
म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित धौलागिरी आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दै गएको छ । पछिल्लो समय यो नयाँ गन्तव्यको रुपमा चिनिन थालेको छ ।
बेनी–जोमसोम सडकखण्डअन्तर्गत थासाङको टाङछारादेखि पाँच घण्टाको पैदल यात्रामा धौलागिरी हिमालको आइसफल क्षेत्रमा पुग्न सकिन्छ । धौलागिरी आइसफल र मानापाथी हिमालको आइसफलसँगै जोडिएको छ । सडकमार्गबाट पैदलयात्रा गरी छोटो अवधिमा त्यहाँ पुग्न सकिन्छ । यहाँबाट हिमाल नजिकै रहेकाले धौलागिरि आइसफल नयाँ पर्यटकीय गन्तव्य बनेको पहिलो पटक त्यस क्षेत्रमा पुग्नुभएका म्याग्दीका पथ प्रदर्शक सुरेन गुरुङले बताउनुभयो ।
‘छोटो समयमा पैदलयात्रा गरेर हिमालको फेदमा पुग्न सकिँदो रहेछ, वरिपरी हिमालै हिमाल भएकाले त्यसले मनै लोभ्याउँछ । हिमालको टुप्पोबाट निरन्तर खस्ने हिउँको दृश्यले जो कोहीको पनि मन लोभिन्छ’ उहाँले भन्नुभयो । पदमार्ग र आइसफल क्षेत्रमा पशुपक्षिको पनि अवलोकन गर्न सकिने भएकाले त्यो पदमार्ग उत्कृष्ट नयाँ पर्यटकीय गन्तव्य बन्नसक्ने गुरुङको भनाइ छ ।
समुद्री सतहदेखि चार हजार एक सय ५० मिटर उचाईमा रहेको धौलागिरि र मानापाथी हिमालको आइसफल क्षेत्रबाट नीलगिरि, अन्नपूर्णलगायतका हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । थासाङको ह्याण्डिङ डाँडाको बुकी पाटनबाट धौलागिरी र मानापाथी हिमालको आइसफल नजिकैबाट अवलोकन गर्न सकिन्छ । यहाँको बुकी पाटनमा परम्परागत रुपमा हुँदै आएको चौरीपालन समेत पर्यटकका लागि आकर्षण बन्ने गरेको छ ।
असोजदेखि कात्तिक र फागुनदेखि असारसम्म आन्तरिक तथा बाह्य पर्यटक यस क्षेत्रमा आउने गरेको चौरीगोठका हेरालु सिंहबहादुर तामाङले बताउनुभयो । पैदलयात्रा गरेर ह्याण्डिङडाँडा आउने पर्यटकले चौरीलाई नजिकबाट नियाल्ने गरेका उहाँको भनाइ छ ।
थासाङको छाकताङ गाउँको शिरमा रहेको धौलागिरि आइसफल क्षेत्रमा जाने पर्यटकले चौरीगोठ रहेको बुकी पाटनमा क्याम्पिङ समेत गर्दै आएका छन् । पाँच घण्टाको पैदलयात्रामै पुग्न सकिने भएकाले कतिपय पर्यटक टाङछारा क्षेत्रमा रहेका होटलमा बास बसेर एकै दिनमा आइसफल क्षेत्रको भ्रमण गरेर पुनः फर्कने गर्छन् ।
बस्तीबाट नजिकको दुरीमा पर्ने भएकाले धौलागिरी आइसफल मुस्ताङ घुम्न आउने पर्यटकका लागि उत्कृष्ट गन्तव्यको रुपमा विकास हुने सम्भावना रहेको स्थानीय होटल व्यवसायी राजु गौचनले बताउनुभयो । उहाँले मुस्ताङ भ्रमणमा आउने पर्यटक अधिकाँश अपर र मुक्तिनाथ पुगेर मात्रै फर्कने गरेका बताउनुभयो । जिल्लाभित्र उत्कृष्ट र आकर्षक सहायक पर्यटकीय गन्तव्यहरु ओझेलमा परेको उहाँले बताउनुभयो । टाङछारादेखि आइसफल जाने पदमार्गमा पर्ने सेकोङ ताल समेत पर्यटकका लागि आकर्षणको रुपमा रहेको छ ।
त्यो पदमार्गमा पर्यटकको सुविधाका लागि पदमार्गसँगै सेकोङ ताल र प्होतो खर्कमा पर्यटक आश्रयस्थल निर्माण गरिएको छ । सेकोङ तालदेखि आइसफल क्षेत्रसम्मको पदमार्गमा सूचना पोल समेत राखिएका छन् । आइसफल क्षेत्रबाट मुस्ताङका विभिन्न बस्तीका साथै पोखरा–जोमसोम हवाइ उडान भरेका जहाजको दृश्यसमेत निकै आकर्षक देखिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति