
हेटौँडा । ‘पशुपालन नगरे पनि मलको कमी छैन’ यहाँको मनहरी गाउँपालिका–७ की कृषक विमला राईले भन्नुभयो– ‘पहिले पशुपालन गर्दा अरू काम गर्नै भ्याउँदिन थिएँ । पशु नपालौँ खेती गर्न मल धेरै चाहिने । अहिले त्यो समस्या छैन, ढुक्क छु ।’
हाल होटल व्यवसायसँगै खेती गरिहरनुभएकी उहाँको आर्थिकस्तर पहिलेको तुलनामा सुध्रिएको छ । वनको छेउमै घर हुँदा तीन वर्ष अघिसम्म हिउँद लागेपछि डढेलोले घर भेट्ला कि भन्ने चिन्ता हुन्थ्यो । छिमेकीको गोठमा आगो लागेपछि निकै रातसम्म अनिँदो बसेको उहाँले बिर्सनुभएको छैन ।
यी समस्याका समाधान खोज्ने क्रममा वन समूहले पत्करबाट मल उत्पादन गर्न थालेपछि डढेलो लाग्न छोडेको उहाँ बताउनुहुन्छ । उहाँ वन समूहको आयआर्जन समूहमा पनि आबद्ध हुनुहुन्छ । आयआर्जन कार्यक्रममा ‘ग्रिन फाउन्डेसन नेपाल’ (जिएफएन) नामक संस्थाले सहयोग गरिरहेको छ ।
सुनाचुरी सामुदायिक वनकी उपभोक्ता सरिता ब्लोन पनि वनमा गरिएको कागती, तेजपत्ता, अम्रिसोखेतीले आम्दानी गर्न सहज भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ– ‘पहिले वन संरक्षण मात्र गर्ने होजस्तो लाग्थ्यो तर यहाँ खेती पनि गर्न पाउँदा आम्दानीको स्रोत बनेको छ ।’ उहाँले २० वटा बाख्रा पाल्नुभएको छ । बाख्रालाई घाँस लिन टाढा जान पर्दैन । बाख्राबाट पनि आम्दानी भइरहेको उहाँको भनाइ छ ।
पशुपति सामुदायिक वन उपभोक्ता समूहले हाइटेन्सन मुनि रुख नभएका स्थानमा जडीबुटी र घाँसखेती गरेको छ । जिएफएनको सहयोगमा अदुवा, बेसार र सर्पगन्धाको खेती गरिरहेको समूहकी अध्यक्ष चम्पामाया परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘यहाँ यसरी आम्दानी हुन्छ जस्तो लागेको थिएन, गर्दा नहुने केही रहेनछ ।’ जडीबुटीसँगै यस वर्ष अदुवा पनि खेती गरिएको उहाँले बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ मकवानपुरका अध्यक्ष साधुराम चौलागार्इंले मनहरी गाउँपालिकाका तीनवटा सामुदायिक वनमा खेती र मल उत्पादन गरिएको बताउनुभयो । वनबाट समृद्ध बन्ने र जलवायु परिवर्तनको असर कम गर्ने अभियानअन्तर्गत यहाँका डिपार्ट सामुदायिक वन, पशुपति सामुदायिक वन र सुनाचुरी सामुदायिक वनले वनक्षेत्रभित्र खेती र मल उत्पादन गरिरहेको छ ।
वनमा आधारित ३७ उद्यमहरुलाई दिगो बनाउँदै बजारसँग जोडेर हरित उद्यम विकास गर्न सहयोग गरिरहेको जिएफएनका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार जिएफएनले वनकरिया साबुन उद्योग, पिप्लेपोखरा सामुदायिव वनमा रहेको श्रमजीवी महिला काष्ठ हस्तकला, हेटौँडा–१२ मा कञ्चनजङ्घा गुन्द्रुक उद्योग, न्युरेनी सामुदायिक वनमा रहेको दुना टपरी उद्योग र थाहा नगरपालिकाको अल्लो उद्योगको उत्पादन र बजारीकरणमा सहयोग गरिरहेको छ ।
पानीका मुहान सुक्न थालेपछि मनहरी गाउँपालिकाका सामुदायिक वनहरुले पुनर्भरण (रिचार्ज) पोखरी निर्माणलाई प्राथमिकता दिएको छ । डिभिजन वन कार्यालय राप्ती मनहरीले डिभिजनअन्तर्गतका सामुदायिक वनमा मुहान संरक्षण गर्न रिचार्ज पोखरी निर्माण गरिरहेको जनाएको छ ।
उपभोक्ताले दैनिक पिउने पानीका स्रोत सुक्दै जानु र वनमा जनावरहरुले पानी खान नपाउँदा समस्या भएकाले रिजार्च पोखरी निर्माणलाई प्राथमिकतामा राखिएको डिभिजन वन कार्यालयका अधिकृत गगन शर्माले बताउनुभयो । गत आर्थिक वर्षमा सातवटा सामुदायिक वन समूहमा आठवटा रिजार्च पोखरी निर्माण गरिएका छन् ।
चुरे तथा सुक्खा क्षेत्रमा रिचार्ज पोखरी निर्माण गरेपश्चात् पानीको मुहान संरक्षण र वन्यजन्तुका लागि पानीको उपलब्धतामा सहज भएको छ । वन अधिकृत शर्माले भलबाढीका कारण पोखरी पुरिँदा थोरै समस्या हुने गरेको बताउनुभयो । सामुदायिक वनमा जैविक विविधता संरक्षणका लागि वृक्षरोपण र संरक्षण गरिएको छ ।
लोपोन्मुख विजयसाल, सतिसाल, दार, चिउरी तथा बहुउपयोगी नीम रोपिएको छ । लोपोन्मुख वन्यजन्तु सालकको संरक्षणमा विशेष जोड दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह