
काठमाडौँ । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा छन् ।
काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर –१३ को सिमानामा पर्ने छापभञ्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बगाउन सक्ने खतरामा परेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । यहाँको छापभन्ज्याङ र ढकालबस्ती पहिरोमा परेको हो ।
शङ्खरापुर नगरपालिका वडा नम्बर १ का वडा सदस्य रामकृष्ण ढुङ्गाना भन्नुहुन्छ– ‘सडकसँगै बस्ती नै भासिएको छ । डेढमिटर जमिन बगिसकेको छ । दीर्घकालीन रोकथाम नगरे यसले ठूलो विपत्ति निम्त्याउन सक्छ, जमिन धेरै ठाउँमा चिरा परेको छ, जसका कारण एक सय भन्दा बढी घर जुनसुकै बेला बग्नसक्ने खतरामा छ ।’
१० वर्ष पहिलेदेखि बग्न थालेको पहिरोे केही वर्षअघि रोकिएको थियो । यस वर्षको भीषण वर्षासँगै पुनः तीव्र गतिमा बग्न थालेको हो । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१३ का वडाध्यक्ष श्रीराम घोरासैनी भन्नुहुन्छ– ‘वर्षेनी पानी पर्ने वित्तिकै बग्ने सडक केही वर्ष अघिदेखि ग्याबिन वाल लगाएर रोकिएको थियो । यस वर्षको अत्यधिक वर्षाका कारण सो वाल पनि बगेको छ । ‘सामान्य टालटुल गरेर यहाँको पहिरो रोकिँदैन । यसका लागि धेरै बजेटको आवश्यकता पर्छ । मेलम्ची र शङ्खरापुर नगरपालिकाले यसलाई चासो दिएर तत्कालै दीर्घकालीन रोकथामको लागि पहल गर्नुपर्छ’ उहाँले भन्नुभयो ।
दुवै बस्तीका घर, सडकदेखि खेतीयोग्य जमिन सबै उच्च खोजिममा छन् । जमिन बगेका कारण केही घर ढल्केका छन् । अन्य विकल्प नभएपछि स्थानीयवासी जोखिमयुक्त घरमा बस्न बाध्य छन् । ब्राह्मण, क्षेत्री, नेवार, तामाङ समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रका केही घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ । चिरा परेको जमिनबाट वर्षातको पानी छिरेर झनै जोखिममा परेको स्थानीयवासी खेचरनाथ दङ्गालको गुनासो छ ।
पहिरोका कारण दुई जिल्लाको बस्तीसँगै साँखुबाट मेलम्ची जाने सडक पनि जोखिममा परेको छ । पहिरोले सहायक वैकल्पिक राजमार्गअन्तर्गत निर्माणको चरणमा रहेको साँखु फट्केश्वर सडकको दुवै जिल्लाका केही खण्ड भासिएको छ ।
सडक बगेकै कारण यस क्षेत्रको यातायात पटकपटक अवरुद्ध हुने गरेको स्थानीयवासीले बताएका छन् । पहिरोले ठूलो रुप लिएसँगै स्थानीय घरबारविहीन हुने अवस्थामा पुगेका छन् । दुवै जिल्लाका सम्बन्धित निकायले रोकथामको काम शीघ्र शुरु गर्नुपर्ने स्थानीयको माग छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति