
सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोकका सुन्दर फाँट पाकेको धानले पहेँलपुर देखिएको थियो । लहलह झुलेर सुनौलो देखिएका धान भित्र्याउन किसानले खेतला खोजिसकेका थिए ।
गत शुक्रबार र शनिबार रोशी खोलामा आएको बाढी धान फाँटमा पस्यो । बाढीसँगै आएको लेदो माटो, गेग्रानले खेतै बगर बनाइदियो । दसैँअघि थन्क्याई सक्ने तयारी गरिएको धान बालीसहित उब्जाउ हुने खेत बगरमा परिणत भएपछि किसान निराश छन् ।
जग्गा भाडामा लिएर २२ रोपनीमा लगाइएको धान भित्र्याउने बेलामा बाढीले सखाप पारेपछि भोक, निद्रा हराएको किसान केशवसिंह श्रेष्ठको दुःखेसो छ । ‘जेठ २९ गते रु ८० हजार खर्च गरेर रोपेको धान पाकेपछि बाढीले खायो, दुःख गर्ने हामीले खान पाएनौँ । सात जनाको परिवार छ, अब के खुवाएर पाल्ने रु चिन्ता मात्र लाग्छ, चार दिनदेखि भोक, निद्रा छैन’ भन्नुभयो । किसान श्रेष्ठले २२ रोपनीबाट एक सय मुरी धान भित्र्याउने गर्नुभएको थियो । यस वर्ष एक दानो भित्र्याउन नपाई बाढीले सखाप बनायो ।
सुनकोशी–१ गोइरीकी कृष्णमाया तोलङ्गेले बाढी खेतमा पसेपछि एक दानो धान भित्र्याउने अवस्था नरहेको बताउनुभयो । तीन रोपनीमा लगाएको पाकेको धान, रोपाइँ खर्च, बीउ, मल, परिश्रम सबै खेर गएको उहाँले सुनाउनुभयो ।
बाढीले बगाएको धान खेत हेर्दै गणेश श्रेष्ठ भक्कानिनुभयो । सुनकोशी–१ गजुलीदह बस्ने किसान श्रेष्ठको मुख्य पेसा कृषि नै हो । यसैबाट निर्वाह भएको थियो, पाँच जना परिवारको जीवन । पाकेको धानसहित पाँच रोपनी खेत बगर बनाएपछि उहाँलाई यतिबेला चिन्ता बढेको छ ।
नेपालथोकका किसानलाई मात्रै होइन, बाढीले खोला र नदी आसपासका धान खेत कतै कटान गरेको छ त कहीँ ढालेर सोतर बनाएको छ भने कतै बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेर उराठिलो बगर बनाइदिएको छ । सुनकोशी गाउँपालिकाभित्रको क्षेत्रमा मात्रै तीन सय बिघामा लगाइएको धान बाली बाढीले नष्ट गरेको उपाध्यक्ष कपिलकुमार कोइरालाले बताउनुभयो ।
गोलञ्जोर गाउँपालिका क्षेत्रमा भित्र्याउने बेला भएको ३० बिघाको धान बाली क्षति भएको उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेको आकलन छ । सुनकोशमा आएको बाढीले विशेषगरी गोलञ्जोर–७ को बेसीँफाँट, वडा नम्बर ६ को बलेनी, हैवारी क्षेत्र, वडा नम्बर २ को कुखुरेटार, ३ नम्बर वडाको मुर्गी, दिङदिङबेँसी र वडा नम्बर १ को च्याखुटारबेँसीको धान फाँटमा क्षति गरेको उहाँले बताउनुभयो ।
हरिहरपुरगढी गाउँपालिकामा वाग्मती नदीमा आएको बाढीले बस्तीपुर फाँट, कुर्ले फाँट, भिसापानी फाँट, श्रीपुर फाँटलगायत स्थानका धान बाली सखाप बनाएको छ । हरिहरपुरगढी–१, २ र ३ वडाको खेतीयोग्य जमिन कटान भएको छ । पालिका अध्यक्ष बज्रध्वज वाइबाका अनुसार यहाँका चार सय ६५ हेक्टर खेतीयोग्य जमिन नदीले कटान गरेसँगै धान बालीमा क्षति भएको छ ।
भर्खर पसाएको धान बाढीले जमिनसँगै कटान गरेपछि किसान दुःखी छन् । बालुवा, माटो, ढुङ्गा र मुढाले पुरेको, च्यापिएको धानको बाला हेर्दै यहाँका किसान अधिकांश समय पुर्पुरोमा हात राखेर बस्छन् । मन बुझाउने विकल्प भेट्दैनन् । किसानलाई सरकारसँग पनि केही आशा छैन ।
जिल्लाका नौवटै पालिकाका खेतीयोग्य जमिन र धान बालीमा ठूलो क्षति भएको कृषि विकास कार्यालयकी कृषि प्रसार अधिकृत उमादेवी श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो– ‘तीन दिनको अविरल वर्षासँगै आएको हुरी र बाढीपहिरोले जिल्लाको सबै पालिकाको धान बालीमा असर गरेको छ । खोला र नदीमा आएको बाढीले खेतीयोग्य जमिन कटान भएका छन् ।’
कुन पालिकामा कति परिणाममा क्षति भयो भन्ने एकीन तथ्याङ्क आइसकेको छैन । सयौँ हेक्टरको धान बालीमा क्षति पुगेको आकलन छ । क्षति विवरण सङ्कलन भइरहेको उहाँले बताउनुभयो । क्षति विवरण यकिन भएपछि सोही आधारमा किसानलाई राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उहाँ बताउनुहुन्छ ।
कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार यस वर्ष सिन्धुलीको ११ हजार एक सय ८८ हेक्टरमा किसानले धान बाली लगाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति