
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले मुलुकको आर्थिक समृद्धिलाई तीब्रता दिन राजनीतिक नेतृत्वलाई सुझाव दिनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस)द्वारा गणतन्त्र दिवस–२०८१ का अवसरमा आयोजित ‘गणतन्त्रका उपलब्धि : समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज अवलोकनपछि उहाँले जनआकाङ्क्षाअनुरुप मुलुकको चौतर्फी विकास र आर्थिक समृद्धिका लागि तीव्र गतिको बोध नेतृत्वले गर्नुपर्ने बताउनुभयो ।
‘मान्छेका आकाङ्क्षा धेरै हुन्छन् । चाहनाअनुरुप केही भइरहेको छ । तर हाम्रो गति चाहिँ तीव्र हुनुपर्छ । किनकी हामी विश्वका अन्य विकसित देशभन्दा करिब डेढ सय वर्षपछि छौँ । त्यसलाई भेटाउन चाँडो दौडिनुपर्छ । राजनीतिले यसको नेतृत्व गर्ने भएकाले राजनीतिक नेतृत्वले यसको बोध गरोस् भन्ने सबैको चाहना हो’ उहाँले भन्नुभयो ।
डा भट्टराईले गणतन्त्रबाट प्राप्त उपलब्धिबारे चर्चा गर्नुभयो । आर्थिक परिवर्तनका लागि पूर्वाधार निर्माण भइरहेको उल्लेख गर्दै उहाँले यस व्यवस्थामा केही हुँदै नभएको भन्ने गलत भाष्यलाई चिर्नुपर्ने बताउनुभयो ।
‘हामीले राजनीतिक परिवर्तनपछि अब आर्थिक परिवर्तनको युग शुरु भयो भनेका छौँ । त्यसका लागि आधार भनेकै पूर्वाधार हो । केही भइरहेका छन्, केही भइसकेका छन्’ उहाँले भन्नुभयो– ‘नेपालमा केही भएको छैन, केही हुँदै भएन भन्ने गलत भाष्य चिर्न यो तस्बिर प्रदर्शनीले सकारात्मक योगदान गर्ने अपेक्षा छ ।’
डा भट्टराईसँगै पूर्वमन्त्री एवं नेत्री हिसिला यमीले पनि उक्त तस्बिर प्रदर्शनी अवलोकन गर्नुभयो । यमीले भौतिक पूर्वाधारको निर्माणलाई स्थानीयको सहभागितासँग जोेडेर उनीहरुको अपनत्व ग्रहण गराउनसक्नुपर्ने सुझाव दिनुभयो । पूर्वाधार निर्माण आर्थिक व्यवहारसँग जोड्न सक्नुपर्ने र त्यसका लागि राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने उहाँको भनाइ छ ।
‘विकास मात्र गरेर पुग्दैन यसलाई अपनत्वसहित तल्लो तहसम्म व्यक्तिको जनजीवन र सीपसँग जोडनुपर्छ । निर्यातसँग पनि जोडनुपर्छ । सबै प्याकेजमा हुनुपर्छ’ यमीले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री भट्टराई र पूर्वमन्त्री यमीलाई राससका कार्यकारी अध्यक्ष धमेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले प्रदर्शनीमा राखिएका तस्बिरबारे अवगत गराउनुभएको थियो । गत जेठ १० गतेदेखि शुरु भएको प्रदर्शनी असार १० गतेसम्म सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै