+

नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित

नवलपरासी । नवलपुरका किसान मौरीपालनतर्फ आकर्षित भएका छन् ।  देवचुली नगरपालिका–७ का सुकबहादुर गुरुङको दैनिकी अहिले मौरीको स्याहारसुसार गर्दै बित्ने गरेको छ । १५ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका गुरुङसँग एक सय २० मौरीका घार छन् । 

शुरुका वर्षमा थोरै सङ्ख्याबाट सुरु गरेको मौरीपालन व्यवसाय अहिले धेरै विस्तार भएको गुरुङले बताउनुभयो । वर्षामा खाना तथा परजीवीको अभाव हुँदा केही समस्या हुने भए पनि अन्य समयमा मौरीपालन गर्न सहज हुने उहाँको भनाइ थियो । “तालिम लिएपछि व्यावसायिक मौरीपालन गर्न सहज भएको छ”, गुरुङले भन्नुभयो, “हिजोआज उत्पादन भएको मह बिक्रीका लागि बजार पुग्नु पर्दैन, घरबाटै बिक्री हुने गरेको छ ।”

देवचुली नगरपालिका–९ का किसान विष्णुबहादुर खड्काले ५ घारबाट शुरु गर्नुभएको मौरीपालन अहिले २१ घार भएका छन् । बाख्रापालनसँगै मौरीपालन गर्दै आउनुभएका खड्काले पहिलोपटक ८४ किलो मह उत्पादन भएको भन्दै दोस्रोपटक एक क्विन्टल २० किलो उत्पादन भएको जानकारी दिनुभएको छ ।  “५ घारबाट थालेको मौरीपालन व्यवसायलाई थप वृद्धि गरी २१ पु¥याएको छु । आम्दानी पनि मनग्य भएको छ । अर्को वर्ष ५० घार बनाउने लक्ष्य रहेको छ”, उहाँले भन्नुभयो ।

देवचुली–९ का जस्मती रानाले मौरीपालन गर्न थालेको तीन वर्ष भयो । दुई घारबाट सुरु गर्नुभएको मौरीपालन अहिले १५ घारमा पुगेको रानाले बताउनुभयो । “मौरीपालनबाट राम्रो आम्दानी हुँदै गएकाले सन्तुष्ट छौँ । पहिलो वर्ष एक क्विन्टल र दोस्रो वर्ष दुई क्विन्टल मह बिक्री भयो”, उहाँले भन्नुभयो, “प्रतिकिलो ७ सय रुपैयाका मह बिक्री हुन्छ ।” 

असार, साउनमा एकपटक चास्नी दिने र रानी उत्पादन गर्दा हेरविचार गरे पुग्ने भएकाले कम समय र मेहनतमा मौरीपालन गर्न सजिलो भएको रानाले बताउनुभयो । एउटा घारबाट वार्षिक ४० देखि ६० केजीसम्म मह उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो ।

थोरै लगानीबाट व्यवसाय शुरु गर्न सकिने र अन्य व्यवसायभन्दा सहज हुने भएपछि जिल्लामा मौरीपालनतर्फ किसानको आकर्षण बढ्दै गएको छ । नमा अहिले करिब २ सय किसान मौरीपालन व्यवसायमा आबद्ध रहेका नेपाल मौरीपालक किसान महासङ्घ नवलपुरका अध्यक्ष यदुवलपुरनाथ कँडेलले जानकारी दिनुभयो । “जिल्लामा पाँच हजार मौरीका घार छन् । बर्सेनि यो व्यवसायमा लाग्ने किसानको सङ्ख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “जिल्लामा वार्षिक करिब ५० मेट्रिक टन मह उत्पादन हुने गरेको छ ।”

यो वर्ष जिल्लामा मौरीपालक किसानको सङ्ख्या बढेकाले मह उत्पादन पनि वृद्धि हुने अनुमान गरिएको कँडेलले बताउनुभयो । उत्पादित मह स्थानीय बजारका साथै छिमेकी जिल्लामा खपत हुने गरेको उहाँले बताउनुभयो ।

नवलपुरक८ स्थानीय तहमध्ये कावासोती, देवचुली र गैँडाकोट नगरपालिकामा व्यावसायिक मौरीपालन गर्ने किसानको सङ्ख्या धेरै रहेको अध्यक्ष कँडेलले जानकारी दिनुभयो । मौरीपालनबाट पर्याप्त आम्दानी लिन सकिने भए पनि चरनको समस्या रहेको उहाँको भनाई छ । “स्थानीय रूपमा चरनको समस्या हुँदा विभिन्न ठाउँमा लैजानुपर्ने बाध्यता छ । दाङ, कपिलवस्तु, प्यूठान, सल्यानसम्म मौरी चराउन लैजाने गरिएको छ”, कँडेलले भन्नुभयो । तोरी फुल्ने समयमा केही सहज भए पनि अन्य याममा चरनका लागि समस्या हुने गरेको उहाँले बताउनुभयो । 

फूल तथा बोटबिरुवा लगाउने क्रम घट्दै जाँदा चरन क्षेत्र साँघुरिँदै गएको अध्यक्ष कँडेलको भनाई छ  । रुदिलो, फापर, फिलिङ्गे, सिलाम, सूर्यमुखी, चिउरीलगायत बोटबिरुवा मौरी चरनका लागि उपयुक्त हुने भए पनि कतिपय बोटबिरुवा पाउनै छाडेको किसान बताउँछन् । किसानले फूल खेती गर्न छाडेकाले मौरीपालक किसानलाई समस्या हुने गरेको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै