
चितवन । उन्नत जातका गाईको बाच्छा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । जन्मेपछि पालनपोषण गरेर पनि उपयोग नहुने भएपछि किसानका लागि बाच्छा व्यवस्थापन झन्झटिलो बनेको हो ।
खेतबारी जोत्न पनि उपयोगमा नआउने भएकाले कतिपयले बाच्छा जङ्गलमा लगेर छाड्ने गरेका छन् । कालिका नगरपालिकाका राधेश्याम खतिवडा घरमा पालिएको उन्नत जातको गाईको बाच्छो हिँड्डुल गर्नसक्ने भएपछि थोरै रकम दिएर पठाउने गरिएको बताउनुहुन्छ । उहाँले भन्नुभयो– ‘लगेका मानिसले के गर्छन् थाहा छैन, तर ५ सय–देखि १ हजार रुपैयाँ दिएर पठाउने गर्छौँ ।’ बाच्छी मात्रै जन्मिने सिमेन (वीर्य) पाइने भएकाले त्यसतर्फ राज्यले ध्यान दिन सके यो समस्या हट्ने उहाँको भनाइ छ ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगाले उन्नत जातका गाई पाल्ने सबैका लागि यो जटिल समस्याका रुपमा रहेको बताउनुहुन्छ । आफूले तीनवटा बहर पालिरहेको बताउँदै उहाँले भन्नुभयो, ‘त्यत्तिकै पठाउन सकिँदैन, पालेर पनि प्रतिफल पाइँदैन ।’
भर्खर जन्मिएका बाच्छालाई २० दिनदेखि एक महिनाभित्रमा नाम्ले जुकाको औषधि खुवाउने गरिन्छ । कतिपयले त्यो औषधि नखुवाएर बाच्छाको ज्यान जाने गरेको उहाँको भनाइ छ । उहाँले थप्नुभयो– ‘किसानका लागि उन्नत जातका गाईको बाच्छो निकै जटिल छ ।’
पशु सेवा कार्यालय चितवनका प्रमुख सुशील केसी बाच्छी मात्रै जन्माउनका लागि ‘सेक्सड् सिमेन’ प्रयोग गर्नुपर्ने भए पनि यो महँगो र सहज उपलब्ध नहुने भएकाले कम प्रयोग गरिने बताउनुहुन्छ । एउटा गाईलाई एक पटकमा एक हजार दुई सय रुपैयाँ हाराहारी खर्च गरेर बाच्छी जन्माउन सकिने उहाँको भनाइ छ । यद्यपि गर्भधारणको प्रतिशत कम हुने उहाँले बताउनुभयो ।
सामान्यतया नेपालमा उत्पादन गरिएको उन्नत जातको सिमेन ३० रुपैयाँमा पाइने भएकाले यसैलाई अधिकांश गाइपालक किसानले प्रयोग गर्दै आएका छन् । यसबाट बाच्छा वा बाच्छी जुनसुकै जन्मिन सक्छ । जिल्लामा एक लाख बढी उन्नत जातका गाईपालन भइरहेको छ ।
मधेस प्रदेशका कृषि सचिव डा शरण पाण्डेले प्राकृतिक नियम विपरीत बाच्छी मात्रै जन्माउने सिमेन प्रयोग गर्न नहुने बताउनुभयो । बाच्छा–बाच्छी र गाई विदेश निर्यात गर्नुपर्ने उहाँको भनाइ छ । सरकारले नीतिगत निर्णय गरेर भारत र बङ्गलादेश पठाउन सके किसानलाई लाभ हुने उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति