+

जङ्गली हात्तीले धानबाली खान थालेपछि समस्या

कञ्चनपुर ।  शुक्लाफाँटा नगरपालिका–५ का दुई बस्तीमा जङगली हात्तीले पाक्नै लागेको धानबाली खान थालेपछि समस्या भएको छ ।

एक साता अघिदेखि हात्तीको बथान गर्जमुनी  र खजुवा बस्तीका किसानको खेतवारीमा छिर्ने गरेको र  हालसम्म तीन विघामा लगाइएको धानबाली खाएर सखाप पारेको स्थानीय किसान प्रतापसिंह रतोकीले बताउनुभयो । साँझ नपर्दै नजिकैको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट १५ देखि २० को सङ्ख्यामा हात्तीको बथान छिर्ने र खुट्टाले कुल्चेर तथा खाएर धानबाली सखाप पारेको उहाँले बताउनुभयो ।

गएराति मात्रै हात्तीको बथानले खजुवाका रतोकीसहित, हेमा धामी, कैलसिंह साउद, जनकबहादुर धामी, कन्जडो धामी, कालो धानुक, धनबहादुर साउद र ललिता बिष्ट बोहराको गरी एक विघा जग्गामा लगाइएको धानबालीमा नोक्सानी पुर्याएको वडा सदस्य जीवन पाण्डेयले जानकारी दिनुभयो । ‘स्थानीय बासिन्दा, प्रहरी, निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाको टोलीको सहयोगमा हात्तीलाई धान खेतबाटै निकुञ्जतर्फ फर्काउन सक्यौँ’ उहाँले भन्नुभयो, ‘खेतबारीबाट हात्ती फिर्ता हुँदा नजिकै रहेका घरमा क्षति पुर्याउन सकेन । हात्तीको डरले खाद्यान्नदेखि महत्वपूर्ण कागजपत्र स्थानीयले आफन्तको घरमा सुरक्षाका लागि सारेका छौँ ।’ 

वडा सदस्य पाण्डेयकानुसार एक साताको अवधिमा गर्जमुनीमा दुईपटक र खजुवामा दुईपटक गरी हात्तीको बथान चारपटक किसानको खेतमा छिरेको छ । 

हात्तीले पाक्न लागेको धानबाली खाएर नोक्सान गर्न थालेपछि स्थानीय रातभर पालो मिलाएर जाग्राम बस्न थालेका छन् । हात्तीलाई खेतवारीमा छिर्नबाट रोक्नका लागि टिन ठटाउने, हो हल्ला गर्ने, जानकारी दिनका लागि साईरन बजाउने, आगो बाल्ने, पटाका पडकाउनेलगायत कार्य गर्न थालिएको वडाअध्यक्ष चक्रबहादुर खड्काले बताउनुभयो । ‘अप्रिय घटना नहोस् भनेर स्थानीयलाई सचेत पार्ने कार्यमा लागेका छौँ, हात्तीले धानबालीमा व्यापक नोक्सान गर्न थालेपछि निकुञ्ज कार्यालय र सुरक्षा निकायसँग पनि सहयोगका लागि अपिल गरेका छौँ’ उहाँले भन्नुभयो । 

हात्तीको बथान वर्षातका बेला चुरे क्षेत्रका वन क्षेत्रमा बस्ने र वर्षा घटदै गएपछि चुरे फेदीका बस्ती हुँदै समथर भू–भागमा पुगेर किसानको बालीनलीमा नोक्सानी पुर्याउने गर्दछ । प्रत्येक वर्ष हात्तीले मानवीय र भौतिक क्षति गर्दै आएको छ । तीन वर्षको अवधिमा हात्तीको आक्रमणबाट नगरपालिका क्षेत्रका चार जनाको ज्यान गइसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै