+

दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१ र ८२ को पहिलो दुई महिनामा  ९४ अर्ब ५२ करोड रुपैयाँ सरकारी ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष शुरु हुँदा २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको सार्वजनिक ऋण भदौ मसान्तसम्म बढेर  २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ बराबर पुगेको छ । हालसम्मको कूल सार्वजनिक ऋण मुलुकको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ दशमलव ३२ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्ष शुरु हुँदा आन्तरिक ऋण  ११ खर्ब ८० अर्ब ९० करोड रुपैयाँ बराबर रहेकामा भदौ मसान्तसम्ममा बढेर  १२ खर्ब ३५ अर्ब ९० करोड रुपैयाँ  पुगेको छ । जिडिपीका आधारमा आन्तरिक ऋणको अनुपात २१ दशमलव ६६ प्रतिशत बराबर हो । यो दुई महिनामा सरकारले ९० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउँदा ३५ अर्ब रुपैयाँ बराबर ऋण तिरेको छ ।

भदौ मसान्तसम्म तिर्न बाँकी बाह्य ऋण १२ खर्ब ९२ अर्ब ७१ करोड रुपैयाँ छ । चालु आवको शुरुवातमा बाह्य ऋण .१२ खर्ब ५३ अर्ब १९ करोड रुपैयाँ बराबर थियो । पछिल्लो दुई महिनामा सरकारले बाह्य ऋणको साँवा र ब्याज भुक्तानीमा १४ अर्ब पाँच करोड रुपैयाँ खर्च गरेको छ भने यहि अवधिमा ४ अर्ब ६७ करोड रुपैयाँ बराबर बाह्य ऋण थपेको छ । जिडिपीको तुलनामा बाह्य ऋण २२ दशमलव ६६ प्रतिशत बराबर हो ।

चालु आर्थिक वर्षका लागि सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाा सार्वजनिक ऋण उठाउने लक्ष्य लिएकामा भदौ मसान्तसम्ममा १ खर्ब चार अर्ब पाँच करोड रुपैयाँ ऋण उठाइसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका उपसचिव प्रकाश पुडासैनीले जानकारी दिनुभयो ।  वार्षिक लक्ष्यको तुलनामा यो अवधिको सार्वजनिक ऋण प्राप्ति १८ दशमलव ६६ प्रतिशत बराबर हो ।

 चालु आर्थिक वर्षका लागि सरकारले सार्वजनिक ऋणको साँवा र ब्याज भुक्तानी गर्ने प्रयोजनका लागि कूल  चार खर्ब दुई अर्ब  रुपैयाँ बजेट छुट्याएको छ । भदौ मसान्तसम्ममा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ बराबर साँवा ब्याज भुक्तानी भइसकेको छ । 

यो अवधिको साँवा ब्याज भुक्तानी वार्षिक बजेट विनियोजनका आधारमा ११ दशमलव ८४ प्रतिशत बराबर हो । जिडिपीको आधारमा भदौ मसान्तसम्मको कुल ऋण सेवा खर्च शून्य दशमलव ८४ प्रतिशत बराबर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट