
धादिङ । पूर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे नागढुङ्गा सडक बिहीवार साँझदेखि अविरल वर्षाका कारण अवरुद्ध छ । निरन्तरको वर्षा, पहिरो र लेदो माटोले राजमार्गको नौबिसे मुग्लिन खण्ड झण्डै ३० घण्टादेखि अवरुद्ध छ ।
पहिराले ठाउँठाउँमा सडक थुनिएको छ भने राजमार्ग विस्तारको क्रममा खारिएका भित्ताबाट झरेका स–साना पहिरा, खोला खोल्साबाट उर्लिएको भलसँगै झरेको गेग्य्रान पनि राजमार्गमै थुप्रिएको छ ।
धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने खत्रीपौवामा आज बिहानै पहिरोमा पुरिएको तीनवटा सवारीसाधन अझै निकाल्न सकिएको छैन । पहिरो ठूलो भएकोले सवारी पुरिएको ठाउँसम्म पुग्न नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो । “पानी निरन्तर परिरहेको छ, पहिरो खस्नेक्रम पनि रोकिएको छैन । दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरोमा पुरिएका गाडीको स्वरुप मात्रै देखिएको छ । सवारीमा मानवीय क्षति भए नभएसमेतको यकिन गर्न सकिएको छैन”, मिश्रले भन्नुभयो, “पूर्ण रूपले पानी नरोकिएसम्म सडक खुलाउन सकिने सम्भावना निकै कम छ ।”
वर्षात र पहिराले बिजुली र इन्टरनेटको टावरमा क्षति पुगेकोले टेलिफोन र प्रहरीको सेटसमेतले काम नगर्दा रिपोर्टिङमा प्रहरीलाई नै समस्या परेको प्रहरी उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।
नौबिसे नागढुङ्गा खण्डको खत्रीपौवाबाहेक पृथ्वी राजमार्गअन्तर्गत सोही खण्डका ठाउँठाउँमा पहिरो झरेको छ । थाक्रे गाउँपालिकाको सात किलो, खयरघारी र बेनिघाट गाउँपालिका–३ सलाङ्घाटमा सबैभन्दा ठूलो पहिरो छ ।
गल्छी र गजुरीको माथिल्लो क्षेत्र र बेनिघाटको जोगिमारा क्षेत्रमा स–साना धेरै पहिरा गएका छन् । आज अपरान्हदेखि वर्षात् केही कम भए पनि ठाउँ ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले राजमार्ग सञ्चालन गराउन कठिन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिनुभयो ।
पहिरोले शनिबार बिहानैदेखि अवरुद्ध धादिङबेसी मलेखु सडकखण्ड भने एकतर्फी खुलेको छ । यहाँ १७ किलोमिटर दुरीमा ६ स्थानमा पहिरो गएको थियो । अहिले सबै स्थानबाट एकतर्फी सवारी चल्नेगरी पहिरो पन्छाइएको छ । नीलकण्ठ नगरपालिका–८ र सिद्दलेक गाउँपालिका–१ को ठाउँठाउँमा पहिरोको जोखिम रहेको प्रहरीले जनाएको छ । पृथ्वी राजमार्गमा दैनिक १३ हजारभन्दा बढी गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको तथ्याङ्क छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति