+

छैटौँ एशियाली जनसंख्या सम्मेलन नेपालमा हुने

काठमाडौँ । मानव स्रोत साधन सम्बन्धी आवश्यक नीति तर्जुमा गर्न नेपालमा छैटौं एशियाली जनसंख्या सम्मेलन हुने भएको छ । 

मंसिर १२ देखि १५ गतेसम्म काठमाडौँमा आयोजना गरिएको सम्मेलनमा विभिन्न देशका ५ सयदेखि ८ सय जना प्रतिनिधि सहभागी हुने त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागले जनाएको छ । विभागका अनुसार सम्मेलनमा नेपालको जनसंख्या वृद्धिदर, प्रजननदर लगायतका विषयमा छलफल हुनेछ। 

सम्मेलनबारे जानकारी दिन ललितपुरमा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा विभागका प्रमुख डाक्टर योगेन्द्रबहादुर गुरूङले जनसंख्या आफैँमा स्रोत, साधन र साध्य भएको उल्लेख गर्नुभयो । ‘विकास मान्छेले नै गर्ने हो, जनसंख्याबाट कोही टाढा रहन सक्दैन’ सम्मेलनमा उहाँले भन्नुभयो– ‘त्यसकारण नीति निर्माणमा जनसंख्यालाई ध्यानमा राख्नुपर्छ । विकसित राष्ट्रको विकास निमार्ण लगायत हरेक नीति जनसंख्यालाई ध्यानमा राखेर बनाउने गरेको पाइन्छ ।’

जनसंख्या अध्ययन  विभागका  प्रमुख गुरुङले नेपालमा पछिल्लो समय युवा तथा दक्ष जनशक्ति बाहिरिने र देशमा बुढ्यौली उमेरहरुका मात्र रहने अवस्था देखिएको उल्लेख गर्दै राज्यले यसलाई ध्यानमा राखेर नीति बनाउनुपर्ने बताउनुभयो । 

जनसंख्या अध्ययन विभागमा सहप्राध्यापक डा पदमप्रसाद खतिवडाले सम्मेलनमा एशियाका विभिन्न २६ राष्ट्रका जनसंख्या विज्ञहरूद्वारा १७  अवधारणामा आधारित भएर ४ सयभन्दा बढी कार्यपत्र प्रस्तुत हुने जानकारी दिनुभयो ।  सहप्राध्यापक खतिवडाले विश्वमा पछिल्लो समय जनसंख्या घटेको नभई जन्म वृद्धिदर विगतको तुलनामा कम हुँदै गएको उल्लेख गर्नुभयो । ‘सन १९८० को दशकमा विश्वभरी नै जनसख्या घटाउने भन्ने थियो, तर अहिले त्यस्तो छैन’ उहाँले भन्नुभयो– ‘त्यसकारण अहिले जनसंख्या घटेको होइन, वृद्धिदर मात्रै घटेको हो ।’

सहप्राध्यापक खतिवडाले सम्मेलनमा विश्वको जनसाङ्ख्यिक परिदृष्य, यसको राजनीतिक सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसंख्याका अवसर र चुनौतीमा आधारित रहेर विभिन्न कार्यपत्र प्रस्तुत हुने जानकारी गराउनुभयो । खतिवडाका अनुसार सम्मेलनमा सहभागी हुन अहिलेसम्म छिमेकी मुलुक चीन, भारत, पाकिस्तान, बंगलादेश, मलेशिया र थाइलैण्ड लगायतका राष्ट्रबाट ३ सय ३५ प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् । 

काठमाडोँको होटेल सोल्टीमा ४ दिनसम्म चल्ने सम्मेलनमा करिब ५ करोड रूपैयाँ खर्च हुने आयोजकको अनुमान छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट