
लमजुङ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ ।
सरकारले ‘एक पालिका एक सडक’ पुर्याउने अभियानअन्तर्गत अघि बढाएको यस पालिका जोड्ने उदीपुर–रिठ्ठेबगर–नौथर सडक वर्षायाममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा यात्रुलाई आवागमनमा समस्या हुँदै आएको हो ।
स्तरोन्नति तथा कालोपत्र शुरु गरिएको त्यो खण्डको काम दुई वर्षमा सक्नुपर्नेमा ४ वर्ष बित्दा समेत सम्पन्न भएको छैन । ठाउँठाउँमा सडक खोतलिएको छ । कतिपय ठाउँमा पानी जमेर पोखरी बनिसकेको स्थानीय बताउँछन् ।
स्थानीय वासुदेव सेढाइँले भन्नुभयो– ‘मेरो आमा बिरामी परेर केही दिनअघि जिल्ला सदरमुकाम बेँसीशहरको लमजुङ अस्पतालमा एम्बुलेन्समा लैजाँदै थिएँ, हिलाम्मे भएर सडक बिग्रिएकाले एम्बुलेन्स चिप्लेर धन्नै दुर्घटनामा परिएन । आमाको ज्यान बचाउन जाँदा अर्को विपद्को सामना गर्नुपर्यो ।’ सडक ठाउँठाउँमा हिलाम्मे हुँदा यात्रु हिँड्डुल गर्न तथा सवारीसाधन सञ्चालनमा समस्या भइरहेको उहाँको भनाइ छ ।
पालिकाको केन्द्र रहेको दोर्दी गाउँपालिका–४ नौथर सेराका मेखबहादुर घलेले यहाँबाट बेँसीसहर आउन सडकको दुरवस्थाका कारण दिनभरिजसो लाग्ने बताउनुभयो । ‘ठाउँठाउँमा भत्किएको सडक हिलाम्मे छ । हिलोमा गाडी फस्ने समस्या छ । गाडी फस्न नदिन यात्रुहरुलाई ठाउँठाउँमा झर्दै र मिलाउँदै हिँड्नुपर्ने अवस्था छ । सामान्य रुपमा करिब दुई घण्टामा बेँसीसहर पुगिने भए पनि अहिले दिनभरि लाग्ने गरेको छ’ उहाँले भन्नुभयो ।
बेँसीशहर नगरपालिका–११ चितिका प्राविधिक शङ्कर श्रेष्ठले भन्नुभयो– ‘दोर्दी पालिका जोड्ने सडक सञ्जाल विस्तार भए पनि अधिकांश भाग यस वडाभित्रै पर्दछ । हामी पनि कामले यो सडक हुँदै हिँड्नुपर्छ, वर्षामा सडकले यात्रीले सास्ती दिएको छ ।’
सडक अवस्थाको स्थलगत अनुसन्धान गर्न वर्षाको समयमा पहिरोको जोखिम हुने भन्दै मानविय क्षति नहोस् भनेर अग्रसरता नलिइएको उहाँले बताउनुभयो । दोर्दी गाउँपलिकासँग समन्वय गरी वर्षापछि सडक स्तरोन्नतिलाई तीव्रता दिन पहल गरिने प्राविधिक श्रेष्ठले उल्लेख गर्नुभयो ।
दोर्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सडकमा जताजतैबाट पानी जम्ने, हिलाम्मे हुँदा यात्रा गर्न सास्ती हुने गरेको बताउनुभयो । ठेकेदारलाई गाउँपालिकाले मौखिक रुपमा समयमा निर्माणसम्पन्न गर्न आग्रह गर्दै आइरहेको भन्दै वर्षापछि कामलाई तीव्रता दिन दबाब सिर्जना गर्ने उहाँले उल्लेख गर्नुभयो ।
जिल्लास्थित पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी नरेशराज जोशीले सडक सयममा सम्पन्न नहुँदा पानीले हिलाम्मे र खाल्डाखुल्डी बनाएकाले यात्रा असहज बनिरहेको बताउनुभयो । उहाँले हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिनुभयो ।
ग्राभेल, ग्याबिन वाल, मेसिन वालको काम बाँकी रहेको उक्त कार्यालयले जनाएको छ । नाला बनाउने काम अधिकांश सकिएको छ । ‘कालोपत्रका लागि सववेस, बेस हाल्ने काम, स्टक्चरलगायत अन्य काम भइरहेको छ’ सूचना अधिकारी जोशीले भन्नुभयो । सम्झौता अनुसार विसं २०७९ असार २ गतेभित्र कालोपत्र गरिसक्नुपर्नेमा कोभिडका कारण निर्माण शुरु गर्न ढिलाइ भएको थियो । निर्माण कम्पनीले विसं २०७९ पुससम्ममा पुनःनिर्माणको जिम्मेवारी पाएको थियो ।
त्यस समयभित्र पनि निर्माण सम्पन्न नभएपछि पुनः म्याद थप गर्दै विसं २०८० असार २९ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो । पुनः म्याद थप गरी मङ्सिर २८ गतेसम्म सम्पन्न गर्नेगरी सम्झौता भएको कार्यालयले जनाएको छ ।
थप गरिएको समयभित्रमा काम सम्पन्न गर्नुपर्नेमा जोड दिँदै सूचना अधिकारी जोशीले समयमा पनि नसकिए म्याद थप नहुने बताउनुभयो । प्रदेश सरकारको २६ करोड २९ लाख ६ हजार २ सय २५ रुपैयाँ लगानीमा सात दशमलव १२१ किलोमिटर सडक कालोपत्र हुन लागेको हो ।
हालसम्म १६ करोड ८६ लाख खर्च भइसकेको कार्यालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभएको छ । पूर्वाधार कार्यालयका अनुसार बेँसीशहर नगरपालिका–१ उदीपुरबाट दोर्दी गाउँपालिका–४ मा दोर्दी गाउँपालिका जोड्ने यस सडकको अस्फाल्ट कालोपत्र हुनेछ ।
दुई ठाउँमा गरी एक हजार एक सय १३ घनमिटर सडक ढलान गरिनुका साथै चार सेन्टिमिटरको कालोपत्र हुने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन