
बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दशैँलाई लक्षित गरेर २ सय ५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।
गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताउनुभयो ।
‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ’ व्यवस्थापक गुरुङले भन्नुभयो– ‘यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।’ विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।
व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ । महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उहाँले जानकारी दिनुभयो ।
पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताउनुभयो ।
प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार सात सय १० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए । अन्य समयमा भन्दा दसैँतिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताउनुभयो । हाल सहकारी आबद्ध किसानसँग ५ सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ रुपैयाँ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उहाँको भनाइ छ ।
सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन् । तीमध्ये हाल करिब ६ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन् । सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋण समेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति