
म्याग्दी । रघुगङ्गा गाउँपालिका–५ झिँमा परम्परागत बाली जौँ र उवा उत्पादन तथा ‘ब्राण्डिङ’ परियोजना शुरुवात भएको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको नवप्रवर्द्धन साझेदारी कार्यक्रमअन्तर्गत झिँमा परम्परागत जौँ र उवा बालीको व्यावसायिक खेतीको विकास र किसानको आयआर्जन वृद्धिमा सहयोग पुर्याउने उद्देश्यले परियोजना लागू भएको हो ।
प्रदेश सरकारको ७५ प्रतिशत र गाउँपालिकाको २५ प्रतिशत साझेदारीमा रु एक करोड लागतको परियोजना शुरु भएको रघुगङ्गा गाउँपालिका–५ का वडाध्यक्ष मनबहादुर शेरमञ्जाले जानकारी दिनुभयो । ‘लोप हुँदै गएको परम्परागत जौँ र उवा बालीको संरक्षण गरी विभिन्न खाद्य परिकार बनाएर बजारीकरण गर्ने उद्देश्यले परियोजना शुरु गरेका हौँ’ उहाँले भन्नुभयो– ‘जौँ र उवाको उत्पादसँगै किसानलाई गाउँमै आम्दानीको अवसर सिर्जना हुने अपेक्षा गरेका छौँ ।’
परियोजनामार्फत झिँका दुई सय परिवार लाभान्वित हुनेछन् । तीन सय रोपनी क्षेत्रफल जमिनमा जौँ र उवाखेती गरिने भएको छ । परियोजनामार्फत जौँ र उवा प्रशोधन गरेर कुकिज र बिस्कुट उत्पादन गर्ने उद्योग सञ्चालन गर्ने लक्ष्य रहेको गाउँपालिकाका कृषि अधिकृत दीपक सिंहले बताउनुभयो ।
किसानलाई सूचीकरण गरी परम्परागत जौँ र उवा बालीको महत्वबारे जानकारी गराउने, मिनीटेलर हलो, साना सिँचाइ, कम्बाइन मिल, ब्रस कटर, थ्रेसिङ मेसिन, सुकाउने त्रिपाल, भण्डारण गर्ने मेटलबिन, कुकिज, बिस्कुट बनाउन र पिठोलाई ब्राण्डिङ, प्याकेजिङ गर्न आवश्यक सामग्री उपलब्ध गराइने उहाँले बताउनुभयो ।
झिँका होटल र होमस्टेमा जौँ र उवाको परिकार बनाउने सीप हस्तान्तरणका लागि तालिम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । जौँ र उवाको पिठोलाई ढिडो र सातुका रूपमा बिक्री गर्ने लक्ष्य रहेको छ । पोषिलो खाद्यान्न जौँ र उवाको पछिल्लो समय खेती घटेको छ । आगामी २०८२ जेठभित्र परियोजना सञ्चालन हुनेछ ।
जौँ हिन्दू धर्मावलम्बीहरूको र जौँको सातु बौद्ध धर्मावलम्बीहरूको धार्मिककार्यमा अनिवार्य मानिन्छ । जौँको आँटो, पिठोको ढिडो र सातु बनाएर उपभोग गर्न सकिन्छ । उवालाई भुटेर खाजा खाने गरिन्छ । सुक्खा र खडेरी सहने जौँ पहाडी र हिमाली क्षेत्रको मुख्य खाद्यबाली हो । युरोपका देशमा जौँबाट रोटी, पाउरोटी, बियरलगायत बनाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति