+

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो : पुटिन

काठमाडौँ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी दिनुभएको छ ।

जी ७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन् ।  सन् २०२२ मा मस्कोले युक्रेनमा सेना पठाएको केही दिनपछि जी ७ र युरोपेली सङ्घ (इयु) ले रुसी केन्द्रीय बैंकको करिब तीन खर्ब यूरो (तीन खर्ब २५ अर्ब डलर) फ्रिज गरेका छन् । 

पुटिनले शुक्रबार पश्चिमी मुलुकले ‘कुनै प्रकारको कानूनी आधार’ ल्याउन खोजिरहेको भन्दै ‘सबै छलका बाबजुद चोरी अझै पनि चोरी नै हो र यसलाई दण्डित नगरिरहन सकिँदैन’ भन्नुभयो । 

उहाँले मस्को र पश्चिमबीचको गतिरोध ‘अस्वीकार्य रूपमा फिर्ता नहुने विन्दुको नजिक पुगेको’ चेतावनी दिँदै मस्कोसँग ‘आणविक हतियारको सबैभन्दा ठूलो शस्त्रागार रहेको’ दाबी गर्नुभयो । पुटिनले युक्रेनसँगको द्वन्द्वमा बारम्बार आणविक बयानबाजीको प्रयोग गर्नुभएको छ । यसलाई उहाँले रुस र नाटो सैन्य गठबन्धनबीच व्यापक ‘हाइब्रिड युद्ध’ मा मात्र एउटा मोर्चाका रूपमा प्रस्तुत गर्नुभएको छ । 

राष्ट्रपति पुटिनले यसै साताको अन्त्यमा स्विट्जरल्यान्डमा हुने युक्रेन शान्ति मञ्चको आलोचना गर्दै यसलाई ‘सबैलाई विचलित गर्ने चाल’ भन्नुभयो । 

मस्कोलाई त्यो सम्मेलनमा आमन्त्रण गरिएको छैन । सम्मेलनमा करिब ९० मुलुकका राष्ट्राध्यक्ष र अन्तर्राष्ट्रिय सङ्गठनका वरिष्ठ अधिकारीहरूले सहभागिता जनाउनेछन् । 

युक्रेनले सेना फिर्ता गर्नुपर्छ र शान्तिवार्ताका लागि नाटोको प्रयास अन्त्य हुनुपर्छ । यसैबीच पुटिनले शुक्रबार युक्रेनले उसका चार वटा क्षेत्र र नाटो सदस्यताको प्रस्ताव त्यागेमा मस्कोले युद्ध बन्द गर्ने र शान्ति वार्ता शुरु गर्ने बताउनुभएको छ । 

स्वीट्जरल्यान्डमा युक्रेन र उसका सहयोगीहरूद्वारा आयोजित प्रमुख शान्ति शिखर सम्मेलनको पूर्व सन्ध्यामा उहाँले सन् २०२२ फेब्रुअरीमा शुरु गरिएको पूर्णस्तरको सैन्य आक्रमण रोक्नका लागि आफ्ना ‘शर्त’ को रूपरेखा प्रस्तुत गर्दै हुनुहुन्थ्यो । 

मस्कोमा रुसी राजनीतिज्ञलाई टेलिभिजनमा सम्बोधन गर्दै उहाँले भन्नुभयो– ‘डोनेट्स्क जन गणतन्त्र, लुगान्स्क जन गणतन्त्र, खेरसान र जापोरिजिया क्षेत्रबाट युक्रेनी सैनिक पूर्ण रूपमा फिर्ता हुनुपर्छ ।’

रुसले सन् २०२२ मा चारै क्षेत्रमा कब्जा गरेको दावी गरेको छ यद्यपि तीमध्ये कुनै पनि क्षेत्रमा उसको पूर्ण नियन्त्रण थिएन । ‘यस्तो गर्न तयार रहेको किएभले भन्छ र वास्तवमै सैनिकलाई फिर्ता शुरु गर्न थाल्छ तथा आधिकारिकरूपमा नाटोमा संलग्न हुने योजना त्याग्छ भने हामी तुरुन्त युद्धविराम गर्नेछौँ र वार्ता शुरु गर्नेछौँ’ उहाँले भन्नुभयो । 

उहाँले ‘रुसको क्रिमियासँग बलियो भूमि सम्बन्ध रहेको शर्तमा’ खेरसान र जापोरिजिया क्षेत्रमा ‘युक्रेनी सार्वभौमसत्ता कायम राख्न अस्वीकार नगर्ने’ बताउनुभएको थियो । रुसको आक्रमणको प्रमुख लक्ष्य युक्रेनको दक्षिणी तटसँग रुस र क्रिमिया प्रायद्वीपबीच ‘भूमि पुल’ बनाउने हुनसक्ने सैन्य विश्लेषकले लामो समयदेखि भन्दै आएका छन् । 

यद्यपि पुटिन र शीर्ष रुसी अधिकारीहरूले सामान्यतया किएभको ‘नव–नाजी’ शासनबाट युक्रेनको पूर्वमा जातीय रुसी र रुसी भाषीलाई जोगाउन भन्दै आफ्नो आक्रमणलाई जायज ठहर गर्ने प्रयास गरिरहेका छन् ।  

युक्रेन र पश्चिमले ती आरोपलाई आधारहीन भन्दै अस्वीकार गरेका छन् र रुसको सैन्य कारवाहीलाई साम्राज्यवादी शैलीको आक्रामकताका रूपमा वर्णन गरेका छन् । 

रुसले सन् २०१४ मा एकपक्षीय रूपमा क्रिमिया प्रायद्वीपमाथि कब्जा गरेको छ । यसबाट अन्तर्राष्ट्रिय आक्रोश बढ्यो र मुलुकको पूर्वमा रुसी समर्थित पृथकतावादी तथा किएभका सेनाबीच सशस्त्र द्वन्द्व शुरु गर्यो । 

युक्रेनले रुस क्रिमियासहित आफ्ना अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त क्षेत्रबाट सम्पूर्ण रूपमा फिर्ता भएमा मात्र शान्ति कायम हुने बताएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट