
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गम्बोरो रोगका कारण पाँच हजार बढी कुखुरा मरेका छन् । किसान पहल देउवाले पालेका पाँच हजार बढी लेयर्स कुखुरा मरेका हुन् । यसअघि आफ्नो फर्ममा गम्बोरो रोग कहिले नदेखिएको देउवाले बताउनुभयो । “यो रोगका कारण यति धेरै कुखुरा मरेको पहिलोपटक हो । कुखुरा बिरामी भएको थाहा पाउने बित्तिकै ल्याब परीक्षण गर्दा गम्बोरो रोग लागेको पहिचान भएको थियो । भ्याक्सिन, औषधि दिँदादिँदै पनि खोर नै रित्तिने गरी कुखुरा मरेपछि रु ३० लाख बढीको क्षति छ”, उहाँले भन्नुभयो ।
घोडाघोडी नगरपालिका पशु शाखा प्राविधिक मनोज आचार्यले पनि गम्बोरो रोगका कारण पहिलोपटक पालिकामा क्षेत्रमा यति धेरै क्षति भएको बताउनुभयो । उहाँले भन्नुभयो,“पाँच हजार ७०० कुखुराका चल्ला ल्याएकामा अब छ–सात सय बचेका छन्, ती पनि मरिरहेका छन् । यति धेरै क्षति भएकामा हामी पनि चिन्तित छौँ ।”
चाडपर्व नजिकिँदै जाँदा भएको क्षतिले देउवा परिवारलाई निकै क्षति भएको छ । “चाडपर्व पनि नजिकिँदै छ । ठूलो सपना बोकेर कुखुरा हुर्काइरहेका थियौँ तर एकैपटक यो बज्रपात आइलाग्यो । सरकारले पशु बीमा कार्यक्रमअन्तर्गत कुखुराको पनि बीमा गर्ने सुविधा गरिदिएको भए हामीजस्ता किसानलाई केही राहत मिल्थ्यो । भैँसी, बाख्रालगायतको बीमा भए पनि कुखुरा, माछाको हुँदैन । इन्सुरेन्स पनि गरेको छैन । अब क्षतिपूर्ति गर्ने कुनै उपाय पनि छैन”, निरास हुँदै उहाँले भन्नुभयो ।
देउवाले केही समयअद्धि कुखुराको इन्सुरेन्स गर्नका लागि नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानलाई प्रक्रिया पु¥याएर आवश्यक कागजात पनि बुझाउनुभएको सुनाउनुभयो । पछि संस्थानको जिल्लास्थित कार्यालयले माथिको आदेश भन्दै बीमा नगर्ने जानकारी गरेको उहाँको भनाइ छ । “जताबाट पनि किसान नै मारमा पर्ने गरेका छौँ । कोरोनाको समयमा पनि लाखौँको क्षति भयो । फेरि हाल खोर नै रित्तियो । अब त आफ्नै ठाउँमा केही गरौँ भन्ने इच्छा पनि मर्दै गएको छ”, देउवाले मनको बह पोख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति