+

परम्परागत बालीको ‘पकेट’ क्षेत्र बनाउन बीउ सङ्कलन

बाजुरा । जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिकामा रहेको एक सहकारी संस्थाले कृषि उपज बीउ सङ्कलन सञ्चालनमा ल्याएको छ । परम्परागत बालीको पकेट क्षेत्र बनाउने गरी सहकारीले किसानले लगाएका दलहनबाली खरिद गरेर बजार क्षेत्रमा पु(याउने गरेको छ । 

२०७६ सालमा स्थापना भएको सामुदायिक बीउ बैंक तथा कृषि सहकारी संस्थाले बीउ बैंक स्थापना गरी रैथाने बाली सङ्कलन गर्दै आएको हो । बीउ बैंक स्थापनाका लागि सहकारीले बचत सुरु गरेको छ । सामान्य बचत मात्रैले स्वामिकार्तिकका किसानलाई सहयोग नपुग्ने भएपछि सहकारीले बचतबाट जम्मा भएको  १० लाख रुपैयाँ पुँजीले पालिकामा उत्पादन भएका स्याउ किसानकै बारीमा पुगेर खरिद गरी जिल्लाका विभिन्न बजार र नेपालगञ्ज, धनगढी, सुर्खेत, काठमाडौँ लगायतका शहर पुर्याएर बिक्री गर्ने गरेको छ ।

सामुदायिक बीउ बैंक तथा कृषि सहकारीले गाउँपालिकाको कृषि विकास शाखासँग पनि सहकार्य गरेको छ । पालिकासँगको सहकार्यमा जलवायु अनुकुलन कृषि खेती तथा परम्परागत बालीको संरक्षण र सम्वद्र्धन गरिरहेको छ । त्यो सहकारीको बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि स्याउ खेती, परम्परागत बाली बजारीकरणमा ढुवानी अनुदान दिइएको छ । सहकारीका सदस्यलाई चार वटा कृषि समूहमा विभाजन गरेर किसानलाई कृषि प्राविधिक परामर्श, प्लास्टिक टनेल, थोपा सिँचाइ, आवश्यक बीउ, हजारी, झोल मलका लागि ड्रम, पाइप, स्प्रे, पाशा, गुमोज प्लास्टिक गाउँपालिकाले सहयोग गरेको छ । 

बीउ बैंक तथा सङ्कलन केन्द्रका लागि सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय र स्वामीकार्तिक खापर गाउँपालिकाले ३० लाख रुपैयाँ सहयोग गरेको छ ।  बीउ बैंक तथा सङ्कलन केन्द्र स्थापनाका लागि गाउँपालिकाको सहयोगले थप मद्दत पुगेको सहकारीका व्यवस्थापक मनवीर ल्वारले बताउनुभयो ।   

सहकारीको भवन निर्माण भएपछि एक गैर सरकारी संस्थाले रैथाने बाली प्रशोधन, गे्रडिङ, प्याकिङ मेसिन, सङ्कलित बीउ राख्ने ट्याङ्की पनि सहयोग गरेको छ । बीउ बैंकमा अहिले जुनसुकै बेला कोदो, जौ, उवा, फापर, मार्से, कागुनो, सिमी, चिनो, मकै, धान, जुम्ली मार्सी धान लगायतको बीउ पाइने सहकारीका व्यवस्थापक ल्वारले राससलाई बताउनुभयो । गाउँपालिकामा पाँच जनालाई ज्याला दिएर बीउ सङ्कलनकर्ताका रुपमा नियुक्त गरिएको छ ।

 सङ्कलनकर्ताले किसानको घरमै गएर परम्परागत बाली खरिद गर्दै  बाली बीउ बैंक तथा सङ्कलन केन्द्रमा पु¥याउने गरेका छन् । बीउ वितरण गरेर बढी भएको बाली जिल्ला बाहिर पनि ढुवानी अनुदानमा सहकारीले बिक्री गर्ने गरेको छ । सहकारीले सञ्चालनमा ल्याएको बीउ बैंकबाट  चालु आर्थिक वर्षमा मात्रै दुई ट्रक कोदो, दुई क्वीन्टल जौ, चिनो, कागुनो खरिद गरेर बिक्री गरेको जनाएको छ । 

सहकारीले स्वामिकार्तिकमा नपाइएको परम्परागत बालीको बीउ हिमाली, जगन्नाथ, बूढीनन्दा नगरपालिकाबाट खरिद गर्ने गरेको छ । सहकारीले बीउ बैंकको शाखा बूढीनन्दा नगरपालिकामा पनि स्थापना गरेको छ । अहिले स्वामिकार्तिक गाउँपालिकाको कृषि नीतिमा सहकारीमार्फत ढुवानी अनुदानको कुरा समेटेर बीउ बैंक र कृषि उपज सङ्कलन केन्द्रको सहजताका लागि कृषि एम्बुलेन्स खरिद गरेको गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाले बताउनुभयो ।

एक सय ७० सदस्य रहेको सहकारीमा एक सय स्वामिकार्तिक गाउँपालिकाका र ७० बूढीनन्दा नगरपालिकाका स्थानीय आवद्ध छन् । सहकारीमा ८० प्रतिशत महिला छन् । विभिन्न उपलब्धि हासिल गरेर ऋण परिचालन गरिरहेको सहकारीको कोषमा हाल १० लाख रुपैयाँ रहेको व्यवस्थापक ल्वारले जानकारी दिनुभयो । रैथाने बालीको बीउ उपलब्ध गरी खेती गर्न थालेपछि सदस्यहरुले मासिक एक सयदेखि एक हजारसम्म बचत र ऋण परिचालन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट