
बागलुङ । जिल्लाका दुग्ध उत्पादक किसान करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएका छन् । हरेक उपभोग्यवस्तु ्शहरबाट खरिद गर्नुपर्ने अवस्थाका बीच यहाँ दुग्ध किसान भने उल्टै शहरको पैसा गाउँ भित्र्याउन सफल भएका हुन् ।
सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरी यहाँका किसानले आर्थिक वर्ष २०८०/८१ मा मात्रै सात करोड रुपैयाँ बढी रकम गाउँ भित्र्याएका थिए । जिल्लाको काठेखोला र बागलुङ नगरपालिकाका किसानले दूध बिक्री गरेर एक वर्षमै सात करोड ४८ लाख १७ हजार रुपैयाँ को कारोबार गरेपछि स्थानीय समेत उत्साहित भएका छन् ।
यी दुई पालिकामा मात्रै १४ वटा दुग्ध सहकारी संस्था छन् । तिनमा आबद्ध भएर किसानले आफ्नो उत्पादनलाई बजारीकरण गर्दा आम्दानी गर्न सफल भएका हुन् । काठेखोला गाउँपालिका–५ का केशवप्रसाद कँडेलले दूध उत्पादन गर्न सके जुनसुकै समयमा सहकारीले बजारीकरणको जिम्मा लिने भनेर आश्वस्त पारेपछि आफूजस्ता किसानलाई निकै सहज भएको बताउनुभयो ।
सोही गाउँपालिका–६ स्थित नमूना दुग्ध उत्पादक सहकारी संस्थाका शेयर सदस्यहरूले मात्रै दैनिक तीन सय ५० लिटर दूध बजारमा पठाउने गरेका छन् । दुग्ध किसान मणिभद्र कँडेलले आफूहरूले उत्पादन गरेको दूध सङ्कलन, प्रशोधन र बजारीकरणको ग्यारेण्टी भएपछि जोडतोडका साथ उत्पादन वृद्धिमा लागेको बताउनुभयो । ‘विगतमा दूध धेरै उत्पादन भएपछि त्यसै खेर गएको अनुभव हामीसँगै छ । दूधलाई प्रशोधन नगरे टिक्दैन, बजारसम्म पुर्याउन समय लाग्छ, बजार टाढा छ, फेरि दुई–चार लिटर दूध बजार पु¥याउन पनि गाह्रो । त्यसैले सहकारीमार्फत व्यवस्थापनको काम भएपछि हामी ढुक्क भएका छौँ’ उहाँले भन्नुभयो– ‘अब किसानले दूध उत्पादन बढाउने र सहकारीले बजारीकरण गर्ने भएपछि सदाको चिन्ता अन्त्य भएको छ । त्यसैमा दूध ढुवानी तथा घाँस ढुवानीमा अनुदान र पशु बीमा कार्यक्रम लागू भएपछि व्यवसाय पनि सुरक्षित भएको छ ।’
चौध सहकारीका शेयर सदस्य किसानले गाउँ–गाउँमा सङ्कलन गरेको दूध एकमुष्ट बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घले सङ्कलन, प्रशोधन तथा बजारीकरण गर्दै आएको छ । सङ्घले एक आर्थिक वर्षमा मात्रै १४ सहकारीका शेयर सदस्य किसानबाट ७ करोेड ४८ लाख १७ हजार रुपैयाँको दूध खरिद गरेको अध्यक्ष दीपक गौतमले बताउनुभयो । यी सहकारीमा आबद्ध करिब एक हजार चार सय किसानले एक वर्षमै उक्त रकम पाएको उहाँले बताउनुभयो ।
त्यस्तै निःशुल्क दूध ढुवानी, पशुधन सुरक्षण कार्यक्रम, घाँस ढुवानी, बीमा र पशु औषधि वितरणले किसानलाई थप लाभ मिलेको र यसले दूधमा आत्मनिर्भर जिल्ला बनाउन ठूलो सहयोग पुगिरहेको अध्यक्ष गौतमको भनाइ छ । ‘किसानहरूले दूध उत्पादन गर्ने तर बजारको सुनिश्चितता नहुने मुख्य समस्या थियो । दूध भण्डारण, प्रशोधनमा ध्यान नदिँदा दूध बिग्रेर जाने समस्या थियो, जसले गर्दा किसानले यस क्षेत्रमा लगानी गर्न सकिरहेका थिएनन् । हामीले बजारको ग्यारेण्टी गरेपछि समस्या समाधान भएको छ’ उहाँले भन्नुभयो– ‘किसान बिचौलियाको मारमा पर्ने समस्या पनि हटेको छ । हाल किसानबाट सङ्कलन गरेको तीनदेखि चार हजार लिटर दूध दैनिक बजारीकरण हुने गरेको छ ।’
विसं २०५७ मा स्थापना भएको सहकारी सङ्घमा हाल १६ जनाले प्रत्यक्ष रोजगारीसमेत पाएका छन् । दूधलाई सङ्कलन, बिक्री, बचेको दूधको दुग्धजन्य पदार्थ घ्यू, नौनी, छुर्पी, लस्सी, पनिर र आइसक्रिम बनाएर बिक्री गर्ने काम पनि भइरहेको सङ्घका सचिव गोविन्दप्रसाद सापकोटाले जानकारी दिनुभयो । सङ्घले दूधसहित नौ प्रकारका दुग्धजन्य परिकार बिक्री तथा वितरणसमेत गर्दै आएको उहाँले बताउनुभयो ।
‘यो एक अभियान पनि हो । यसबाट किसानको घरमा सोझै रकम पुग्ने गरेको छ । केहीले गाउँमै रोजगारी पाएका छन् । गत आर्थिक वर्षमा सङ्घले ८० लाख ६१ हजार रुपैयाँ खुद बचत गर्न सफल भएको थियो । त्यो रकमबाट किसानको पशु बीमा, दूध तथा घाँस ढुवानी र पशु प्रवर्द्धनात्मक काममा लगानी गरिरहेका छौँ’ सचिव सापकोटाले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन