+

तिब्बत क्षेत्रको पर्यटन प्रवर्द्धनबारे छलफल

काठमाडौँ । प्रसिद्ध पवित्र स्थल कैलास मानसरोवर जाने नेपाली पर्यटकको सङ्ख्या बढेसँगै चीनको वृहत तिब्बती क्षेत्रको पर्यटकीय गन्तव्यको प्रवद्र्धन गरिने भएको छ । 

चीनमा पर्यटकीय भ्रमण व्यवस्थापन गर्ने नेपाली संस्था नेपाल कल्चर एण्ड टुरिजम इन्भेष्टमेन्ट प्रालिको आयोजनामा आज यहाँ ‘सुन्दर चीनः तिब्बती क्षेत्रको पर्यटन प्रवद्र्धन’ विषयक कार्यक्रमको आयोजना गरी तिब्बतको पर्यटकीय सम्भावनाबारे नेपाली पर्यटन व्यवसायी एवं सरोकारवालालाई जानकारी दिइएको हो ।
     
हिन्दू, बौद्ध, जैन र बोन धर्मावलम्बीहरुको पवित्रस्थल कैलास मानसरोवर जाने नेपालीको सङ्ख्या बढ्दै गएको छ । कार्यक्रममा बृहत् तिब्बत समेटिएको चीनका तिब्बत, छिङ्गहाइ, कान्सु, सिछुवान र युनान गरी पाँच प्रान्तको पर्यटकीय क्षेत्रको प्रवद्र्धन गरिएको छ । पाँचै प्रान्तको पर्यटकीय क्षेत्रका तस्बिर र भिडियो समेत राखेर तयार पारिएको अनलाइन पोर्टल पनि आजै सार्वजनिक गरिएको छ ।
     
कार्यक्रममा नेपाल पर्यटन बोर्डका उपाध्यक्ष रामप्रसाद सापकोटाले तिब्बत पर्यटन प्रवद्र्धन कार्यक्रमले नेपाल र चीनको पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । ‘यस्ता कार्यक्रम पर्यटन बोर्डले गर्नुपर्ने थियो, तर निजी क्षेत्रबाट जुन किसिमको पहल भएको यसका लागि आयोजक संस्थालाई विशेष धन्ववाद दिन चाहन्छु’ उहाँले भन्नुभयो– ‘पछिल्लो समय धेरै नेपाली मानसरोवर पुग्नेगरेका तथा धेरै विदेशी पर्यटक नेपाल भएर मानसरोवर गइरहेको सन्दर्भमा यस्ता कार्यक्रमले तिब्बतमा माउन्ट कैलासबारे व्यवसाय प्रवद्र्धन गर्न मद्दत पुग्ने बताउनुभयो ।’
     
उपाध्यक्ष सापकोटाले पवित्र माउन्ट कैलाशका लागि विभिन्न चार रुटको चिनारीले पर्यटन प्रवद्र्धनमा भूमिका खेल्ने भन्दै नेपाली व्यवसायी र चिनियाँ व्यवसायीबीच ‘बिटुबी’ कार्यक्रममार्फत पर्यटन प्रवद्र्धन गरिनुपर्ने खाँचो औंल्याउनुभयो । 

उहाँले आगामी दिनमा नेपालको पर्यटनलाई चीनको तिब्बत, मानसरोवरलगायत समग्र चीनका पर्यटकीय गन्तव्यमा प्रवद्र्धन गर्न बोर्ड सक्रिय ढङ्गले लाग्ने बताउनुभयो । चीन सरकार, चीनका पर्यटन व्यवसायी संस्थासँग सहकार्य गरेर चीनबाट धेरैभन्दा धेरै पर्यटक आकर्षण गर्न लागिपर्ने उहाँले बताउनुभयो ।
    
विज्ञ पुण्यप्रसाद पराजुलीले मानसरोवर यात्रा गर्ने नेपालीको सङ्ख्या बढ्दै गइरहेको सन्दर्भमा त्यहाँको गुणस्तरीय पर्यटन सेवाका बारेमा नेपाली व्यवसायीले पनि जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘बौद्धधर्मसँग सम्बन्धित थुपै तीर्थस्थल रहेको छ, त्यहाँ जाने नेपालीको सङ्ख्या पनि अत्याधिक छ, माग र आपूर्तिबीचको खाडल पुरेर नेपाली पर्यटन व्यवसायीले फाइदा लिनसक्ने ठूलो अवसर छ ।’
     
कार्यक्रममा चीनका वरिष्ठ पथप्रदर्शक चाओ स्युवांगले नेपालका राष्टिय विभूति अरनिकाले सात सय वर्षअगाडि तिब्बत र बेइजिङ गएर मन्दिर स्तूपा बनाएको चर्चा गर्दै चीनका पाँचै प्रान्तमा अरनिकोले लगेको नेपाली शैलीका स्तूपा चैत्य देख्न सकिने बताउनुभयो । राजधानी बेइजिङ, औद्योगिक शहर साङघाइ, तिब्बत, क्वांचौँ, शनचन, स्यामनलगायतका सहरमा नेपाली रेष्टुराँ सञ्चालन रहेको उदाहरण दिँदै उहाँले दुवै देशबीच पर्यटन क्षेत्रको आदानप्रदान बढ्दै गएको उल्लेख गर्नुभयो ।

त्यसैगरी तिब्बत सी माउन्टेन हश्री टुरिजम कम्पनीका उपमहाप्रबन्धक लि काङ्गले आफ्नो कम्पनीले नेपाली सीमा नाकाहरुबाट कैलास मानसरोवरसम्मको यात्राको जिम्मेवारी लिँदै आएको चर्चा गर्दै नेपाली तीर्थयात्री र पर्यटकलाई स्वस्थकर खाना, सुरक्षित आवास, आरामदायी यातायात, दक्ष गाइडलगायतका उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताउनुभयो । 

उहाँले बङ्गलादेशका पर्यटकका लागि तिब्बत मानसरोवर घुमाउने अनुमति पाएको एकमात्र कम्पनी आफ्नो रहेको उल्लेख गर्दै क्यानाडा, सिङ्गापुर, श्रीलङ्का, भारत, थाइल्याण्ड, बङ्गलादेश लगायतका दक्षिणपूर्वी एशियाको बजार विस्तार गर्न अर्को वर्ष नेपालमा शाखा खोल्ने योजना बनाएको जानकारी दिनुभयो ।
     
कार्यक्रममा छिङ्गहाइस्थित युसु स्नो लेपड टाभल कम्पनीको अध्यक्ष काङ्ग छिछाङ्गले पश्चिम चीन हेर्न र बुझ्न युसु पुग्नुपर्ने बताउनुभयो । उहाँले चीनको हान र तिब्तती जातिको संस्कृति, व्यापारको सङ्मस्थल रहेर चीनलाई र दक्षिण एशियासँग जोड्ने कोरिडोरको काम गरिरहेको उल्लेख गर्नुभयो । कला, संस्कृति, इतिहास रहेको युसुमा पर्यटकीय क्षेत्रको प्रचुर स्रोत रहेकाले त्यहाँको भ्रमण गर्न र लगानी गर्न उहाँले अनुरोध गर्नुभयो ।
     
आयोजकका तर्फबाट उपप्रमुख डिकेश महर्जनले चीन भ्रमणमा जाने नेपालीको सङ्ख्या बढ्दै गएकाले प्रतिस्पर्धात्मक दरमा भ्रमण तालिका सार्वजनिक गरेको बताउनुभयो । उहाँले भ्रमणलाई विविधता दिन  तिब्बती क्षेत्रलाई मुख्य भूमिका ठूला शहर पनि जोडिएको जानकारी दिनुभयो । 
     
अहिले काठमाडौँबाट रसुवागढी नाका हुँदै धेरै सङ्ख्यामा पर्यटक मानसरोवर जाने गरेका छन् । हवाई मार्ग भएर पनि पर्यटक उल्लेख्य सङ्ख्यामा त्यहाँ पुग्ने गरेका छन् । मानसरोवार क्षेत्रमा पर्यटक व्यवस्थापनका लागि होटल लगायत पूर्वाधार व्यवस्थित रहेको व्यवसायीको भनाइ छ ।
     
छेन्दुमा चार वर्षदेखि स्थापित नेपाल प्याभिलेनमार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको संस्थाले जनाएको छ । छेन्दुमा नेपाली वाणिज्य दूतावास स्थापना भएसँगै कूटनीतिक सम्बन्ध विस्तारका साथै संस्कृति, पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको छ । 

नेपालको थाङका र हस्तकलाका सामग्री छेन्दु जाने गरेका छन् । संस्कृति आदान प्रदान, व्यापार प्रवद्र्धन र पर्यटन प्रवद्र्धनका कामलाई दुवै मुलुकको बृहत साझेदारीबाट अगाडि बढ्नुपर्नेमा व्यवसायीको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट