
पर्सा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशलाई आर्थिक समुन्नतिमा लैजाने मुख्य आधारको रुपमा पर्यटक क्षेत्र रहेको बताउनुभएको छ ।
पर्यटन विकास कार्यालय वीरगञ्जद्वारा आज यहाँ आयाजित सरोकारवालासँगको संवाद कार्यक्रममा उहाँले पर्यटन क्षेत्रको विकासले मात्रै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रुपमा कायापलट हुन्छ भन्नुभयो ।
‘मधेश प्रदेशलाई माथि उकास्ने भनेको नै पर्यटन क्षेत्रले हो’ उहाँले भन्नुभयो– ‘पर्यटन एउटा यस्तो माध्यम हो जुन तत्कालै भित्र्याउन सकियो भने मधेश प्रदेशको समग्र आर्थिकस्तर सुधार्न सकिन्छ ।’ मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकारको एकल प्रयासले मात्रै मधेशमा पर्यटनको विकास गर्न सम्भव नभएको जनाउँदै मधेश प्रदेशको विकासका लागि सरोकारवाला सबै निकायले हातेमालो गरेर अघि बढ्न जरुरी छ भन्नुभयो ।
‘मधेश प्रदेशका ऐतिहासिक मठमन्दिर, धार्मिकस्थल छिमेकीमूलुक भारत लगायतका धेरै मुलुकमा प्रख्यात रहेको छ’ उहाँले भन्नुभयो,‘‘धार्मिक पर्यटक पूजा गरेर सोही दिन फर्किहाल्ने जुन बाध्यात्मक स्थिति छ ।
भारतीय पर्यटकहरुका लागि सुविधा सम्पन्न बस्ने र खाने ठाउँ नहुँदा पनि पर्यटकको बसाइ चाहेर पनि लम्बाउन सकिरहेका छैनौँ ।’ मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा पर्यटकका लागि आवश्यक पूर्वाधार निर्माण गर्न निजी क्षेत्रलाई पनि आह्वान गर्नुभयो । ‘‘मधेश प्रदेश सरकारले पर्यटनसँग सम्बन्धित सबै कुरा पूरा गरिदिन सक्ने अवस्थामा पनि छैन । त्यसैले प्रदेश सरकार, स्थानीय तह र निजी क्षेत्र सबै हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा अघि बढ्नुपर्ने आवश्यकता भइसकेको छ ।’
मुख्यमन्त्री सिंहले भन्नुभयो– ‘हाम्रा आवश्यकता र चाहना असिमित रहेका छन् । त्यसैले प्रदेशले मात्रै सबै खालको बजेट उपलब्ध गराउन नसक्ने भएकाले पनि सार्वजनिक निजी साझेदारी लगायतका मोडलमा पर्यटन क्षेत्रको विकास गर्न आवश्यक रहेको छ ।’
कार्यक्रममा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले २०८२ लाई ‘मधेश भिजिट वर्ष’का रुपमा अघि सार्ने योजना अघि बढाइरहेको बताउनुभयो ।
उहाँले २०८२ लाई ‘मधेश भिजिट वर्षका रुपमा अघि बढाउने गरी काम थालिएको जानकारी दिनुभयो । प्रदेश सरकारले यो वर्ष ‘घुमौँ मधेश, बुझौँ मधेश’को नारालाई अघि सार्दै आइरहेको छ ।
मन्त्री भट्टराईले मधेश प्रदेशमा रहेका आठ जिल्लाका ऐतिहासिक तथा धार्मिकस्थललाई चार वटा सर्किटमा बाँडेर विकास गर्नेतर्फ अग्रसर भइरहेको बताउनुभयो । ‘‘‘मधेश प्रदेश सरकारले आठ जिल्लालाई चार वटा सर्किटमा बाँडेर पर्यटन क्षेत्रको विकास गर्नेतर्फ लागिरहेका छौँं’ उहाँले भन्नुभयो – ‘एकै वर्षको बजेटमा चारवटै सर्किटको पर्यटन क्षेत्रको विकास गर्न सम्भव नहोला भनेर आगामी आवको बजेटमा जनकपुरसर्किटलाई केन्द्रमा राखेर बजेट विनियोजन गरेका छौँ ।’
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहमान अन्सारीले प्रदेश सरकारले धार्मिक मठमन्दिर तथा मस्जिदलाई टुक्रे बजेट विनियोजन गरेर मात्रै समग्र प्रदेशको पर्यटन विकास नहुने बताउनुभयो ।
अर्का प्रदेश सभासदस्य जनार्दन सिंह क्षेत्रले मधेश प्रदेशले धार्मिक पर्यटनलाई भन्दा पनि पर्सा राष्ट्रिय निकुञ्ज र कोशीटापु वन्यजन्तु आरक्षणलाई पर्यटकीय केन्द्रको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनको सौराहाले जसरी विदेशी पर्यटकलाई आकर्षित गरेर विदेशी डलर आर्जन गरिरहेका छन् । त्यसैगरी हामीले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका पूर्वाधार निर्माणमा जोेड दिन आवश्यक भइसकेको छ ।’
प्रदेश सभासदस्य श्याम पटेलले पर्सा जिल्लामा पर्याप्त मात्रामा पर्यटकीय सम्भावना भए पनि पर्यटकको बसाइ लम्बाउन सकिएको छैन भन्नुभयो । भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल र भारतबीच प्राचीनकालदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहेकाले पनि दुवै मुलुकमा पर्यटनको अथाह सम्भावना रहेको बताउनुभयो ।
ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीलाई पर्यटकीय गन्तव्य घोषणा गरेर पनि बजेट उपलब्ध नगराएको भन्दै दुःखेसो पोख्नुभयो । महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्रप्रसाद यादवले पाँच–पाँच वर्षमा महागढीमाई मन्दिरमा ठूलो मेला लाग्ने भए पनि सङ्घीय सरकारले मन्दिर आसपासको पूर्वाधार निर्माणमा ध्यान नदिएको आरोप लगाउनुभयो ।
‘आगामी मङ्सिर महिनामा पनि पाँच वर्षे मेला लाग्ने भएकाले पनि विदेशी पर्यटकलाई आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउन जरुरी देखिएको छ ’ उहाँले भन्नुभयो । मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले विदेशी पर्यटनलाई आकर्षित गराउनको यातायातको सहज पहुँच, खाना बासको उचित व्यवस्थापन, सुरक्षा र रिक्रियसन र रिफ्रेस लगायतका पूर्वाधार आवश्यक पर्ने बताउनुभयो ।
पर्यटन अभियन्ता ओमप्रकाश सर्राफले सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय तह र निजी क्षेत्र हातेमालो गरेर पर्यटन क्षेत्रको विकासमा लागूपर्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन