
पर्वत । ठेकेदारको लापरबाहीका कारण लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा–बेनी सडक मर्मत गर्न थालिएको छ ।
खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो । आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालीगण्डकी करिडोर मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीको संयुक्त बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो । त्यही निर्णयबमोजिम सोमबारदेखि मर्मत गर्न थालिएको आयोजनाका इञ्जिनियर अच्युविलास पन्तले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार मालढुङ्गाबाट बेनीसम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने, हिलो सफा गरेर सवारीसाधन नियमित सञ्चालन गर्न सहज बनाउने काम भइरहेको छ । तत्कालका लागि मर्मत गरिने र वर्षा रोकिएलगत्तै स्तरोन्नति थालिने उहाँको भनाइ छ ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन् । चाडपर्व सुरु भएसँगै मुक्तिनाथ र कागबेनीमा जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी तत्काल मर्मत थालिएको इञ्जिनियर पन्तले बताउनुभयो । सबैभन्दा बढी जलजला गाउँपालिकाका बासिन्दालाई समस्या परेपछि जनप्रतिनिधि, व्यवसायी र स्थानीयले प्रशासनमा मर्मतको माग गर्दै आएका थिए ।
तीस महिनामा काम सक्नेगरी विसं २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चार वर्षमा ५५ प्रतिशत मात्र काम भएको छ । १३ किमी लामो सडकमध्ये गत असारमा पाँच किमी कालोपत्र गर्ने तयारी गरिए पनि वर्षा र निर्माण सामग्री अभाव देखाउँदै ठेकेदारले काम रोकेको थियो ।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवका रुपमा रहेको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला–८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित उक्त आयोजनाको हालसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको इञ्जिनियर पन्तले जानकारी दिनुभयो ।
निर्माण कम्पनीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिटी, बालुवा र रोडा अभाव भएको भन्दै विसं २०७९ कात्तिकदेखि निर्माण रोकेको थियो ।
गत असोजमा म्याद सकिएको उक्त योजनाको यही असोज मसान्तसम्मका लागि म्याद थप गरिएको छ । सडक निर्माणमा ढिलाइ हुँदा यातायातका साधन सञ्चालनका साथै पैदल यात्रीलाई आवतजावतमा समस्या हुँदै आएको स्थानीयले बताएका छन् ।
खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएपछि जिल्ला प्रशासनमा पुगेर दबाब सिर्जना गरेपछि मर्मत शुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिनुभयो ।
आयोजना कार्यालयका अनुसार सडक फराकिलो बनाउने, नाली र पर्खाल निर्माण अन्तिम चरणमा पुगेको छ । मालढुङ्गाबाट फर्सेसम्मको पाँच किमी दूरिमा कालोपत्र गर्न सबबेस बिछ्याइएको आयोजनाका इञ्जिनियर पन्तले बताउनुभयो ।
विभिन्न ठाउँमा करिब एक किमी ढलान र खोल्सामा कल्भर्ट पुल निर्माण गरिएको छ । फर्सेबाट लामाखेत खण्ड फराकिलो बनाउने, नाली र पर्खाल निर्माण तीव्र गतिमा भइरहेको उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन