+

दायित्व बेहोर्नुपर्ने अवस्था हटाउन सञ्चयकर्ताको माग

सुदूरपश्चिम ।  कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरुले लिएको ऋणलाई पुँजीकृत गरी सञ्चयकर्ताले सधैँ दायित्व बेहोर्नुपर्ने समस्या हटाउन माग गरेका छन् । 

कोषद्वारा आज धनगढीमा आयोजित ६३औँ वार्षिकोत्सव समारोहमा सञ्चयकर्ताहरुले ऋण लिने र दिनेबीचको हाल कायम ब्याजदरको अन्तर कम गर्ने नीति ल्याउन उचित हुने सुझाव दिए । सामाजिक सुरक्षासम्बन्धी थप योजना ल्याउनुपर्ने र ज्येष्ठ नागरिकका लागि ‘ओल्ड केयर सेन्टर’स्थापना गरी वृद्धवृद्धाको हितमा काम गर्न उचित हुने सञ्चयकर्ताहरुले सुझाव दिएका छन् । 

त्यस अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा हरिप्रसाद लम्सालले कोषको कामलाई थप सञ्चयकर्ता मैत्री बनाउँदै सेवालाई सहज, सरल एवं सुलभ बनाउनुपर्ने बताउनुभयो । 
 
कोषका धनगढी शाखा कार्यालयका प्रमुख राजेन्द्र लामिछानेले कोषको गतिविधिबारे जानकारी दिँदै कोषका सञ्चयकर्ताको हित र सेवामा प्रतिवद्ध रहेको बताउनुभयो । 

कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रदेश सरकारका सचिव वेदप्रकाश भण्डारी, कर्मचारी मिलन केन्द्रका डा हेमराज अवस्थी, शिक्षक लक्ष्मणदत्त भट्ट लगायतले कोषले प्रदान गर्दैआएका सेवाका बारेमा चर्चा गर्नुभएको थियो ।
  
सञ्चयकर्ताको सेवालाई सहजीकरण गर्न २०६१ सालमा सुदूरपश्चिम प्रदेशको धनगढीमा कोषको कार्यालय सञ्चालन भएको थियो । कार्यालयले प्रदेशका कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा, अछाम, बझाङ, बाजुरा, बैतडी र दार्चुलाका सञ्चयकर्तालाई सेवा प्रदान गरिरहेको छ । आर्थिक वर्ष २०७९/८० मा कोषले मुनाफा गरेको  ६ अर्ब पाँच करोडमध्ये ४ अर्ब ५० करोड रुपैयाँ देशभरीका सञ्चयकर्तालाई बाँडफाँड गरी सम्बन्धितको व्यक्तिगत खातामा शुरु मौज्दातको एक दशमलव १० प्रतिशतका दरले मुनाफा रकम वितरण गरेको छ ।  

यसैगरी सामाजिक सुरक्षा सुविधा प्रदान गर्ने प्रयोजनका लागि सञ्चयकर्ता कल्याणकारी कोषमा  ७२ करोड २० लाख रुपैयाँ जम्मा गरिएको छ । सामाजिक सुरक्षा र सञ्चयकर्ता सापटीतर्फ कोषबाटै दायित्व व्यहोर्नेगरी सामाजिक सुरक्षा सुविधाअन्तर्गत आव २०८०/८१ मा २६ हजार ७४ सञ्चयकर्ता तथा उनीहरुका हकवालासमेतलाई करिब ५४ करोड २५ लाख रुपैयाँ वितरण गरिएको छ । 

सञ्चयकर्ताको सेवाकालको आवश्यकता तथा आधारभूत सुविधा प्रदान गर्न सञ्चालन भएको विषेश सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, सरल सापटी र जग्गा खरिद सापटीमा १ लाख ४६ हजार ३ सय ३६ सञ्चयकर्तालाई ३९ अर्ब ७६ करोड रुपैयाँ सापटी प्रवाह गरिएको छ । 

सेवाबाट अवकाशपछि कोषबाट ८७ हजार ९ सय ५६ सञ्चयकर्तालाई १९ अर्ब ९ करोड रुपैयाँ भुक्तानी गरिएको कोषले जनाएको छ । सञ्चयकर्ता सेवातर्फ सञ्चयकर्ताको सेवाकालीन आवश्यकतालाई सम्बोधन गर्न कोषले विभिन्न प्रकारका धितोमा आधारित सापटी प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै