
काठमाडौँ । सांसदहरुले विनियोजन विधेयक, २०८१ माथिको छलफलका क्रममा उठेका विषय सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद भीमप्रसाद आचार्यले बजेटमाथि सांसदले राखेकोे चासोलाई सम्बोधन गर्न नसक्ने हो भने बजेटमाथिको छलफलको अर्थ नहुने बताउनुभयो ।
‘गत जेठ १५ गते बजेट प्रस्तुत भइरहेदेखि संसदमा लगातार छलफल भइरहेको छ, असन्तुलित बजेट परिमार्जन हुन्छ कि हुँदैन ?’ उहाँले प्रश्न गर्नुभयो– ‘बजेटमा छलफल बहस र तर्क गर्ने, तर ‘हुन्छ’, ‘हुँदैन’ भनेर पारित गर्ने हो भने छलफलको अर्थ हुँदैन ।’
सांसद मनबहादुर गुरुङले एक निर्वाचन क्षेत्र एक रणनीतिक योजनालगायत महत्वपूर्ण योजना बेवारिसे अवस्थामा रहेको उल्लेख गर्नुहुँदै पर्याप्त बजेटको व्यवस्था गर्न माग गर्नुभयो । सांसद महेशकुमार बर्तौलाले नेपालको संसदीय अभ्यासका अभिलेखलाई सर्वसाधारणले सहजै प्राप्त गर्ने अवस्था सिर्जना गर्न माग गर्नुभयो ।
सांसद मानवीर राईले वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका २७ नेपाली श्रमिकले उचित पारिश्रमिक नपाएको, रोजगारस्थलमा उचित बसोबासको व्यवस्था नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सांसद मीना यादवले दाइजो प्रथा हटाउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद मेनुकाकुमारी पोखरेलले किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन सरकारसँग माग गर्नुभयो । सांसद मैना कार्कीले मुलुकका विभिन्न स्थानमा भएको विपद्का घटनाबाट प्रभावितको उद्धार, राहत र पुनःस्थापनामा ध्यान दिन आग्रह गर्नुभयो ।
सांसद योगेशकुमार भट्टराईले ताप्लेजुङ जिल्ला अस्पतालको भवन जोखिममा रहेको, चिकित्सक तथा कर्मचारीको आवास बस्न नसक्ने अवस्था सिर्जना भएकाले आवश्यक वैकल्पिक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद रघुजी पन्तले सीमा क्षेत्रका नेपालीले भोग्दै आइरहेका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रणेन्द्र बरालीले सुनचाँदीको अवैध कारोबार रोक्न सरकारसँग माग गर्नुभयो । सांसद रमा कोइराला पौड्यालले संसदमा कार्यरत करारका कर्मचारीको सेवासुविधाबारे संसद् सचिवालयले गम्भीर हुनुपर्ने बताउनुभयो । सांसद रामकुमार राईले गाईघाट–दिक्तेल सडकखण्डको तत्काल ठेक्का लगाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रामनाथ अधिकारीले धादिङ जिल्लाको गौरवको आयोजना धादिङबेँसी–साङ्कोस–तिप्लिङ सडक आयोजनालाई रु एक करोड बजेट विनियोजित भएकामा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । सांसद रामहरि खतिवडाले राजस्व अनुसन्धान विभागको महानिर्देशकको नाम लिएर व्यापारीलाई तर्साउने काम रोक्न र बिचौलियाको खोजी गर्न माग गर्नुभयो ।
सांसद रामशङ्कर यादवले शून्य समयमा सांसदले राखेका विषयलाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद लीलादेवी बोखिम लिम्बूले ताप्लेजुङमा वर्षाका कारण सडक प्रभावित हुँदा दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएकाले सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो ।
सांसद बिजुला रायमाझीले एकल महिलालाई भत्ता मात्र नभइ आयआर्जनको उचित वातवरण बनाइनुपर्नेमा जोड दिनुभयो । सांसद मनिष झाले राजदूत पदलाई सस्तो नबनाउन सरकारलाई सुुझाव दिँदै राजदूत नियुक्तिमा असल अभ्यास अवलम्बन गरियोस् भन्नुभयो ।
सांसद रञ्जुकुमारी झाले महिलाले विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेको दृष्टान्त दिँदै नेपालको प्रशासनिक निकायको उच्च पदमा महिलाको नियुक्तिका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद राजेन्द्र बजगाइँले बूढीगण्डकी जलाशयुक्त परियोजना निर्माण प्रक्रियालाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो ।
सांसद रामप्रकाश चौधरीले सागरनाथ वन विकास परियोजनाका कर्मचारीले आठ महिनादेखि तलब भत्ता पाउन नसकेको जानकारी गराउँदै उक्त परियोजनालाई मधेस सरकार अन्तर्गत राख्न आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन