बताउनुभयो ।
छोटो समयमा धेरै आम्दानी गर्न सकिने भएकाले पछिल्लो समय बिरुवा उत्पादनमा किसानको आकर्षण बढेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताउनुभयो ।
ठूलो परिमाणमा उत्पादन गर्ने किसानलाई शाखाबाट प्राविधिक तथा तालिम लगायतमा सहयोग गरिने उहाँको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति