
बाँके । बाँकेमा कोदोखेतीको सफल परीक्षण गरिएको छ । सामुदायिक जिन बैंक सञ्जालले बैजनाथ गाउँपालिका–१ चिसापानीस्थित गाभर भ्यालीमा कोदोखेतीको सफल परीक्षण गरेको हो । बैजनाथको चिसापानीमा गत साउनमा रोपिएको कोदो अहिले लहलह झुलेको छ ।
पहाड र हिमालको चिसो मौसममा मात्रै उत्पादन हुने कोदोको गर्मी हुने तराईमा सफल खेती गरिएको हो । ‘हामी दैलेखबाट बसाइ सरी बाँके आएको झण्डै दुई दशक भयो, अहिलेसम्म यहाँ कोदोखेती भएको देखेको थिइन’ बाँके सैनिकका रामबहादुर बुढाले भन्नुभयो– ‘गाभर भ्यालीमा कोदो फलेको देखेपछि मलाई पनि खेती गर्न मन लागेको छ ।’
सामुदायिक जिन बैंक सञ्जालका संयोजक पुरमल बस्नेतका अनुसार डेढ कट्ठाभन्दा बढी जग्गा भाडामा लिएर कोदोका विभिन्न प्रजातिको बिउ परीक्षणका लागि रोपिएको थियो । उहाँले भन्नुभयो– ‘एक÷दुई प्रजातिबाहेकका प्रजातिको सफल खेती भएको छ ।’ उहाँले मङ्सिरको पहिलो सातातिर कोदो काट्ने योजना रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कोदोखेतीको सफल परीक्षणले हामीलाई उत्साहित बनाएको छ । आगामी दिनमा तराईमा पनि कोदो उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।’
बस्नेतका अनुसार पाँच वटा प्रजाति जिन बैङ्कले परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुईवटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई प्रजाति किसानले उत्पादन गरेका कोदोका जात छन् । ‘नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का प्राविधिकसँगको समन्वयमा परीक्षण गरिएको हो, उहाँहरु मङ्सिर पहिलो साता आउनुहुनेछ, उहाँहरु आएपछि टिप्ने योजना बनाएका छौँ’ बस्नेतले भन्नुभयो । रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी यसको परीक्षण उत्पादन गरिएको उहाँको भनाइ छ ।
विसं २०७८ मा चिसापानीको गाभर भ्यालीमा नेपालमै पहिलो सामुदायिक जिन बैङ्क स्थापना गरिएको थियो । जिन बैङ्कका सचिवसमेत रहनुभएका घरबास सञ्चालक सङ्घका महासचिव कृष्ण चौधरीले गाभर भ्यालीमा कोदोखेतकिो सम्भावना देखिएकाले परीक्षण गरिएको र त्यो सफल भएको बताउनुभयो ।
जिन बैङ्कले तराईमा कोदोसँगै विभिन्न रैथाने अन्नबाली, वनस्पति, पशुपन्छी, मौरी, सूक्ष्म जीवाणु र जलीयकुण्ड क्षेत्रमा काम गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति